ट्रम्पमाथि महाअभियोग

युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले गरेको टेलिफोनको डेढ घण्टा लगत्तै रोकिएको थियो सैन्य सहयोग

अमेरिकाले युक्रेनलाई दिँदै आएकोसहयोग राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपतिसँग गरेको टेलिफोन संवादको ९१ मिनेटपछि नै रोक्न आदेश दिइएको खुलेको छ ।

पछिल्लो पटक सार्वजनिक भएको सरकारी इमेल अनुसार ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेको डेढ घण्टापछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग बन्द गर्न आदेश दिएको हो ।

जुलाई २५ मा भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग आग्रह गरेका थिए । डेमोक्र्याटिक नेता बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा राष्ट्रपति बन्ने होडमा सबैभन्दा अघि छन् ।

डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पको सो टेलिफोन संवाद र त्यसपछिको गतिविधिले उनले राष्ट्रपति जस्तो गरिमामय पदलाई आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका प्रयोग गरेको आरोप लगाएका छन् ।

सोही अभियोगमा ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग समेत लागेको छ । नेपाली समय अनुसार गएको बिहीबार बिहान अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग र सदनको कार्य सम्पादनमा अवरोध गरेको भन्दै महाअभियोग लगाएको हो । सो महाअभियोग अब माथिल्लो सदन सिनेटमा गएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

हाल सर्वाजनिक गरिएको सरकारी इमेल सेन्टर फर पब्लिक इनटिग्रिटीले प्राप्त गरेको हो । सूचनाको हक अन्तर्गत अदालतले ती इमेल प्रदान गर्न दिएको आदेश अनुरुप सेन्टरले इमेलहरु प्राप्त गरेको हो।

सार्वजनिक भएको इमेल अनुसार ह्वाइट हाउसका उच्च अधिकारी माइक डफीले रक्षा मन्त्रालयका उच्च अधिकारीलाई युक्रेनलाई दिइँदै आएको सहयोगका सम्बन्धमा सम्पर्क गरेको देखिएको छ । ट्रम्पले जेलेन्स्कीलाई टेलिफोन गरेको डेढ घण्टा लगत्तै माइक डफीले रक्षा मन्त्रालयका उच्च अधिकारीलाई सम्पर्क गरेर सहयोग रोक्न आदेश दिएको इमेलमा देखिएको छ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

पुस ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्