बुढानिलकण्ठ घटनाबारे चालक मल्ल भन्छन्-नाइट क्लबबाट निस्कने बेलामात्र युवतीसँग भेट

महिलालाई ठक्कर दिएपछि क्षतिग्रस्त भएको कार।

काठमाडौँ –  बुढानिलकण्ठमा दुई साता अघि एक पैदल यात्रुको ज्यान जानेगरि भएको ‘ड्रिन्क एन्ड ड्राइभ’ घटनामा महानगरीय प्रहरी वृत, महाराजगन्जले अहिले अनुसन्धान गरिरहेको छ।

संकटा मन्दीर दर्शन गरेर फर्किरहेकी लिला देवकोटालाई शिवपुरीबाट आइरहेको निजी कारले अनियन्त्रित भई सडक पेटीमा आएर ठक्कर दिएको थियो। घाइते देवकोटालाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने कारका चालक २१ वर्षीय पृथ्वी मल्ल थिए जो केही दिन अघि मात्र बिदा मनाउन अमेरिकाबाट नेपाल आएका थिए।

रातभर ठमेलमा रेस्टुरेन्ट र नाइट क्लबमा रमाइलो गरेर बिहानपख शिवपुरीस्थित एक रिसोर्टमा खाना खान भन्दै पृथ्वीसहित चारजनाको टोली कारमा त्यसतर्फ लागेको थियो। कारमा दुईजना युवती र पृथ्वीका साथी करिस मास्के पनि थिए।

युवतीमध्ये एक जना चर्चित मोडल एवम् नायिका थिइन्। प्रहरीका अनुसार दुर्घटना भएका बेला चालकले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए। घटनालगत्तै दुवै युवती कारबाट निस्किएर भागेका थिए।

मल्लको बयान प्रहरीले लिइसकेको छ। प्रहरीसँग उनले घटना हुँदा कारको अघिल्लो सिटमा आफू एक्लै भएको र तीनैजना पछिल्लो भागमा बसेको बताएका छन्। यसैगरि कारमा सवार दुवै युवती करिसको साथी भएको र उनीहरुसँग नाइट क्लबबाट बाहिरिन लाग्दा मात्र भेट भएको बताएका छन्।

‘ दुवै जना  (युवती) सँग मेरो चिनजान थिएन। उनीहरु करिसका साथी रहेछन्। करिस र म बालुवाटारमा भेट गरेर नाइट क्लब गएका थियौँ। नाइट क्लबबाट बाहिरिने क्रममा उनीहरुसँग हाम्रो भेट भएको थियो। हामीलाई भोक लागेको थियो। त्यसैले शिवपुरी गएका हौँ।’, मल्लको बयान उदृत गर्दै महाराजगन्ज प्रहरी स्रोतले भन्यो।

प्रहरीले कारमा सवार दुवै युवती र करिससँग पनि बयान लिने तयारी गरिरहेको छ। प्रहरीले सवारी ज्यान मुद्धामा मल्लमाथि अनुसन्धान गरिरहेको छ। काठमाडौँको हेपालीहाइटस्थित एक सम्पन्न परिवारका एक्ला सन्तान मल्ल गल्फका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। उनले एसियन गेम्ससम्म नेपालको प्रतिनिधित्व गरेका थिए।

पुस १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्