बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा डिडिटी शृंखलाको चित्रमा मान्छेलाई लामखुट्टेकै आकारमा देखाइएको क्यानभास। जहाँ लेखिएको छ डीडीटी २०१९ अर्थात डेन्जर डोज टू थारु। तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार
चित्रकलामार्फत आदिवासीहरुको आवाज

थारुमाथिको दमन र आक्रमणको इतिहास ‘मासिन्या दस्तूर’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा २६ वटा चित्रहरु कुनै भित्तामा झुण्ड्याइएका छन् भने कुनै काठले कुँदिएर  राखिएका छन्। भित्ताको सुरुमै लामखुटे झै किरिङमिरिङ देखिने मानिसहरुले घेरिएको चित्रहरु टाँगएको छ, कुनै गोलाकार आकारमा त कुनै  बर्गाकार आकारमा। केही भित्तामा टाँगिएका पनि छन्।  ती चित्रहरुमध्‍ये डिडिटी शृंखलाका चित्रहरु एक्रेलिक क्‍यानभासमा उतारिएका छन् र त्‍यसमा लेखिएको छ डीडीटी २०१९ अर्थात डेन्जर डोज टू थारु।

नेपालको तराई क्षेत्रमा सन् १९५० देखि ६० को दशकमा अमेरिकन सहयोगमा  औँलो उन्मूलन अभियान सुरु भयो चितवनबाट। औलो उन्मूलनका लागि अमेरिकामा उत्पादित ‘डिडिटी’  डब्लूएचओले नेपाल सरकारको सहयोगमा नेपाल ल्याइयो। 

दोस्रो विश्वयुद्धमा मान्छे मार्न प्रयोग भएको उक्त विषाक्त औषधिको झोलले तराईबाट औलो रोग मात्रै उन्मूलन गरेन त्यहाँका औलो पचाएर बसेका थारुहरुको इतिहास, जीवन चक्र नै सर्वनाश बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो।

‘डिडिटी’ तराईका आदिवासी थारूको अस्तित्वमाथि घातक झोलको रुपमा प्रमाणित भयो। डिडिटीले लामखुट्टेसँगै थारूको वासस्थान पनि साँघुरो बनायो र  तराईमा औलो उन्मूलन भएसँगै पहाडबाट तराई झर्नेको लर्को लाग्यो। त्यतिबेला राजा महेन्द्रले तराइमा बसाइ सराइ गराए अव्‍यवस्थित रुपमा र राज्‍यको दमन सुरु भयो दस्तुरबाट।

थारुहरुको इतिहासबारे राज्यले गरेको पटक-पटकको शृंखलाबद्ध आक्रमणलाई ‘मासिन्या दस्तूर’ नाम दिएर चित्रकलालाई प्रदर्शनीमा राखेका छन् र हेर्न आउनेहरु अवलोकनकर्ताहरुलाई आफूले बनाएको चित्र देखाउँदै व्‍याख्या गरिरहेका छन् लबकान्त चौधरी।

‘मासिन्या दस्तुर’बारे बुझाउँदै आर्टिस्ट लबकान्त चौधरी। तस्बिर-सहदेव चौधरी/देश सञ्‍चार

तराईका आदिवासी थारूहरुको जमिन बसाइँ सरी आउनेहरुले एकपछि अर्को गर्दै  हत्‍याउन थाले। थारूमाथि राज्यले गरेको चरणवद्ध आक्रमणलाई नजिकबाट नियालेर ‘मासिन्या दस्तुर’ नामक चित्रकलामार्फत प्रष्ट्याउने प्रत्यन्त गरेका छन् लवकान्त चौधरीले।  उनले बनाएका  ती चित्रहरुले  राणा, राजा र शासकहरुले त्यतिबेला कसरी आदिवासी थारूमाथि  दमन, दरिद्रता र दस्तुरको प्रयोग गरेर भूमिहीन बनाए भनेर  आक्रमणका दर्दनाक इतिहास देखाएका छन्।

त्‍यतिबेलाको इतिहासमा थारूमाथिको राज्य दमन ‘दस्तुर’बाट सुरु हुन्छ। चित्र शृंखलाको सुरुवात डिडिटीबाट हुन्छ। डिडिटी शृंखलाको चित्रमा मान्छेलाई लामखुट्टेकै आकारमा प्रस्तुत गरिएको छ। जहाँ ‘डिडिटी’ले थारूहरूलाई पनि लामखुट्टे धपाएजसरी उनीहरुकै जमिनबाट उनीहरुलाई नै  भाग्न बाध्‍य बनाइयो।

