पौष कृष्ण अमावास्या आज, तीर्थस्थलमा श्राद्ध गरिने

काठमाडौँ – वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्याका अवसरमा बुधकार विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् ।

पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान छ ।

यसवर्ष बुधबार र बिहीबार दुई दिन अमावास्या अर्थात औँशी तिथि परेको छ । बिहीबार बिहान खण्डग्रास सूर्यग्रहणसमेत लाग्ने भएकाले बुधबार नै पौषकृष्ण अमावास्याका दिनमा तीर्थ श्राद्ध गनुपर्ने निर्णय गरिएको हो । ग्रहणमा गरिने श्राद्ध भने बिहीबार नै गर्नुपर्ने जनाइएको छ ।

वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ । यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन ।

यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थित कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको सङ्गम रिडी, मुस्ताङको कागबेनीलगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

पुस ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्