वान डे थ्री डी आर्ट रेस्टुरेन्ट: जहाँ जिब्रो पड्काउँदै नेपाल घुम्न पाइन्छ

जावलाखेलको चोकबाट कुमारीपाटीतर्फ लागेर करिब १० मिनेट हिडेपछि दाँयापट्टि सानो गल्ली भेटिन्छ। त्यहाँबाट १०-१५ पाइला हिँडेपछि बाँयापट्टी देखिन्छ, निकै कलात्मक ढंगले सिंगारिएको वान डे थ्री डी आर्ट रेष्टुरेन्ट।

नेपालको पहिलो थ्री डी आर्ट रेष्टुरेन्टको गेटभित्र प्रवेश गर्दा भित्ताबाट हात्तीले स्वागत गरेको जस्तो देखिन्छ भने अर्कोपट्टि परम्परागत शैलीमा भित्तामा कुँदिएको घरको पालीमा बसेर जेष्ठ नागरिकहरु भलाकुसारी गरिरहेका देखिन्छन् र पर डाडाँमा स्तुपा देखिन्छ। यसले काठमाडौँ उपत्यकालाई झल्काएको छ।

यस्तै दायाँतर्फ हेर्दा फेवातालको दृश्य देख्‍न सकिन्छ, त्यो दृश्य देख्दा फेवातालमा नै भएको भान हुन्छ। त्यसको छेउमा बाघले तपाईँको मनमा डर उत्पन्न हुनसक्छ है!

वान डे थ्री डी आर्ट रेष्टुरेन्टका प्रबन्ध निर्देशक सुन्दर विष्टले यो कला नै भ्रम पैदा गर्ने कला भएको बताए। उनले भने, ‘हामीले भ्रम पैदा गर्ने आर्ट बनाएका छौँ। र हाम्रो उद्देश्य पनि भ्रम पैदा गर्नु हो। जति हामीले भ्रम पैदा गर्न सक्यौँ त्यति नै हामी सफल भएको मान्छौँ।’

‘रेष्टुरेन्टमा प्रवेश गर्नु अगाडि ग्राहकहरुका आफ्नै समस्या हुन्छन्। तर रेष्टुरेन्ट अवलोकन गरिसकेपछि ग्राहकले आफ्ना सबै चिन्ता, समस्या भुल्ने गर्छन्’, उनले भने।

उनी रेष्टुरेन्टका बारेमा जानकारी दिदैँ रेष्टुरेन्टभित्र प्रवेश गर्छन्। प्यासेजमा रोकिन्छन्, जहाँ प्राकृतिक सुन्दरताले भरिएको झरना तथा तालमाथि सिँढी देखिन्छ। वास्तविक ताल जस्तो देखिन्छ। सुन्दर भन्छन्, ‘माथि निलो आकाश, तल ताल र एकातिर झरना र जंगल छ जसले हामीलाई यहीँ भएको अनुभव हुन्छ।’

थ्री डी आर्टलाई रेष्टुरेन्टमा परिणत गर्ने आइडिया कसरी आयो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘थाइल्यान्डस्थित नेपाल एम्बेसीले आर्टका माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई प्रमोट गर्न हाम्रो टिमलाई प्रस्ताव गर्‍यो। त्यसै सिलसिलामा हाम्रो टिम बैंकक गयो। सोही अवसरमा हामीले बैंककका रेष्टुरेन्ट र म्युजिएममा थ्री डी आर्ट देख्यौँ।’

‘नेपालमा पनि आर्टबाट कर्मसियल रुपमा नै केही नयाँ कुरा गर्न सकिन्छ भनेर सोच्यौँ, त्यसपछि हामीले नेपालमा थ्री डी रेष्टुरेन्ट खोल्ने कम्न्सेप्ट बनायौँ। त्यहाँबाट सुरु भएको कन्सेप्ट अहिले रेष्टुरेन्टमा परिणत भएको छ,’ उनले भने।

तर उनले नेपालमा आर्टलाई पनि कर्मसियल रुपमा विकास गर्न सकिन्छ भन्ने मानसिकता अझै पनि नबनिसकेको सुनाए। उनले करिब डेढ करोडको लागत र १ सय ५० दिनको मेहनतपछि थ्री डी रेष्टुरेन्ट सञ्चालनमा आएको जानकारी दिए। हाम्रो टिमले दिनरात गरेको मेहनतले छिट्टै सञ्चालनमा ल्याउन सफल भएको सुनाए।

तीन तला गरेर १० वटा कोठा भएको उक्त रेष्टुरेन्टमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म कला र खानासँग रमाउन सक्ने पारिवारिक वातावरणको सिर्जना गरिएको देखिन्छ । फरक-फरक ग्राहकका लागि फरक-फरक कोठा बनाइएका छन्।

उनले बार लबी कोठामा पस्दै भने, ‘यहाँ भित्तामा बन्दीपुरको तस्बिर बनाएका छौँ। पीस रुममा शान्तिका प्रतीक गौतम वुद्धको सुन्तर तस्बिर, जहाँ जंगलमा बसेर ध्यान गरिरहेका जस्ता देखिन्छन्।’

दाँयापट्टिको भित्तामा भने महात्मा गान्धीको तस्बिर छ। त्यस्तै अन्य भित्तामा झरना र येशुको चित्र कोरिएको छ। ‘यो रुम त्यस्ता ग्राहकका लागि हो जो शान्त वातावरणमा बसेर खाना खान र रमाउन चाहन्छन्,’ उनले भने।

बालबालिकाका लागि रमाउने छुट्टै ‘चिल्ड्रेन रुम’ छ। ‘कलात्मक कार्टुन भित्तामा कोरिएका छन्। त्यहाँ बालबालिका रमाउन सक्नेछन्,’ उनले भने।’ग्राहकहरुले आफूले खाएको खाना कसरी बनिरहेको छ भन्‍नेबारे जान्‍ने चाहेमा ‘ओपन किचेन’को पनि व्यवस्था गरिएको उनले जानकारी दिए।

पहिलो तलाका बारेमा जानकारी दिएपछि दोस्रो तलाका थिमका बारेमा जान्‍न हामी भर्‍याङ चढ्यौँ जहाँ पुराना शैलीका भित्तालाई कलात्मक तरिकाले नयाँ भित्तामा कोरिएका छन्।

पहिलो भर्‍याङ सकिनेबित्तिकै सिधा देखिन्छ, झ्यालमा बिरालो बसेको तस्विर देखिन्छ। सुन्दरलाई बिरालाको चित्र बनाउनुको कारण सोध्दा उनले जापानमा बिरालोलाई शुभको प्रतीक मानिन्छ र रेष्टुरेन्टको तयारी गरिरहेको समयमा जापानका प्रोफेसरले जापानमा बिरालोलाई शुभको प्रतिक मानिने भएकाले बनाउन सुझाब दिए। उनकै सुझावलाई आत्मसात गरेका हौँ।’

यस्तै डर लाग्दा भूत जस्तै देखिने चित्र बनाइएको रुप हो स्केरी रुम। उनी भन्छन्, ‘सानोमा हामीलाई बुबाआमाले बाहिर नजाओस् भनेर भूत आयो भनेर डर देखाउने गर्थे। हामीले त्यो कुरालाई रमाइलो तरिकाले कलाका माध्यमबाट प्रस्तुत गरेका छौँ।’

सोही तलामा रहेको अर्को रुम हो, टाइटानिक रुम जुन रुमलाई समुन्द्रमा परिणत गरिएको छ कलाका माध्यमबाट। यहाँ जहाज, माछा, जलपरी र समुन्द्रमा पाइने प्रजाति देख्न सकिन्छ र पानीको बुल्बुल आवाज पनि।

सारेगम रुममा स्वर सम्राट नारायण गोपाल, अन्जु पन्त, राजेश पायल राई, माइकल ज्याक्सन र लता मङ्गेशकरका निकै सुन्दर चित्र बनाएका छन्। सुन्दरले संगीत प्रेमी ग्राहकहरुका लागि सारेगम रुम उपयुक्त भएको बताए।

यस्तै डाइनिङ रुम, कुमारी रुमलाई पनि कलात्मक र फरक तरिकाले बनाएका छन् उनले। सबैको आफ्नै महत्व छ। अर्को ‘स्पेशल रुम’ साइन्स फिक्सन मन पराउने ग्राहकहरुले रोज्न सक्नेछन्। संगीतको तालमा रमाउन सकिन्छ यहाँ।


६० जना क्षमता भएको हलमा पशुपति, स्वयम्भू , पुष्कर शाह र सत्यमोहन जोशीका सुन्दर दृश्य कोरिएका छन्। सडकका मानिसहरुको उद्धार गर्न खोलिएको आश्रमका २५ जना मानिसहरुलाई कात्तिक २२ गते खाना खुवाएर आधिकारिक रुपमा भने पुष ४ गतेदेखि यो रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

के–के परिकार पाइन्छ?


थ्री डी रेष्टुरेन्टमा म:म:, मुस्ताङको आलुका परिकार लगायतका अन्य रेष्टुरेन्टका जस्तै परिकार पाइन्छन्। ‘पारिवारिक वातावरण र सस्तो मूल्यमा कलासँगै खानाको मजा ग्राहकले लिन सक्नेछन्,’ सुन्दरले भने।

रेष्टुरेन्ट बन्‍नु अगाडि यस्तो छ


तीन वर्ष अगाडि उनी वान डे पेन्टिङ आर्ट एण्ड डेकोर कम्पनी चलाउँथे। उक्त कम्पनीमा उनीसँग उनका साथीहरु पनि थिए। उक्त कम्पनीले घर, रेष्टुरेन्टहरुको निर्माण गर्नुका साथै रंग लगाउने काम गर्थ्यो।

उनी भन्छन्, ‘हामीले यस कम्पनीका माध्यमबाट पोखरा, धरान, चितवन र काठमाडौँका विभिन्न घर, होटल, रेष्टुरेन्टमा पनि काम गर्‍यौँ।’ उनले स्वदेशमा मात्र होइन विदेशमा पनि काम गरेको बताए।

तस्बिर/भिडियो- मन्दिरा राउत/देश सञ्‍चार

पुस ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्