हजारौँ स्वर्ण मुद्राहरुले पनि किन्न सकिँदैन एक श्वास

‘दुनियाँमा बस्न सबैभन्दा राम्रा दुई ठाउँ हुन्छन्

या त कसैको दिलमा, या त कसैको प्रार्थनामा’

कुनै पनि मानिसले कुनै विषयलाई कसरी हेर्छ भन्ने कुरा उसको मानसिकताले तय गर्छ।

कसैलाई अर्काको थालबाट खोसेर खाँदा सान महसुस हुन्छ भने कसैलाई आफ्नो थालीबाट अर्कालाई एक गाँस खुवाउँदा आनन्द महसुस हुन्छ।

सारा खेल संस्कार, समझ र मानसिकताको हो। यद्यपि यो त निश्चित छ- खोसेर खानेको पेट कहिल्यै भरिँदैन। बाँडेर खानेहरु कहिल्यै भोकै रहँदैनन्।

एउटा सुन्दर हृदय हजारौँ सुन्दर अनुहारभन्दा राम्रो हुन्छ, त्यसैले जिन्दगीमा सधैँ यस्ता मानिसहरुलाई छान जसको दिल अनुहारभन्दा बढी सुन्दर होस्।

ईश्वर परम दयालु छन्। उनको दया र प्रेम सृष्टिको हरेक कणमा हुन्छ। हामी किन यसलाई नबुझौँ र उनको दयाको सानो अंश एकापसका बीच नबाँडू?

अनि हेर्नुहोस् त, तपाईँको भय, चिन्ता, दुख र चिन्ताहरु कसरी शेष भएर जानेछन्?

साँच्चै भन्नुहुन्छ भने घरको शान्ति होस् वा मनको शान्ति, सामाजिक शान्ति होस् वा अन्तर्राष्ट्रिय शान्ति, पवित्र सोच र राम्रो आचरणले नै प्राप्त हुनसक्छ।

शान्ति त मनको पवित्र भावना हो जसलाई प्राप्त गर्न मनको भ्रमण गर्नु जरुरी हुन्छ। भित्रको फोहोर हटेपछि सबैतिर परमात्माको प्रकाश देखिन थाल्छ।

जीवनमा सफल हुनु छ भने पाँच वाक्यलाई फोहोरको भाँडोमा हालिदिनुस्।

  • मानिसले के भन्लान्?
  • म सक्दिनँ।
  • मेरो मुड छैन।
  • मेरो भाग्य खराब छ।
  • मसँग समय छैन।

आज साँच्चै भन्ने हो भने हामीलाई आफ्नो हृदयलाई राम्रो भूमि बनाउनु जरुरी छ। धर्मरुपी बिज त हामी सबैसँग छ, त्यो त हाम्रो प्रतीक्षा मात्र गरिरहेको छ। हामी हाम्रो सुक्खा, रसहिन र कठोर हृदयबाट घृणाको काँडा र मतभेदका किला निकालेर फ्याँकौँ ताकि त्यहाँ प्रेम, शान्ति, एकता र सद्भावनाको बाली सय गुणा बढी लहलहाओस्।

जसरी रंगीबिरंगी फूलको बुके अत्यन्त आकर्षक र मनोरम हुन्छ, त्यसैगरी विभिन्न धर्मले मानव जीवनको सुन्दरतामा निखार ल्याउँछन्।

जीवनको सार र सुखका रहस्य दुई थोपा आँसुमा निहित छन्। कसैको दुखको आँसु पुछेर प्रसन्नताको एक थोपा आँसु आर्जन होस्। अर्को थोपा आँसु एकान्तमा भावविभोर भएर ईश्वरका लागि कृतज्ञतापूर्वक बगोस्। आखिर उनैले तपाईँले सेवा गर्ने मौका दिए। समग्र धर्मको सन्देश यतिमात्र हो।

अतीततिर फर्क। सबै त गइसके। हामी र बाँकी सबैको भविष्यले केही भन्न सक्दैन- को कहिले जाने हो? मृत्यु आउँदा स्वर्ण मुद्राहरुले पनि एक श्वास किन्न सकिँदैन। कुनै पनि शुभ कर्म गर्नु छ भने गरिहाल्नुस्। शुभ कर्महरुको बढीभन्दा बढी सञ्चय नै मानवजीवनको वास्तविक सम्पत्ति हो। यही वेदनाका क्षणमा काम लाग्छ र जिवात्माहरुलाई दुर्दशाले बचाउँछ। अवसरहरुलाई व्यर्थ जान नदेऊ। पटकपटक आउँदैन त्यो। जीवनका हरेक क्षण अमूल्य छ। उपलब्ध क्षणहरुलाई पूर्ण सदुपयोग गर र कसैलाई दु:ख नदेऊ।

जिन्दगीका हरेक पल राम्ररी बितोस्- यही प्रयास होस्। जिन्दगी नरहे पनि राम्रा सम्झना सधैँ बाँचिरहन्छन्।

