हृदय जलेको त्यो दिन– ४

‘एसिड हान्नेलाई आजीवन कारावास वा फासी हुनुपर्छ’

‘एसिड हान्नेलाई आजीवन कारावास वा फासी हुनुपर्छ’

तस्बिर तथा भिडियो- मन्दिरा राउत

काठमाडौँ– टायलको छानो। निलो रंगले पोतिएको सानो दुई कोठे घर। पालीमा डोरीमा झुण्डाइएका केही कपडाहरु। झुण्डाइएका तिनै कपडा मुनी बिछ्याइएको निलो र गुलाबी रंगको गुन्द्री। सानो आँगन। आँगनको एक छेउदेखि अर्को छेउसम्म पुग्ने डोरीमा सुकाइएका केही कपडाहरु। घरको मुख्खैमा मुढामा बसिरहेका सेतै कपाल फुलेका वृद्ध।

घरको अर्को कुनामा रहेको धारामा भाँडा माझिरहेकी थिइन्, उनी। भाँडा माझेर चिसा भएका हात तताउनका लागि उनले आँगनको बिचमा आगो बालिन्। उनलाई आगो बाल्न उनका हजुरबुवाले सघाए। हजुरबुवा-नातिनीले आगो तापे।

‘कहिलेकाहीँ नखाएको विष पनि लाग्छ रे’, उनीहरुको जीवनमा यही उखानले सार्थकता पायो। कुनै गल्ती बिना नै ठूलो सजाय भोग्नुपर्‍यो उनीहरुले।

एक वर्ष अगाडि २०७५ साल भदौ २६ गते दुई कोठे घरको बाँया तिरको कोठामा दुई दिदीबहिनी सम्झना दास र सुस्मिता दास सुतिरहेका थिए।

दर खाने दिन थियो। उनीहरुले दर खाए र भोलिपल्ट तीजको तयारी गरेर सुते। राति करिब १२ बजे सम्झनालाई पिसाब लाग्यो। निन्द्रामै उठेर उनी शौचालय गइन्। शौचालयबाट फर्किइन् र फेरि उसै गरी सुतिन्। गहिरो निन्द्रामा थिए, उनीहरु।

निदाइरहेकी सुस्मिता एकाएक चिच्याउन थालिन्। ऐया! आत्था ! पोल्यो, पोल्यो, मेरो हात ! मेरो हात!

सुस्मिताको चिच्याहट सम्झनाको कानमा ठोक्कियो। उनले बहिनीलाई सोधिन्- के भयो? बहिनीले उत्तर दिन नपाउँदै सम्झना पनि उसै गरी चिच्याउन थालिन्। मरेँ म! पोल्यो, पोल्यो! मेरो अनुहारमा के भयो?

दुवै बहिनीको चर्को रुवाइले अर्को कोठामा सुतिरहेकी आमाका आँखा खुले। उनी के भयो भन्दै छोरीहरु भएको ठाउँ जान खोज्दै थिइन्। सम्झनाले उनलाई ढोकाबाट बाहिर निस्किन दिइनन्। उनले आमालाई ढोकाबाट भित्र धकेल्दै उनले भनिन्,‘मम्मी बाहिर न आउनु तपाई र बहिनीलाई पनि यस्तै हुन्छ।’

घरमा रुवाबासी चलिरहेको थियो। छिमेकीहरु एकएक गर्दै जम्मा हुन थाले। उनीहरुको घर छेउकै छिमेकी र उनकी श्रीमती पनि उनीहरु कराइरहेको ठाउँमा पुगे। सम्झनाले छिमेकी (रामबाबु पासवान)लाई ठूलोबाबा पोल्यो भन्दै झ्याप्प अँगालो हालिन्।

आमाले सम्झना र सुस्मिताका बुवालाई फोन गरिन्। ‘छिटो घर आनुस् न छोरीहरुलाई के भयो रोइरहेका छन्’, यति भनेर उनले फोन राखिदिइन्।

