‘नेपाल भारतको सिमा सिल गर्नु समुन्द्रबाट पानी सुकाउनु जस्तै’

जनकपुरधाम-खुल्ला रुपमा रहेको नेपाल–भारतको सिमानालाई चुनौतीको रुपमा नलिई अवसरको रुपमा लिन विज्ञहरुले आग्रह गरेका छन्।

विहिवार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित सिमाञ्चल सम्बन्धका स्वरुप र नागरिक दायित्व विषयक अन्तरक्रियामा सिमाविद्हरुले नेपाल भारतको राजनीतिक र आर्थिक भन्दा पनि बेटी रोटीको सम्बन्ध रहेकोले अहिले सम्म रहेको खुल्ला सिमालाई सिल गर्ने सोँच्नु समुन्द्रबाट पानी सुकाउनु जस्तै रहेको बताएका छन्।

प्रदेश २ का समाजिक बिकास मन्त्री नवल किशोर साहले नेपाल भारतको सम्बन्ध भन्दा पहिले देखि नै रही आएको बताए । उनले भने, ‘नेपाल र भारतमा भन्दा पहिलेको सम्बन्ध मिथिला हो, जुन आज भारत र नेपालको भुमी छ, के हामी यो ईतिहासलाई मेटाउन सक्छौं, कदापि सक्दैनौं, त्यसैले नेपाल–भारतको अक्षुण सम्बन्धलाई सिमाले रोक्दैन्।’

त्यस्तै अन्तरक्रिया कार्यक्रममा प्रदेश २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनालले कुनै पनि राष्ट्रको राष्ट्रिय अखण्डता, राष्ट्रको हित विपरित नेपालको भुमी प्रयोग हुन नदिने बताए।

उनले भारत–नेपालको सम्बन्ध सेतु जस्तै रहेकोले यसलाई चुनौती नभई अवसरको रुपमा प्रयोग गरी सकभर फाईदा लिनुपर्नेमा जोड दिए।

दिल्ली र काठमाण्डौंको सम्बन्ध राजनीतिक हुने तर हाम्रो सम्बन्ध मानवीय किन नहुने भन्दै योजना आयोगका उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झाले प्रश्न गरे । भारत बिहार युनिभसिटीका प्राध्यापक नवल चौधरीले भारत र पाकिस्तान बन्द बोर्डर भएपनि द्वन्द हुने तर नेपाल र भारत बीच खुल्ला सिमामा समेत शान्ति हुने जस्तो संदेश अरु केही नहुने बताए।

पछिल्लो समय नेपाल र भारतको सिमा सिल नभएको कारणले अपराधिक घटनामा वृद्धि भएको र भारतले खुल्ला सिमाका कारण नेपाली भू–भाग अतिक्रमण गरिरहेको आरोप लाग्दै आएको छ ।

पुस १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्