‘ थारुहरुको आफ्नै लाइफसटाइल थियो। उनीहरु प्रकृति पूजक थिए/हुन्। तर राज्‍यले लामखुट्टे मारे जसरी मार्‍यो दमन गरेर।’ चित्र अर्थ्याउँदै चौधरी भन्छन्, ‘राज्यका लागि लामखुट्टे र थारू उस्तै भए। उनीहरु राणा र राजाको नजरमा मासिन्या अर्थात मासिने जात सरह बनाइए त्यतिबेला । ’ यसैकारण लामखुट्टे र मान्छेको आकृति अनि आकार पनि समान बनाएर देखाए चौधरीले।

‘किनकी राज्यका शासकले त्यतिबेला मान्छे बचाउने नाममा थारूहरूमाथि डिडिटी अर्थात डेन्जर डोज छरे जथाभावी।’ लबकान्तले बनाएको चित्रकला हेरिसकेपछि थारु संस्कृतिविद भुलाई चौधरी भन्छन्,’ त्‍यसकारण ‘डीडीटी’लाई थारूहरू ‘डेन्जर डोज टु थारू’ भन्छन्। किनकी यो थारुको अस्तित्व माथिको ठूलो संकट थियो।  राणा र राजा शासकहरुको हुकुमले पटक-पटक थारुहरुको पहिचानमाथि अन्‍याय भयो। उनीहरुको भूमि खोसियो र कमैया बनाइयो।’

त्यतिमात्रै नभएर जब ‘डिडिटी’ले पनि थारुहरुको इतिहासलाई समाप्त पार्न नसकेसेपछि थारू र उसको अस्तित्वमाथि धावा बोल्ने अर्को हतियार बन्‍यो  ‘ तमसुक’ अर्थात नेपाली लोक्तामा तमसुक। उक्त तमसुक शृंखलामा तमसुकका प्रतिलिपिमाथि थारू अनुहारहरु उतारेर चौधरीले तमसुक आतंकको बयान गरेका छन्।

त्‍यतिबेला नेपाली बोल्न र लेख्‍न नजान्ने थारूमाथि नेपालीभाषीले तमसुक भिडाएर आर्थिक आतंक मच्चाइयो र  तराइका उर्बरा र हराभरा जग्गा खोस्ने काम भयो। सोही तमसुकमार्फत  राज्‍यका चलाख कर्मचारीहरुले ब्याजको स्याज, स्याजको प्याज गर्दै  तमसुकरुपी हतियारले थारूलाई दिनप्रतिदिन ढाट्दै, छल्दै, चातुर्यले गरिबीको खाल्डोमा धकेल्यो। उसको गाँस, वास र कपाससँगै सम्पत्तिको  नाममा रहेको मातृभूमि समेत यही तमसुकलाई हतियार बनाएर खोस्‍ने कामका लागि प्रयोग गरियो।

चौधरी सुनाउँछन्, ‘ त्यो भन्दा पहिला राणाहरूले पनि थारूमाथि यही ‘दस्तुर’को आडमा श्रृंखलाबद्ध रुपमा आक्रमण सुरु गरिसकेका थिए। थारूका सीप र कौशलमाथि राणाले दस्तुर लगाउथ्यो। थारूले जानेका सीप र कौशल राणाका लागि प्रयोग गर्नुपर्ने हुन्थ्यो। उसले भनेको नमानेमा जमिनमा डब्बल दस्तुर र जरिवाना लाग्ने गर्थ्यो।’  राणाको त्यो अन्यायी बर्बरताको चरित्र बयान गर्दै चौधरी भन्छन्, ‘थारु एउटा यस्तो सोझो जात भइदियो जसले राणाहरूको त्यस्तो बर्बरतालाई पनि सहजै पचाएर बरु उसैको काम गरेर उसैलाई नै दस्तुर तिर्नु तयार भयो थारु समुदाय। तर मातृभूमि छाड्न मानेनन्। बरु त्यही आफ्नै भूमिमा कमैया हुन तयार भयो। जुन साह्रै अन्‍याय र मानवताविरोधी दमन र शोषण थियो।’

यही दस्तुरको हतियारले राणाहरु थारूको सीप र कौशल मात्रै खोसेनन् भूमिपतिबाट भूमिहीन अर्थात कमैया बनाइदियो। उनीहरु आफ्नै जमिनबाट विस्थापित हुनु पर्ने अवस्थाको सिर्जना गर्‍यो। थारुहरु प्रकृति पूजक भएकाले त्यतिबेला धामी, झाँक्री गरेको, हात्ती पालेको, घाँस काटेको, माछा मारेको समेत दस्तुर तिर्न लगाइयो। दस्तुर तिर्ने रुपैयाँ नहुँदा राणाले जारी गरेका दस्तुरी कागजले थारूको शिल्प र सभ्यताको विकासमा एकै पटक  ब्रेक लाग्‍यो।

