सनले पाएको रातो कार्डविरुद्ध टोटनह्यामको अपिल

टोटनह्यामले आइतबार राति भएको खेलमा सन हेङ–मिनलाई रेफ्रीले देखाएको रातो कार्डविरुद्ध अपिल गरेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको चेल्सीसँगको खेलमा दोस्रो हाफमा सनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरसँगको ट्याकलका लागि ।
तर सनले रातो कार्ड पाउने गरी कुनै पनि गतिविधि नगरेको भन्दै टोटनह्यामले रातो कार्डविरुद्ध अपिल गरेको प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् ।
चेल्सीसँग २–० ले पराजित भएको सो खेलमा सनले रुडिगरलाई किक प्रहार गरेको अभियोग लागेको थियो भिएआरबाट हेरिएपछि । लिगमा टोटनह्यामले अब ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । सो खेलका लागि सन उपलब्ध हुने या नहुने हुन् भन्ने स्पष्ट भइसकेको छैन ।
मोरिन्होले भनेका छन्, ‘आशा छ सनमाथि पाँचपटक कारवाही हुने छैन ।’
उनले अघि भने, ‘एकपटक फउल भएको थियो र रुडिगरले सनलाई गरेका थिए । दोस्रो कुरा उनी मैदानबाट बाहिर निकालिए । तेस्रो कारवाही उनले ब्राइटनविरुद्ध खेल्न नपाउनु । चौथो नर्विचविरुद्ध खेल्न नपाउनु र पाँचौँ साउथह्याम्पटनविरुद्ध खेल्न नपाउनु हुनेछ ।’
मोरिन्होले अघि भनेका छन्, ‘त्यसैले मलाई आशा छ कि दुईपटक कारवाहीमा पर्नु नै पर्याप्त छ, उनलाई तेस्रो चौथो र पाँचौँ कारवाही आवश्यक छैन र त्यसका लागि योग्य पनि छैनन् ।’
सन यो सिजन दोस्रो पटक रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् । यसअघि उनले नोभेम्बर ३ मा एभर्टनसँगको १–१ को बराबरीमा रातो कार्ड पाएका थिए ।
आइतबार राति भएको खेलमा सनले नभई रुडिगरले अनुपयुक्त च्यालेन्ज गरेको मोरिन्होले बताएका छन् । सो खेलमा रुडिगरमाथि टोटनह्यामका फ्यानले रंगभेदी व्यवहार भएको अभियोग लागेको छ ।