एउटा ड्राइभरको अधैर्यताले चुँडियो सृष्टि पन्तको जीवन

सोमबार,

साढे तीन बजे आसपास महाराजगञ्ज प्रहरी वृत्तको गेटमै प्रहरी पोशाक लगाएका एक व्यक्ति उभिइरहेका थिए। गेटबाट छिर्ने हरेकलाई ‘के कामको लागि आउनुभएको ?’ भन्दै सोध्दै थिए।

४ बजेतिर अधबैँसे पुरुष अर्को युवासँग गेटभित्र छिरे। उनको अनुहारमा अन्यौलसहित आक्रोश मिसिएको थियो। वृत्तको दोस्रो तलाको मुद्दा शाखामा सुरु सुरु पुगेका उनले फाँटका प्रहरीलाई सोधे, ‘यहाँ दुई जना जाहेरी दिन आउनुभएको छ ?’

प्रहरी – ‘तपाई को ?’

एकैछिन टक्क अडिएर उनले उत्तर फर्काए, ‘बिहान सुकेधारामा भएको दुर्घटनामा मृत्यु भएकी श्रृष्टिको माइतीतर्फबाट हौँ, घरपट्टीका कोही आउँदै हुनुहुन्थ्यो, आइपुग्नु भयो कि भनेर।’

प्रहरीले ‘छैन’ भनेपछि उनले फेरि प्रश्न गरे, ‘जाहेरी दिन के के गर्नुपर्छ ?’

उनी सोमबार सुकेधारमा भएको दुर्घटनामा ज्यान गुमाएकी सृष्टि पन्तको ठूलोबुवा सरोज पन्त थिए।

बिहान पौने ६ बजे सुकेधारामा यात्रुबाहक बसले पशुपति क्याम्पसकी विद्यार्थी सृष्टि पन्तलाई हान्यो। गाडीले ठक्कर दिएर बाटोमा लडेकी सृष्टिलाई नजिकैको ‘ओम अस्पताल’ लगियो। चिकित्सकले सृष्टिलाई बिहान ९ बजेर १३ मिनेट जाँदा मृत घोषणा गरेका थिए।  गोरखा मिरकोट घर भएकी पन्त अहिले धुमबाराहीमा बस्दै आएकी थिइन्। २१ वर्षे सृष्टिलाई काठमाडौँ– भक्तपुर चल्ने बा ४ ख ५९२० नम्बरको बसले बाटोमा नै हानेको थियो।

अनुसन्धान अधिकृत कक्षका प्रहरीले देशसञ्चारसँग भने, ‘दुर्घटना बाटो काट्दै गर्दा भएको जानकारी आएको छ। बसले ओभरटेक गर्न खोज्दा मृतकलाई हानेको हो। सुकेधाराको रातो भाले अगाडि दुर्घटना भएको हो। दुर्घटना जेब्राक्रमा भएको हो अथवा होइन कन्फर्म गर्न बाँकी छ।’

तर सृष्टिको नातामा देवर पर्ने अनुप भण्डारीका अनुसार उनी बस कुरिरहेकी थिइन्। प्रतिक्षालयमा बसिराखेको बेलामा गाडी हुँइकिएर आयो, अनि हान्यो । उनी भन्छन्, ‘भाउजुको कोखमा नराम्ररी चोट लागेको छ, उहाँको अनुहार पनि धेरै नै निलो भएको थियो। सायद लड्दा टाउकोमा चोट लागेको होला ।’

४ बजेतिर,

सरोज आफ्ना ज्वाईसँग प्रहरी चौकी आएका थिए, उनीहरु चौकी अगाडिको रिपोर्ट लेखाउने हरेक पसल पसल चाहरेर सृष्टिका घरतर्फका मानिसलाई खोज्न थाले। एकै छिनमा चौकीको गेट अगाडि दुई पुरुष देखिए।

उनीहरु सृष्टिका श्रीमान् राम भगत बानियाँका आफन्त थिए। ‘मेरो फुपूको बुहारी हुन्। जाहेरी म दिन्छु। कहाँ लेखाउने हो।’ सँगै आएका थिए अनुप भण्डारी।

उनीहरुलाई वृत्तकी प्रहरी निरीक्षक अनिता महतले दोस्रो तलाको कक्षमा लगिन्। दुवैतर्फका आफन्त आक्रोशित थिए, ‘यति बेलासम्म बसको सञ्चालक समितिबाट कोही पनि मान्छे आएका छैनन्।’