थारु संस्कृतिविद भुलाई चौधरी भन्छन्, ‘उनीहरुको दैनिकी यसरी फेरियो, स्वभाव नै बदलिन थाल्‍यो।  उनीहरु अभाव, दभाव र प्रभावमा पर्न थाले। पटक-पटक दस्तुर र तमसुक आतंक सहन बाध्‍य भए/बनाइयो। अनि त स्वरसम्राट नारायण गोपालले गाए जस्तै ‘मलाई नसोध कहाँ दुख्छ घाऊ’ अर्थात अरूले जतिसुकै वर्णन गरे पनि कहाँ दुख्छ भन्ने कुरा दुख्‍नेलाई मात्र थाहा हुन्छ।’

काठमाडौंको ललितकलामा चित्रकला विधामा स्नातकोत्तर सकाएपछि सर्लाही बयरवास निवासी लबकान्त चौधरीकोको मनमा थारुहरुको इतिहास खोज्‍ने हुटहुटी चल्‍यो।उनी देश सञ्‍चारसँग कुरा गर्दै भन्छन्, ‘ खासमा म  ०७२ वैशाखको भूकम्पपछि कला  बालबालिकासँगको अन्तरक्रियासँगै  प्रदर्शनी गरिएको थियो। त्यहाँ एनजिओ र आइएन्जीओका मानिसहरु आउँथे।  बालबालिकाहरु धरहराको चित्र बनाउँथे। म  उनीहरुसँगै सहकार्य गरेर चित्रहरु बनाउनथे। भत्किएको धरहरा लगायतका। विदेशीहरु कलालाई आनन्द  मानेर हेर्थे। तर हामीलाई भने पीडा हुन्थ्यो। हाम्रो पीडा पनि उनीहरुलाई त कला पो लागेछ। तर खासमा त्‍यो हामीमाथि गरिएको भद्दा मजाक थियो।’

चौधरीले त्‍यही क्षणलाई आफ्नो समुदायमा जरा गाडेर बसेको दर्दनाक पीडालाई किन चित्रद्वारा कलामा नतार्ने भन्‍ने मनमा जाग्यो र उनले त्‍यही आवाज विहीनहरुको आवाज र चीत्कारलाई क्‍यानभासमा उतारे। उनी भन्छन्, ‘ हो थारुमाथि राज्‍यको श्रृंखलाबद्ध आक्रमणको पीडा हो मान्सिया दस्तुर। यो पीडा त्‍यही दुखाइको चीत्कार हो जसले बारम्बार  हाम्रो संस्कृति र संस्कारमाथि धावा बोल्‍यो। आदिवासी जल, जंगल र जमिन दस्तुर लगाएर खोसियो।’

त्यसपछि चौधरी आफ्नै समुदायको जरा खोज्‍न थाले। जराभन्दा पहिले उनले भेटे, ‘थारूलाई जरा गाड्न नदिने शासकीय राजनीति। थारूको जरा काट्ने शासकीय हतियार।’  उनले लगातार ४ वर्ष अध्‍‍ययन र अनुसन्धान गरे। पूर्व पश्‍चिमका थारु इतिहासकार, जानिफकारहरुसँग भेटे। विचार विमर्श, छलफल गरे। त्‍यसपछि उनी पहिला आफ्नो गाउँ गए र त्यहाँ गएर जहाँ त्यतिबेला राजा र राणाहरुले दिएका तमसुक र दस्तुरहरुको संकलन गरे र फोटो खचेर।

उनले त्यो तमसुक र दस्तुरहरु ‘कलेक्शन’ गरे र कात्तिक ०७५ मा चौधरी र उनको समूह ‘आर्ट ट्री’ले ‘विपरीत सपना : आम मान्छेमाथिको राजनीति’ शीर्षकको चित्रकला प्रदर्शनी गरेको थियो। प्रदर्शनीमा चौधरीले जंगबहादुरको मुलुकी ऐनले मासिन्या जातिमा राखेको थारूमाथि गरिएको अत्याचारको नमुना प्रस्तुत गरेका थिए। ‘मासिन्या’ शीर्षक दिएर थारूले झिझिँया नाचमा प्रयोग गर्ने मटकामा जंगबहादुरदेखि संविधान जारी हुँदासम्मको समय र टीकापुर घटना अनि घटनापछिका सरकारी रिपोर्टले थारूमाथि गरेको दमनको चित्र खिपेका थिए।

अनि बल्ल फुर्‍यो एउटा छुट्टै चित्रकला प्रदर्शनी गर्ने सोच र उनले बनाए २६ वटा विशेष चित्रहरु। यी २६ वटा चित्र बनाउन उनलाई  ९ महिनाको समय लाग्यो।  चौधरीलाई भन्छन्, ‘मैले यी सबै चित्रकलाहरुमा थारुहरुकफ परम्परागत शैली अपनाएको छु। राणा र राजाहरुले थारुमाथि गरेको दमनरुपी तमसुर  र दस्तुरहरुमाथि जुन चित्रहरु कोरिएको छ। त्यसमा म डट प्वाइन्टस् अर्थात मसिना थोप्ला-थोप्ला गरेर बनाएको छु। यसलाई थारु भाषामा ‘खोदहा’ भनिन्छ। यसको अर्थ सियोले खोपेर त्यतिबेलाका महिलाहरुले हातमा ट्याटु अर्थात खोदहा बनाउने गर्दथे। त्यो प्राकृतिक शैलीबाट बनाइन्थ्यो।’

यस्तै लेखक युग पाठक मन्सिया दस्तुरबारे आफ्नो नोटमा लेख्छन्, ‘यसपटक पनि अँध्यारो कोठामा प्रस्तुत गरिएको यो कलाले कानुन, सुव्यवस्थाका नाममा भएको कालो कर्तुत देखाउँछ। थारूमाथि भएका अन्याय, थारूले भोग्नुपरेका पीडालाई कलात्मक रूप दिएर चौधरीले इतिहासमा लुकाइएका र दबाइएका घटनालाई सार्वजनिक गरेका छन्।

यस्तै ‘मान्सिया दस्तुर’को अर्को सिरिज हो टीकापुर घटनाको हृदय विदारक चित्र।  पिठ्युँमा बच्चा बोकेर, हातमा कालो झण्डा समातेकी महिला चित्रको पृष्ठभूमिमा टीकापुरको नक्सा छ। ‘पिपुल फ्रम ल्यान्ड अफ इनइक्वालिटी’ शीर्षक दिइएको यो चित्र हो, एक थारु महिलाको।

७ भदौ ०७२ को टीकापुरमा जब उक्त घटना भयो। त्यसपछि थारूमाथि राज्‍यको बर्बरता फेरि बर्सियो।  त्यहाँका थारुहरु घरघरबाट बन्धन बनाइए त्‍यसमध्‍येका एक हुन ती पीडित महिलाकी श्रीमान्‌। उनलाई प्रहरीले वर्षौंसम्म बिना निर्दोष बन्धक बनायो। लबकान्त टीकापुरको स्थलगत भ्रमणमा पुगेका बेलाको अवस्था सुनाउँदै भन्छन् ‘पुरुषलाई बन्धक बनाएपछि कर्फ्यू लगाइएपछि थारू महिलाहरु थाल ठटाउँदै, सिटी बजाउँदै बालबच्चा बोक्दै सडकमा ओर्लिएका थिए। मेरो मानसपटकमा त्यतिबेला त्यही एउटा कारुणिक दृश्यले डेरा जमायो। मैले त्यतिबेलै मष्तिष्कमा उक्त चित्र कोरिसकेको थिए। काठमाडौं आएपछि ४ महिना लगाएर स्केच उतारे र त्यो तस्बिर बनाएँ।’

८ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटनापछि थारूका घर जलाइए। थारू समुदायमाथि अघोषित प्रतिबन्ध लगायो, राज्यले। यही बर्बरतालाई चौधरीले ‘वन्स देअर वाज अ भिलेज’ शीर्षक दिएर श्रव्यदृश्य सामग्रीमा राखेका छन्। मुक्तिका लागि गरिएका हरेक संघर्ष र आन्दोलनमा सीमान्तकृतहरू झन–झन किनारामा पर्छन्। थारूमाथि पनि यस्तै भएको छ।