जीवनको सार र सुखका रहस्य दुई थोपा आँसुमा निहित छन्। कसैको दुखको आँसु पुछेर प्रसन्नताको एक थोपा आँसु आर्जन होस्। अर्को थोपा आँसु एकान्तमा भावविभोर भएर ईश्वरका लागि कृतज्ञतापूर्वक बगोस्। आखिर उनैले तपाईँले सेवा गर्ने मौका दिए। समग्र धर्मको सन्देश यतिमात्र हो।

सत्यलाई ओकल्नका लागि कुनै शपथको आवश्यकता पर्दैन। नदीहरुलाई बग्नका लागि कुनै बाटोको आवश्यकता पर्दैन। जो दृढ निश्चय बोकेर अघि बढ्छन्, उनीहरुलाई लक्ष्य भेट्टाउन कुनै रथको आवश्यकता पर्दैन।

मनुष्य जीवन यसका लागि मात्र प्राप्त हुँदैन कि आफ्नैबारेमात्र सोचिरहुँ। यसलाई परहितमा लगाएर यसको लाभ अरुले पाए भने बल्ल यसको सम्पूर्ण उपयोगिता हासिल हुन्छ।

सबै यताउता मात्र चिहाउँछन्

आफूभित्र  चिहाउने को?

संसारमा कमजोरी खोजिरहन्छन्

आफ्नै मनलाई हेर्ने को?

 

सबैभित्र घाउ लुकेको छ

त्यही घाउलाई कोट्याओस् को ?

संसार सप्रियोस् सबै भन्छन्

आफैँलाई यहाँ सपार्ने को?

 

अरुका लागि उपदेशै उपदेश

आफैँलाई यहाँ विचार्ने को ?

म सुध्रे त संसार सुध्रन्छ

यो कुरा अमरज्योति बुझोस् को?

क्रोधले मूढता आउँछ र मूढताले स्मृति भ्रान्त हुन्छ। स्मृति भ्रान्त भएपछि बुद्धि नष्ट हुन्छ। बुद्धि नष्ट भएपछि प्राणी आफै नष्ट हुन्छ।

विश्वास एउटा सानो शब्द हो। यसलाई पढ्न एक सेकेन्ड लाग्ला, सोच्न एक मिनेट लाग्ला, बुझ्न एक दिन लाग्ला तर पुष्टि गर्न सारा जिन्दगी लाग्छ। हाम्रो मस्तिष्क एक बगैँचाजस्तै हो। यसलाई कि त एकदमै बुद्धिमानीपूर्वक विकास गर र या त जंगल बन्नका लागि छाडिदेऊ।

रुख मैले कति फूलहरु गुमाएँ होला भनेर कहिल्यै व्यथित हुँदैन। सधैँ नयाँ फूलको सिर्जनामा लाग्छ ऊ। जीवनमा के गुम्यो भन्ने पीडालाई बिर्सेर हामी के नयाँ गर्न सक्छौँ भन्ने सोच्नुमै जीवनको सार्थकता छ।

एक दिन चोटले सम्पत्तिलाई सोध्यो- तिमी कति भाग्यमानी छौ। सबै तिमीलाई नै पाउने प्रयास गर्छन्। म त यति अभागी छु, सबै मबाट टाढामात्र भाग्न खोज्छन्।

सम्पत्तिले भन्यो- भाग्यमानी त तिमी हौ। तिमीलाई पाउँदा मानिसहरु प्राय: आफ्नालाई याद गर्छन्। म त अभागी हुँ। मलाई पाउँदा मानिसहरु आफन्तलाई पनि बिर्सन्छन्।

जीवनका केही साथीहरुलाई छाया र ऐनाजसरी राख। ऐनाले कहिल्यै झुटो बोल्दैन। छायाले कहिल्यै साथ छाड्दैन।

तीन साथी थिए- ज्ञान, धन र विश्वास। तीनै राम्रा साथी थिए। तीनैबीच राम्रो प्रेम थियो। एक समय आयो जब तीनैलाई छुट्टिनुपर्‍यो। उनीहरुले एकअर्कालाई सोधे अब कहाँ भेटिन्छौ हामी ?

ज्ञानले भन्यो- मन्दिर मस्जिद विद्यालयमा भेटिनेछु म।

धनले भन्यो- म धनीहरुसँग हुन्छु।

विश्वास चुप थियो। दुवैले चुप लाग्नुको कारण सोधे।

विश्वासले रुँदै भन्यो,  ‘म एकपटक गएँ भने फेरि कहिल्यै फर्केर आउँदिन।’

आफै कमाऊ, आफै खाऊ- यो प्रकृति हो। अर्कोले कमाएको लुटेर खाऊ- यो विकृति हो। आफै कमाऊ र अरुलाई पनि ख्वाऊ-  यो संस्कृति हो।

(सन्त नेता कृष्णप्रसाद भट्टराईको मंगलबार ९५ औँ जन्मोत्सव हो । यहि अवसरमा योगीराज अमरज्योतिले देश सञ्चारमार्फत दिनु भएको अभिव्यक्ति । योगीराजको प्रमुख आतिथ्यतामा भट्टराई आश्रम बाँडेगाउँमा मंगलबार विशेष कार्यक्रम हुँदैछ ।)

पुस ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्