प्रहरी निरीक्षक महतसँग आँखा जुधाउँदै सृष्टिका ठूलोवुबा भन्दै थिए, ‘यति बेलासम्म सम्पर्कमा नआएसी भोलि मैले ठाउँ पत्ता लगाई के के गर्नुपर्छ जानेको छु। मैले अहिले नै भन्दिएको छु, हेर्नुस्।’ सृष्टिका जेठाजु भन्दै थिए, ‘गोरखाका मान्छे काठमाडौँ आइसके, भक्तपुरका मान्छे आइपुग्दैनन् ? मैले पनि मान्छेलाई फोन गरेको छु।’ उनीहरुलाई फिल्डमा खटिएका प्रहरीको व्यवहार पनि मन परेको रहेनछ।

महत उनीहरुलाई सम्झाउँदै थिइन्, ‘तपाईको कुरा हामी बुझ्छौँ, जोसँग तपाईलाई चित्त बुझेको छैन, उनीहरुले नबुझेका होलान्। गाडी साहूलाई मैले कुरा गरिरहेको छु।’ उनी बारम्बार फोन लगाउँथिन, उता फोन उठेको थिएन। यता अर्का प्रहरी बस व्यवसायी समिति व्यक्तिलाई फोन गर्दै ‘तपाईले दिएको फोन उठेन’ भन्दै थिए।

धेरैबेर पछि बल्ल महतको फोन व्यावसायीले उठाए। र, उनीहरु आउँदै गरेको जानकारी पाइन्। त्यसपछि कार्यfलय सहयोगीको साथ लागेर उनीहरु जाहेरीको विवरण बनाउन गए। रिसेप्सनबाट मुचुल्काको विवरण लिएर वृत्तको छेवैको स्टेशनरीमा जाहेरी विवरण लेखाउन गए।

थोरै अतालिएको अनि धेरै पिडाको भावमा उनीहरु घटनाको विवरण बताउन थाले, एक एक गरी ठेगाना अनि नाम बताउन थाले। जाहेरीमा लेखियो, ‘तीब्र गतिमा आएको गाडीले प्रतीक्षालयमा बस कुरिरहेकी सृष्टिलाई ठक्कर दियो अनि अस्पताल नलगी त्यसै छोडेर गयो।’

गाडीको गैरजिम्मेवारीपनको नतिजा देखाउँदै जाहेरी टिप्दै गर्दा उनीहरुलाई यसपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहेको थियो। जाहरीमा दस्तखत गरिसकेपछि उनीहरुले जाहेरी लेखेबापत १ हजार रुपैयाँ फी तिरे।

त्यतिनै बेला फोनमा जानकारी आयो, सृष्टिकी आमा जुना गोरखा र बुबा अमृत पोखराबाट अस्पताल आइपुगे। जाहेरीलाई दर्ता गर्न हतार देखिएका उनीहरुलाई अब अस्पतालको अवस्थाले पिरोल्यो।

सरोजले भने, ‘कस्तो लापरवाही गरेको होला, यसको भरपाई के हुन्छ ?’ उनलाई सोधियो, ‘तपाईहरु के चाहनुहुन्छ ?’

छोटो उत्तर ‘खै ?’

५ बजे ओम अस्पताल,

शव बाहनको पछाडिको ढोका खुलेको थियो। एकतर्फ हरियो कपडामा बेरिएकी सृष्टि लडिरहेकी थिइन्। पालैपालो त्यही ढोकाबाट दुई पुरुष भित्र छिरे। ड्राइभरको सिटमा सँगै बसेका एक पुरुष गाडी अगाडिको बाटो खाली गर्नुस् भन्दै थिए।

बिहान अस्पतालमा अन्तिम स्वास फेरेकी सृष्टिको शव पोस्ट मार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिँदै थियो। शव बाहनभन्दा अगाडि भावविव्हल जुना ट्याक्सीमा चढेर छोरी बसेको डेरातिर लागिन्।