यसका साथै तत्कालिन सशस्त्र माओवादी जनयुद्धकालमा राज्यसत्ता परिवर्तनका लागि सुरु भएको  माओवादी संघर्षका दौरान मारिएका जोखन रत्गैँयाको डायरीलाई लबकान्तले काठमा कुँदेर छुट्टै राखेका छन्। थारु भाषामा ‘मुत्तिक डगर’ अर्थात् मुक्तिको बाटो नाम दिएर पत्रिका प्रकाशन गर्ने भन्दै रत्गैँयाले तयार पारेको डायरीलाई किन काठमा कुँदेको भन्‍ने प्रश्‍नमा चौधरी भन्छन्, ‘राजा महाराजा र राणाहरुको इतिहास पो ताम्रपत्र, शिलापत्रमा लेखिन्छन् त। हामी त प्रकृति पूजक पर्‍यौ। हाम्रो इतिहास पूजा पाठ र विधि सबै प्रकृतिमा नै लेखिन्छ। हाम्रो परम्परा नै जल, जंगल र जमिनबाट सुरुवात भएको हो।  त्यसकारण मैले रत्गैयाँको रचनालाई काठमा लेखेको हुँ।  प्रकृतिको स्वरुप मात्रै दिएको हुँ। ’

रत्गैँयाले जनयुद्धमा हुँदा अक्षर पनि चिन्‍न नसक्ने आफ्नी श्रीमतीका नाममा, छोरीको नाममा र देशको नाममा धेरै कविताहरु लेखे कपीका पानाहरुमा।  २९ जेठ ०५८ मा मारिएका रत्गैँयाको डायरीमा लेखिएका ती कविता र लेखलाई काठमा कुदेर प्रदर्शनीमा राखेका छन् चौधरीले। रत्गैँयाका बुबा धनबहादुर र भाइ जगतलाई पनि तत्कालीन शाहीसेनाले मारेको थियो।

रत्गैँयाले देखेका ती सफल क्रान्तिका सपनाहरु पूरा नभएपछि पीडाका वेदनाहरु स्वरुप छेउमा झुण्डिएका गोलीहरु काठको बासमा सजाएर राखिएका देखिन्छन्। काठका साना बाकसमा किरा लागेका अन्नका दानामाथि टाँसिएका छन् ती बन्दुकका गोलीहरु।  ती गोलीहरुले रत्गैयाँले झै देखेका कैयौ नेपाीहरुले देखेको मुक्तिको सपनाको हत्या गरेका हुन।

असमानता विरुद्धको लडाइँमा होमिदा यी गोलीहरुले कैयौँ परिवारलाई टुहुरा, अपाङग बनाएका छन् भने उनीहरुको अन्‍नपानी पनि सुकाएका छन्। चौधरीले त्यही अन्‍नपानीमा गोलीका निसानी स्वरुप  देखाएका छन्।  यसबारे सीके लालले प्रदर्शनीको उद्‌घाटनको दिन विश्लेषण गर्दै भनेका थिए,’ लबकान्तले हृदयबाट नै आफ्नो कलामा जीवन्तता दिएका छन्। र जब कुनै चीज हृदयबाट बनाइन्छ त्यो सुन्दर कला बन्दछ। लबकान्तको कलाले हृदय बोलेको छ।’

थारु समुदायलाई भूमि र प्रकृतिबाट विमुख बनाएर राज्‍यका शासकहरुले सभ्यता खोसेको टिप्पणी गरेका छन् सीकेलाले आफ्नो नोटमा । उनले भनेका छन्, ‘सभ्यता र खुसहालीका नाममा राज्यले थारू समुदायलाई उसको प्रकृति र संस्कृति खोस्यो। त्यसैले चौधरीका हरेक चित्रमा भूमि (माटो) देखिन्छ। प्रकृति देखिन्छ। थारू समुदायको संस्कार र संस्कृति देखिन्छ। चौधरीका चित्रमा, संस्कृति, जीवन, पुस्तान्तर, आर्किटेक्चर, समाजशास्त्र फेला पर्छ।’

यसलाई स्वीकार्दै चौधरी थप्छन्, ‘वास्तवमा अब कला आनन्द मात्रै रहेन। यो त आवाजविहीनहरुको विद्रोहको आवाजको अर्को रुप हो। इतिहासमा गरिने नयाँ परिभाषा हो। सधैं सडकमा टायर बालेर कतिन्जेल बस्ने ? अब हामी जागरुक युवाहरु यसरी जाग्‍नुपर्छ थारु समुदायमाथि विभेद र अन्यायविरुद्ध। मैले पनि मेरो तर्फबाट कलामा काठ, माटो, अन्‍न, नक्साजस्ता स्थानीय सामग्री नै प्रयोग गरेर थारुमाथिको दमनविरुको आवाज बोलेको हुँ।’  चौधरीको मान्सिया दस्तुर पुस महिनाभर प्रदर्शनीमा राखिनेछन्।

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार