पूर्व क्लब चेल्सीसँग जोसेको वर्तमान टिम टोटनह्याम पराजित

१० खेलाडीमा सीमित भएको जोसे मोरिन्होको टिम टोटनह्याम घरेलु मैदानमै पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जोसेको टिम टोटनह्याम उनकै पूर्व टिम चेल्सीसँग २–० ले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल खाएको टोटनह्याम दोस्रो हाफमा १० खेलाडीमा सीमित भयो । जोसेले प्रिमियर लिगको उपाधि दिलाएको टिम चेल्सीले उनको वर्तमान टिम टोटनह्यामलाई स्तब्ध पार्ने क्रममा दुवै गोल विलियनले गरेका हुन् । उनले १२ औँ मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा विलियनले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीको अग्रता दोब्बर बन्यो । गोल फर्काउने प्रयासमा रहेको टोटनह्याम दोस्रो हाफमा १० खेलाडीमा सीमित भयो, जब सन हेङ–मिन ६२ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

चेल्सीका एन्टोनियो रुडिगरसँगको ट्याकलका लागि सनले रातो कार्ड पाएका हुन् । लगत्तै आफूमाथि टोटनह्यामका समर्थकले रंगभेदी व्यवहार गरेको रुडिगरले बताएका छन् । जितपछि चेल्सी १८ खेलबाट ३२ अंकसहित चौथो स्थानमा कायम छ ।

कुनै समय आफ्नो प्रशिक्षणमा खेलेका फ्र्यांक लाम्पार्डको प्रशिक्षणको टिमसँग पराजित भएको जोसेको टोटनह्याम भने २६ अंकसहित सातौँ स्थानमा छ ।

पुस ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्