सम्झना र सुस्मिताका बुवा जादोलाल दास घरभन्दा केही दूरीमा रहेको पुल हाउसमा सुत्छन्,धैरैजसो। त्यस दिन पनि उनी पुल हाउसमै सुतिरहेका थिए। श्रीमतीको फोनले झस्किएका उनलाई लाग्यो, छोरीहरु बिरामी भए वा केही किरा वा सर्पले टोक्यो। उनी दोडिएर घर पुगे।
उनले आँगनमा पाइला मात्र के राखेका थिए, अजिव किसिमको गन्ध उनको नाकमा ठोकियो। उनी गन्धको वास्ता नगरी सिधै छोरीहरु छट्पटाइरहेको ठाउँमा पुगे। छोरीहरुको अवस्था देखेर जादोलाललाई के गर्ने भन्ने चेत भएन। उनीहरुको शरीर नीलो भएको थियो। के भएको भन्दाभन्दै कोलाहाल मच्चिँदै थियो।

एक जनाको मुखबाट फुत्त निक्ल्यो- यो त ‘तेजाव’ हो।

उनी थिए जादोलालका छिमेकी रामबाबु पासवान। पासवान र जादोलालको घरको साँध जुधेको छ। तेजाब भनेर सुन्ने बित्तिकै सबै जना अचम्मित भए। पासवानले दुवै बहिनीलाई उठाएर घरको कुनामा रहेको धारामा लगेर उनीहरु माथि पानी खन्याउन थाले। निलो भएको उनीहरुको शरीर कालो भयो। जादोलालले एम्बुलेन्स बोलाए र उनीहरुलाई अस्पताल लगे। त्यही एम्बुलेन्सको कुनामा बसे पासवान पनि।

उनीहरुलाई अस्पताल पुर्‍याइयो। रौतहटको अस्पतालले उपचार सम्भव नभएको भन्दै काठमाडौँ रिफर गर्‍यो। एम्बुलेन्समा सम्झना घरिघरी केही भन्न खोजिरहेकी थिइन्। उनी पुलुक्क पासवानलाई हेर्थिन्, बोल्दाबोल्दै उनको बोली बन्द हुन्थ्यो।

२७ गते बिहान उनीहरुलाई काठमाडौँस्थित कीर्तिपुर अस्पताल पुगे। उनीहरु भर्ना भए। चिकित्सकले उपचार सुरु गरे। एसिडले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो।

घाउमा ड्रेसिङ गरियो। औषधी लगाइयो। सम्झनाको अवस्था गम्भीर भएकाले उनलाई आइसियुमा राखियो भने सुस्मितालाई जनर्रल वार्डमा राखेर उपचार सुरु गरियो।

उपचारका क्रममा समेत सम्झना मात्रै एउटै कुरा दोहोर्‍याएर सोधिरहेकी थिइन्, ‘ठूलो बाबा (रामबाबु पासवान) कहाँ हुनुहुन्छ?’

सम्झना उनलाई देख्ने बित्तिकै आफ्नो बोली बन्द गर्थिन्। उता प्रहरीले अपराधीलाई खोजिरहेको थियो। प्रहरीको घरीघरी सोधिने प्रश्न ‘तपाईको कोहीसँग दुस्मनी थियो, कसैसँग झैझगडा भएको केही याद छ?’ ले उनीलाई वाक्क लागिसकेको थियो। जादोलाल शालिनतापूर्वक उत्तर फर्काउँथे, ‘अँह कोहीसँग पनि हाम्रो त्यस्तो केही पनि भएको छैन।’

सम्झना बेचैन थिइन्। छट्पटाई रहेकी थिइन्।

उनको छटपटाहट त्यही दिन समाप्त भयो जुन दिन प्रहरीले सम्झना र सुस्मितालाई कुर्न अस्पताल बसेका रामबाबु पासवालाई पक्राउ गर्‍यो। कसैले सोचका थिएनन्, पासवानले नै दास दुई बहिनीमाथि एसिड प्रहार गरेका हुन् भनेर। उनीहरु एकै परिवारका सदस्य जस्ता थिए। सम्झना र सुस्मिता उनलाई ठूलोबुवा भन्थे भने पासवान उनीहरुलाई छोरी भन्ने गर्थे।