अस्पताकै प्राङ्गणमा सृष्टिकी सासू ओड्नेले मुख छोपेर रुँदै थिइन्। डेढ वर्ष अगाडि मात्र भित्राएकी कान्छी बुहारी यसरी बिदा हुँदा आँसु नआउने कुरा नै भएन। छोरा बुहारीको फेसबुकबाट चिनजान भएको थियो। परिवारको सहमतिमा धुमधामसँग भित्राएको बुहारी छोरालाई एक्लै छोडेर गएकी थिइन्। सँगै भएका महिलाहरु सृष्टिका श्रीमान् ४ घण्टामा नेपाल आइपुग्ने जानकारी दिँदै थिए। उनी रोजगारीको लागि कोरिया गएको एक वर्ष पनि भएको छैन।

पछिल्लो समय पैदल यात्रुको लागि सडक असुरक्षित भएको कुरा सृष्टिको मृत्युले प्रमाणित गरेको छ। केही दिन अगाडिमात्र बुढानिलकण्ठ नगरपालिका–५ मा गोरखाकै लीला देवकोटाको पैदल हिँड्दै गर्दा मृत्यु भएको थियो।

नेकपाकी सांसद बिमला राई पौडेलले सोमबार संसदमा सवारी दुर्घटनाको अवस्था भयानक भएको बताइन्। उनले सवारी सञ्जाल बढ्दै गइरहेको अवस्थामा दुर्घटना बढ्नु सामान्य भएको तर दुर्घटना निराकरणतर्फ ध्यान नदिइएको बताइन्। उनले निर्माण भएका सडक पूर्वाधार राम्रो नभएको टिप्पणी गरिन्। ‘सडक सुरक्षाको जिम्मेवारी प्रदेश मात्र हैन, संघिय सरकार हो,’ उनले भनिन्, ‘सडकको गुणस्तर मापन, सवारी साधनको गुणस्तर मापन अनि चालकलाई तालिम दिने व्यवस्था गर्नुपर्छ।’ यसको लागि संस्थागत रुपमा अगाडि बढ्नुपर्ने उनले बताइन्।

बेला बखतमा संसदमा यस्तो दुर्घटनाको विषयमा कुरा उठेपनि कुनै संयन्त्र बनिसकेको छैन।

साँझ धुम्बाराही,

फोनमा सृष्टिका ठूल्बुवा भन्दै थिए, ‘अहिले कुरा गर्न मिल्दैन, म भाई बुहारीलाई सम्झाउँदै छु।’ बस व्यवसायीको बारेमा कुरा सोध्दा उनले भने, ‘भोलि ८ बजे प्रहरी बृत्तमा नै छलफल गर्ने कुराकानी भएको छ।’

जाहेरीमा लेखिएको छ, ‘तिब्र गतिमा आएको गाडीले ठक्कर दिई घाइतेलाई अस्पताल लैजानुको साटो अलपत्र छोडेर भागेर गैर जिम्मेवारी कार्य गरेकोले कानुन अनुसारको सजाय, कानुनले तोकेबमोजिम क्षतिपूर्ति रकम अनि किरिया खर्च तथा औषधि उपचार खर्च पनि दिनुपर्छ।’
….

सृष्टिका श्रीमान् मंगलबार नेपाल आइपुग्दैछन्। डेढ वर्ष अगाडिमात्र यो जोडी विवाह बन्धनमा बाँधिएको थियो। सृष्टिको असामयिक मृत्युले उनीहरुले सँगै साँचेका सपना चुडिएको छ। रामले सायद आफ्नो श्रीमतीलाई धेरै पढाउने सपना देखेका थिए, कतारको गर्मी छलेर बल्ल सृष्टिसँग सुन्दर सपना साँचेका थिए।

सृष्टिले उनलाई ढाडस पनि दिएकी थिइन्, सायद त्यसैले होला एकै पल्टमा कोरियाली भाषा परीक्षा रामले कटाए र सुन्दर भविष्यको सपना देख्दै ४ महिना अगाडि कोरिया उठे।

उनको सपना पनि आज उजाडिएको छ, गाडी ओभरटेक गर्ने सुरमा ड्राइभरले थोरै धैर्य नगर्दा सृष्टिले बिना कसूर संसार छोड्नु पर्‍यो। गाडि चालक अहिले हिरासतमा छन्, मान्छे मारेपछि हिरासतमा परेका उनले सोच्दै होलान् त ? ‘मैले हतार नगरेको भए यस्तो हुन्थेन।’

पुस ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्