पहिलो खेलमा बराबरीमा रोकिएर आलोचित थ्रीस्टारले पुलिसलाई हरायो

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा थ्रीस्टारले बलियो टोली नेपाल पुलिस क्लबलाई हराएको छ। दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारका सुशिल राईल‍े गोल गरे।

खेल बराबरीतर्फ धकेलिरहेका बेला सुशीलले ८४ औँ मिनेटमा गरेको गोलमा थ्रीस्टारले बलियो टोलीलाई मात्र हराएन, प्रतियोगितामा पहिलो जित पनि हात पार्‍यो। २ खेलबाट ४ अंक भएको थ्रीस्टार तालिकाको पाँचौँ स्थानमा छ। शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दीको दुई खेलबाट ६ अंक छ।

थ्रीस्टारसहित मच्छिन्द्र, च्यासल र जावलाखेलको दुई खेलबाट समान ४ अंक रहेको छ। थ्रीस्टारले पहिलो खेलमा जावलाखेलसँग गोलरहित बराबरी खेलेको थियो। पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको पुलिसको दुई खेलबाट एक अंक छ।

यसअघि सोमबार भएको अर्को खेलमा मनाङले नेपाल आर्मीविरुद्ध इन्जुरी समयमा निर्णायक गोल गर्दै शीर्षस्थानमा उक्लिएको हो। इन्जुरी समयको तेस्रो मिनेटमा मनाङले गोल गरेको थियो।

पुस ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्