पासवान पक्राउ परेपछि सुस्मिताले बयान दिइन्, ‘पासवान उनलाई फोन गरेर एकान्त ठाउँमा बोलाउँथे, आफ्नो बारेमा कसैलाई भनेको खण्डमा तेरो भाइलाई मार्दिन्छु भन्दै धम्की दिन्थे।’

अन्ततः असोज ७ गते सम्झनाले अस्पतालकै बेडमा प्राण त्यागिन्। सुस्मिता भने निको भएर घर फर्किइन्। उनीलाई केही समय निकै गाह्रो भयो। हात चलाउन सकिनन्, न पहिलेको जसरी कामकाज गर्न सकिन्। न त राम्रोसँग ‘फिजियोथेरापी’ गर्न नै सकिन्। उनी मात्र हात निको होला कि न होला भन्ने कुरा मनमा खेलाउन थालिन्। उनकी आमा सधैँ उनलाई पटक पटक भन्ने गर्थिन्,‘एक्सरसाइज गरिनस् भने तँ अपाङ्ग हुन्छेस्।’

आमाले यसो भनिरहँदा उनलाई हो कि हुन्थ्यो अनि फेरि एक्सरसाइज गर्न थाल्थिन्। तर गाह्रो हुन्थ्यो। बिचमै छोड्थिन्।

अहिले उनको हातको दाग उस्तै छ। तर मन भने पूरै शान्त। उनको अनुहारमा पीडाको भाव देखिँदैन। उक्त घटनालाई बिर्सेर अगाडि बढिसकेकी छन्। आफू माथि के भएको थियो, उनलाई त्यो कुराले कुनै फरक पर्दैन।

हातका ती खाटाले कुनै असर गरेको छैन। उनको मन मस्तिष्कलाई छोएको छैन। शरीर नराम्रो भयो भन्ने कुरामा उनलाई वास्ता लाग्न छोडेको छ।

त्यो कहालीलाग्दो घटनालाई सम्झन चाहन्नन् उनी। उनलाई अगाडि बढ्न सहज भएको छ। उनको दायाँ हात र घाँटी पहिलेको जस्तो हुँदैन भन्ने कुराले फरक पर्दैन। किनकि उनले आफ्नो नयाँ रुपलाई स्वीकार गरिसकेकी छन्।

खाटा अझै उस्तै भएपनि अहिले उनको हात सद्दे छ। सबै काम गर्न सक्छिन्। उनी खुशी छन्।  उनी खुलेर कुनै हिच्किचाहटबिना हिँडिरहेकी छन्।

उनले पुनः पुरानै दैनिकी अङ्गालिसकेकी छन्।  तर उनी दिदीलाई अझै पनि उसै गरी सम्झिन्छिन्। उनीसँगको संगतले उनलाई सताउँछ। जति याद गरे पनि दिदीलाई उनी न भेट्न पाउँछिन्, न उनीसँग बोल्न नै पाउँछिन्।

सम्झना अब दास परिवारमा मात्र सम्झना बनेकी छन्। सुस्मितालाई अझै याद छ त्यो दिन, जुन दिन सम्झनाले तीजकै लागि भनेर कपाल स्ट्रेट गरेकी थिइन्। एसिडले जलेर त्यही कपाल ‘राख’ भयो।

सुस्मिताले भनिन्,‘दिदीले तीजका लागि भनेर तीन–चार दिन अगाडि मात्रै कपाल स्ट्रेट गर्नुभएको थियो। स्ट्रेट गरेको कपाल अलिकति टाउकोमा गुजुङ्ग भएको थियो भने अरु सबै ओछ्यानमा झरेको थियो।’ जुन दृश्य सम्झदा सुस्मिताको शरीर अझै पनि जिरिङ्ग हुन्छ।

तीजको दिन सिल्की कपाल लरक्क लर्काउने सम्झनाको सपना सदाका लागि अधुरै रह्यो। दिदीको छट्पटी अनि आफ्नो शरीरको त्यो जलन उनको मनसपटलमा अझै उस्तै छ। त्यो दिनलाई उनी याद गर्न चाहन्निन्।

