प्रशासनको लापरबाहीले जानकी आँखा अस्पतालको लोकप्रियतामा आँच

जनकपुरधाम-जाडोको मौसम आए लगत्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा आँखाका रोगीहरुको चाप ह्वात्तै बढ्ने गर्थ्यो।त्यहाँ आँखाको शल्यक्रिया लगायतको उपचार गराउनका लागि आँखाका रोगीहरु पुग्‍ने गर्थे।

आँखाका रोगीहरुका लागि जनकपुरधामको जानकी आँखा अस्पताल प्रमुख गन्तव्यस्थल हुने गर्थ्यो।तर पछिल्लो केही वर्षयता अस्पताल आँखा अस्पतालको लोकप्रियतामा क्रमश: कमी आउँदै गएको छ।

अस्पतालका यन्त्र, भौतिक संरचनादेखि व्यवस्थापकीय दृष्टिकोणले धारासायी हुँदै गइरहेको बेला अस्पताल परिसर बाहिर चश्मा तथा औषधिका व्यवसायीहरु जानकी आँखा अस्पताल सुधार संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन्।

संघर्ष समितिले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा दक्ष मेडिकल डाइरेक्टर नभएकै कारण अस्पताल दिन प्रतिदिन धारासायी हुँदै गएको आरोप लगाएको छ।

समितिका अध्यक्ष श्यामसुन्दर झाले जानकी आखाँ अस्पतालको मेडिकल डाइरेक्टर एमडी हुनुपर्ने प्रावधान रहेपनि डिप्लोमा डिग्री मात्रै योग्यता रहेको हेमशंकर झा आफ्नो सोर्सको आधारमा कयौं वर्षदेखि मेडिकल डाइरेक्टर पोस्टमा रहँदै आएको आरोप लगाए।

उनले अस्पतालमा तीनजना एमडी चारजना चिकित्सकहरु रहे पनि उनीहरुलाई लत्याएर व्यवस्थापन समितिलाई समेत आफ्नो मातहतमा राखी हेमशंकर झा मेडिकल डाइरेक्टर पोस्टमा बस्दै आएको आरोप लगाएका छन्।

संघर्ष समितिका उपाध्यक्ष मनोज कुमार शर्माले भने, ‘मेडिकल डाइरेक्टर झा अवकाश प्राप्त गरिसकेका छन्। तर पनि पुन: ५ वर्षदेखि पटक पटक समय थप गराउँदै पद ओगटिरहेका छन्। यो कुन तरिका हो ?’

झाको म्‍याद गत डिसेम्बर १९मा समाप्त भइसकेको छ यद्यपि डाइरेक्टर झा व्यवस्थापन समितिको मिलिभगतमा फेरि डाइरेक्टर बन्ने पैरवीमा लागेको आरोप लगाए।

अस्पतालको अवस्था धारासायी हुँदै जान थालेपछि अस्पताल सुधारका लागि विभिन्न मागहरु राखी संघर्ष समितिले अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाउन पुगेका थिए।

यद्यपि आफ्नो कन्ट्रयाक्ट डिसेम्बर १९ मै समाप्त भईसकेकोले आफूले ज्ञापन बुझ्न नसक्ने भन्दै मेडिकल डाइरेक्टर झाले ज्ञापन पत्र बुझ्न अस्वीकार गरेका थिए।

मेडिकल डाइरेक्टर झाले आफूमाथि संघर्ष समितिले लगाएको सम्पूर्ण आरोपहरु निराधार रहेको स्पष्ट पारे। उनले आफू मेडिकल डाइरेक्टर बन्नका लागि पैरवी नगरेको बरु व्यवस्थापन समितिले नै पटक पटक आफूलाई अग्रह गरेको र आफू कन्ट्रयाक्टको आधारमा अस्पताललाई सेवा प्रदान गर्दै आएको प्रतिक्रिया दिए।

अस्पतालभित्रै बिरामी ठगिदै


नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित जनकपुरधामको जानकी आँखा अस्पतालमा उपलब्ध सहज एवं सरल फेको शल्यक्रियाका लागि आँखाका रोगीहरु त्यहाँ पुग्ने गर्छन्।तर देश विदेशमा नाम कमाएको जानकी आँखा अस्पतालभित्रको आन्तरिक किचलोका कारण अस्पतालको नै बदनामी भईरहेकोमा संघर्ष समितिका अध्यक्ष झाले चिन्ता व्यक्त गरे।

अस्पतालमा बिरामी आउनेहरुको चाप पछिल्लो वर्षको तुलनमा घट्दै गईरहेको उनले दावी गरे । बिरामीहरु अस्पताल भित्रै ठगिदै आएकोले बिरामीहरुको चाप घट्दै गईरहेको स्पष्ट गरे।

तर अस्पताल प्रशासनले बिरामी जाँच गराउनका लागि आउनेहरुको क्रम नघटेको दावी गर्छ। जानकी आँखा अस्पतालका कायम मुकायम प्रशासकीय अधिकृत दीपेन्द्र कुमार सिंहले अस्पतालमा दैनिक ५ सय देखि ६ सयसम्म बिरामीहरुले सेवा लिदै आएको जानकारी दिए।

उनका अनुसार अस्पतालमा दैनिक ४ सय देखि ५ सयसम्म बिरामीले ओपिडी सेवा लिदै आएका छन् भने ४० देखि ५० जनासम्म बिरामी सर्जरी सेवा लिदै आएका छन्।

सिंहले बिरामीहरुबाट अस्पतालले दैनिक ३ लाखसम्मको आम्दानी गर्दै आएको जानकारी गराए। जानकी आँखा अस्पतालमा ८० प्रतिशत नेपाली बिरामीहरु जाँच गराउँछन् त्यसका साथै २० प्रतिशत भारतीय बिरामीहरु जाँच गराउँदै आईरहेका छन्।

यता संघर्ष समितिका उपाध्यक्ष शर्माले बिरामीहरुलाई विशेष प्याकेजको नाउँमा अस्पताल प्रशासनले ठग्दै आईरहेको आरोप लगाए। उनले अस्पताल प्रशासनले जाँच गर्ने बिरामीहरुलाई फलानो औषधि पसलमै औषधि वा चश्मा किन्नका लागि दवाब दिदै आएको र सेवाग्राहीहरु चर्को मूलय तिर्न बाध्य भएको बताए।

शर्माले भने‘अस्पतालले प्रिस्क्रिप्सनमा जे औषधि लेखिएको हुन्छ त्यसको साटोमा कमसल औषधी दिने गरेका छन्।’ यता, मेडिकल डाइरेक्टर झाले सरकारले अस्पताल हाता भित्रै फार्मेसी खोल्नुपर्ने निति अनुरुप खोलिएको र बिरामीहरुलाई पहिलेभन्दा झनै सहज भएको दावी गरे।

सन १९८२मा स्थापना भएको यस अस्पतालमा अहिले सम्ममा २१ लाख ७४ हजार ६ सय ५ बिरामीले सेवा लिई सकेका छन्। जसमध्ये २० लाख ३ हजार १ सय ६८ जनाले ओपिडी र १ लाख ७१ हजार ४ सय ३७ जनाले शल्यकृया गराएका हुन्।

सन् २०१७मा १ लाख १३ हजार ३ सय २३ जना, सन २०१८मा १ लाख २२ हजार ३ सय ९७ र सन २०१९मा १ लाख १४ हजार ४ सय ८० जनाले सेवा लिएका छन्।

जनाकपुरधामको आँखा अस्पतालमा उपचार गराउनेहरुमा भारतीयहरुको संख्या समेत बाक्लो हुन्थ्यो । तर पछिल्लो समय यता सो संख्यामा कमी आउँदै गईरहेको छ।

ननप्रैक्टिस भत्ता समेत खाने जानकी आँखा अस्पतालकै चिकित्सकहरु सीमा पारी भारतीय भूमिमा क्लिनिक संचालनमा ल्याएपछि भारतीय बिरामीहरु यहाँ आउन छोडेको संघर्ष समितिले दावी गरेको छ।

संघर्ष समितिका अध्यक्ष श्यामसुन्दर झाका अनुसार अस्पतालमै अब्थालमिक एसिसटेण्ट रहेका चिकित्सक रहेका चिकित्सकहरु प्रदीप यादव ईनर्वामा, ज्ञानेन्द्र विमल मटिहानी सीमामा, अरुण सिंह गौशाला, रुदल प्रसाद साह सम्सी र बृजकिशोर राउत भिठामोड नाकामा अस्पतालकै नाउँमा निजी क्लिनक संचालन गर्दै आई रहेका छन्। उनीहरुले आफ्नो निजि क्लिनीकमा समेत आँखा अस्पतालकै लेटर पैडको प्रयोग गर्दै आई रहेको आरोप लगाए।

यता मेडिकल डाइरेक्टर झाले यो आरोपलाई स्वीकार गर्दै यस विषयमा चाँडै नै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

पुस ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्