त्यसैले उनी जीवनलाई उसै गरी अगाडि बढाइरहेकी छन्, जसरी उनी एसिड आक्रमण हुनु भन्दा अगाडि बढिरहेको थियो। समय गतिशील हुन्छ भन्ने ज्वलन्त उदाहरण हुन्, सुस्मिता।

घटना बिर्से पनि दिदी र आफूलाई एसिड प्रहार गर्ने पासवानलाई जन्मकैद वा फाँसी सजाय भएको हेर्न चाहन्छिन् उनी। पासवानमाथि यस्तो फैसला नभएसम्म उनी आफूहरुले कुनै गल्तीबिना भोग्नु परेको सजायको भर्पाइ नहुने बताउँछिन्।

उनलाई लाग्छ, हिजो आफूहरुलाई एसिड प्रहार गरेको व्यक्तिले भोलि अर्को कुनैलाई प्रहार गर्न सक्छ। यसका कारण यस्ता व्यक्तिहरु माथि सरकारले कडा भन्दा कडा सजायको कानुन ल्याउन जरुरी भएको उनले बताइन्।

‘परिवारका लागि बाँच्नै पर्ने रहेछ। ऊ (सम्झना) गए पनि कुनै पनि कुरा रमाइलो लाग्दैन। पहिलाको जस्तो रमाइलो त अब कहिले होला र?’ सुस्मिताको छेउमै बसेर टोलाइरहेका जादोलाल (सम्झना र सुस्मिताका बुवा) ले भने। उनलाई घर बस्न मन लाग्दैन। घर आउँदा उनलाई छोरी सम्झनाको यादले सताउँछ। उनले भने, ‘म धेरैजसो घर बाहिरै हुन्छु, यहाँ आउन पनि म लाग्दैन, छोरीको याद आउँछ, खाना खान बाहेक अरु बेला आउनै मन लाग्दैन मलाई यो घरमा।’

पासवान र जादोलालको घरको साँध जुधेको छ। नहेरुँ नदेखूँ भन्दा पनि पासवानको घर हेर्नै पर्ने बाध्यता छ उनलाई। देख्नै नपर्ने ठाउँमा जान पाए हुन्थ्यो भन्ने लाग्छ जादोलाललाई तर उनको घरजग्गा त्यही हो। चाहेर पनि उनी त्यो घरबास छोड्न सक्दैनन्। पासवानलाई सम्झँदा जादोलालको रगत उम्लेर आउँछ। उसलाई मार्न मन लाग्छ तर उनी त्यसो गर्न सक्दैनन्। उनले राम्रोसँग बुझेका छन्, कानुनभन्दा माथि कोही छैन।

सुस्मिता/सम्झनाका बुवा जादोलाल

सजाय पूरा भइसकेपछि पासवान फर्केर जादोलालको छिमेकी भएर बस्ने छन्। सम्झनाको परिवार लाचार भएर रमिता हेर्ने छ जुन कुरा जादोलाललाई स्वीकार्य छैन। उनी भन्छन्, ‘मेरो छोरीको हत्यारा छाती फुलाएर मेरो अगाडि हिँडेको म कसरी हेर्न सकूँला? त्यो बेला कि त त्यो मर्छ कि म मर्छु।’

फेरि उनीमा प्रतिशोधको भावना जाग्छ। ‘त्यो पापीलाई शरीरलाई टुक्रा–टुक्रा काटेर बाटोमा झुण्ड्याउँछु म’ उनले थपे, ‘मेरो बुवाले लगाएको गुण देखेन त्यसले नत्र मेरी छोरी मार्ने नै थिएन।’

पासवान बसाइ सरेर रौतहट पुग्दा जादोलालका बुवाले उनलाई आफ्नो जग्गामा बस्न दिएका थिए। बिस्तारै पासवानले जग्गा जमिन जोडेको जादोलालले बताए।

‘छिमेकी भएकाले उसलाई मेरो घरको सबै कुरा थाहा थियो, बुवा र म नभएको मौका छोपेर छोरीहरु माथि एसिड हानेछ’, उनले भने, ‘मेरो परिवारको खुसी लुट्यो।’

छोरीको मृत्युले उनलाई झस्काइरहन्छ।

पासवानले किन गरेका थिए एसिड प्रहार?

जादोलालका अनुसार पासवान उनीहरुको परिवारका सदस्य जस्ता थिए। उनका छोराछोरीले पासवानलाई ठूलोबाबा भनेर बोलाउँथे। पासवान पनि उनीहरुलाई छोराछोरीसरह नै माया गर्थे। तर उनै ठूलोबाबाको मन ‘शैतान’ होला भनेर कसले पो सोचेको थियो होला र? सम्झना १८ वर्ष भइसकेकी थिइन्। उनी एक युवकसँग प्रेममा परिन्। सम्झनाले आफ्नो प्रेम सम्बन्धको बारेमा आफ्ना बुवा अनि परिवारलाई भनिन्।

जादोलालले सम्झनाका प्रेमीलाई भने, ‘केही काम गर। काममा लागेपछि अर्को वर्ष बिहे गरिदिउँला।’ सम्झना र उनका प्रेमी बुवाको कुरा सुनेर खुसी भए। जिन्दगीका नयाँ–नयाँ सपना बुन्न थाले। तर सम्झनाको बिहे हुन लागेको कुरा उनका ठूलाबाबा अर्थात पासवानलाई चित्त बुझेन।

उनको बिहेको कुराले पासवानको मन अमिलो भयो। उनले सम्झनालाई अरुसँग भएको देख्न चाहेनन्। उनी विभिन्न षड्यन्त्रहरु बुन्न थाले। कसरी हुन्छ, उनीहरुको सम्बन्धमा दरार ल्याउन खोजे। अनेक उपाय अपनाए। भए-नभएका कुरा एक अर्कालाई लगाएर भड्काउन थाले। उनीहरुको सम्बन्धमा फाटो ल्याउने कोशिस गरे। सम्झनालाई धम्क्याउन थाले। तँ मेरी भइनस् भने कसैको हुन दिन्न। उनलाई धम्की दिँदै कहिले कहाँ त कहिले कहाँ एकान्तमा बोलाउन थाले।

आफूले गरेको व्यवहार कसैलाई भनेको खण्डमा उनका भाइलाई मार्ने धम्की दिन्थे। छिनछिनमा सम्झनाको फोनको घण्टी बज्थ्यो। उक्त फोन पासवानले नै गरेका हुन्थे। पासवानको यस्तो व्यहोरा देखेर उनलाई वाक्क लाग्न थाल्यो। उनी उनका फोन इग्नोर गर्न थालिन्। आफूले भने अनुसार नभएपछि पासवानले अन्ततः दास दिदीबहिनी सुतिरहेको मौका छोपे। मस्तसँग निदाइरहेका उनीहरुमाथि एसिड प्रहार गरे।

दास परिवारको सरकारप्रति गुनासो

घटना भएको १६ महिना बितिसक्दा पनि अदालतले अहिलेसम्म पनि फैसला गर्न सकेको छैन। पासवान हिरासतमा भएपनि अहिलेसम्म पनि सजाय नतोकिँदा आफूहरुमा अन्याय भएको महसुस दास परिवारले गरिरहेको छ।

दास परिवारको सरकारलाई एउटै आग्रह छ, ‘रामबाबु पासवानलाई जन्मकैदको फैसला होस्।’

‘नेपालमा फाँसीको सजाय छैन, होइन भने यस्ता व्यक्तिलाई फाँसीमै चढाउनु पर्छ’, जादोलालले थपे, ‘हाम्रो त घरको साँध जुधेको छ, छोरीको हत्यारालाई खुलेआम हिँडेको कसरी हेर्न सकूँला?’

के छ मुलुकी ऐनमा?

एक वर्ष अगाडि आएको मुलुकी कार्यविधी संहिता दफा १३१ मा फैसला गर्नु पर्नेमा मुद्दामा प्रमाण बुझ्ने कार्य समाप्त भएको सामान्यतया: एक महिनाभित्र न्यायाधीशले मुद्दाको फैसला गर्नु पर्ने छ। यस्तै अवधिभित्र फैसला गर्न नसकिएमा त्यसको कारण खुलाई पुनरावेदन सुन्ने अदालतमा त्यसको जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ।

भिडियो हेर्नुहोस्:

पुस ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू