व्यङ्ग्य

यतिको आशिर्वाद

‘पहिले हामी साना हुँदा यति भन्ने एउटा हिउँ मान्छेको बारेमा खुब सुनिन्थ्यो र यो कस्तो होला भनेर मनमा अनेक कुरा गुनिन्थ्यो । तिमिहरुलाई त्यो कुराको सम्झना छ कि छैन हँ?’ घाम तापेर बदाम खाइरहेको सरोजले वरिपरी बसेर बदाम खाँदै गरेका र आजको शनिवार घाम ताप्दै बिताउन अघि सरेका साथीहरुलाइ सोध्यो ।

‘किन सम्झना नहुनु त्यो बेलामा शरीरभरी रौँ भएको वनमान्छे जस्तो देखिने यतिले एउटा हातको हत्केलामा गिलास र बोतलसहितको ट्रे लिएर उभिएको तस्बिर र होर्डिङ्ग बोर्डहरु जताततै देखिने र यतिको बारेमा पत्रपत्रिकामा समाचार लेखिने गरेको अहिले पनि मैले त बिर्सेको छैन । अरुले पनि बिर्सेका छैनन् होला । हैन त साथी हो ?’ असीमले बदाम छोडाउँदै भन्यो ।

‘त्यो बेलामा यतिको चर्चा ज्यादै ठूलो भएकोले कसैले पनि बिर्सेका छैनन् होला’, प्लास्टिकको पोकाबाट एक मुठी बदाम निकाल्दै हरिशले थप्यो ।

‘म त अलि दुर्गम गाउँमै पढेँ, उतै बढेँ र विद्यार्थी जीवनबाट हेर्ने हो भने बुढै भएपछि र विद्यार्थी मात्रै हुने उमेर गएपछि राजधानी आएर जागिर खाँदै पढ्दै आएको हुनाले यतिको बारेमा पहिले त्यति सुनिएन । बरु अहिले चाहीँ अलिअलि सुनेको छु । तिमिहरु पो राजधानीमा पढेका र बढेका मान्छे हामी भन्दा बढी देख्ने सुन्ने र जान्ने भएकाले सबैले मान्नेमा पनि पर्छौ । हाम्रो गाउँघरतिर अहिले त यस्तो अवस्था छ भने उहिले हामी केटाकेटी हुँदा कस्तो होला । यति भनेको त मैले शहरमा आएपछि मात्रै सुनेको हुँ तर के हो भन्ने चाहीँ आजसम्म पनि राम्ररी थाहा छैन’, कुरा गर्दै आपैmले छोडाएको एकमुठी बदाम मुखमा हाल्दै प्रेमले भन्यो ।

‘लौ यो त चिल्लै रहेछ’, हरिषले बदाम मुखमा हाल्दै भन्यो । सबैजना गललल्ल हाँसे ।

‘मलाई साँच्चिनै थाहा छैन । उही कुनै कुनै ट्राभल एजेन्सीको नाम, एयर लाइन्सको नाम, होटलको नाम र अरु यस्तै केहीको नाम थाहा छ । यति भनेको के हो र को हो भन्ने चाहीँ थाहा छैन’, प्रेमले फेरि भन्यो ।

‘ल सुन् । पहिले हामी सानै हुँदा हाम्रो हिमाली भेग खासगरी सगरमाथा क्षेत्रमा हिम मानवको अस्तित्व भएको र त्यहाँ गएको केही मान्छेहरु भन्नाले स्थानीय बासिन्दाहरु, गोठालाहरु, पर्वतारोहीहरु आदिले देखेको भन्ने खुब सुनिएको थियो । झट्ट हेर्दा ठूलो आकारको वनमान्छे जस्तो शरीरभरी सेता रौँले ढाकिएको, हेर्दा डरलाग्दो देखिएता पनि मानिसहरुलाई नोक्सान नपुर्याउने, ज्यादै अप्ठ्यारो र सितिमिति मानिसहरु पुग्न नसक्ने ठाउँमा बस्ने र दिनमा भन्दा रातमा हिँडडुल गर्ने हुनाले भाग्यमानीले मात्रै देख्न सक्ने एउटा अद्भुत जीव भनेर त्यो बेलामा खुब चर्चा भएको थियो ।

यतिको पाइला देख्ने, त्यसको नापको बारेमा लेख्ने त निकै भए । कतिले यति नै देखेको बयान पनि गरे । कतिले यति फेला पार्नकै लागि एक्स्पिीडिसनहरु नै गरे । कतिले यसलाइ देवताको रुपमा बयान गरे । कतिले आफ्नो गोठ र चरणका याक चौँरी भेँडा च्याङ्ग्रा आदि मारेको दोषारोपण गरेर यतिलाइ दानवीकरण पनि गरे । धेरै चर्चा खोजी हल्ला हुँदा पनि यतिको अस्तित्व भने खासै पुष्टि हुन सकेन । त्यति भएपनि यतिको बारेमा संसारभरी नै व्यापक प्रचार प्रसार हुन पुग्यो । यसले हाम्रो पर्यटन व्यवसायमा ठूलो प्रगति हुनमा मद्दत चाहीँ पुग्न गएकै हो । त्यसपछि यतिको नाममा होटलहरु, ट्राभल एजेन्सीहरु, रेस्टुरेन्टहरु बग्रेल्ति खुले र विदेशतिर पनि यतिको नाममा नेपालीहरुले प्रसस्त रेस्टुरेन्टहरु खोलेर राम्रो कमाइ गरेर रमाइ रहेका छन् । हाम्रो पर्यटन व्यवसायमा यतिको आशिर्वादले सबैको भलो गरेको छ । त्यसो भएर अहिले पनि यतिलाइ अदृश्य शक्तिको रुपमा पूजा र भक्ति गरिन्छ’, हातमा बदाम खेलाउँदै सरोजले भन्यो ।

सबैले ध्यान दिएर र निकै चाख लिएर सुने । ‘त्यसै भएर त अहिले पनि पर्यटन लगायतका व्यापारमा यति नामको त्यति ठूलो आशिर्वाद रहेछ त’, प्रेमले आश्चर्य माने जस्तो गरेर भन्यो ।

‘अहिले त व्यापारमा मात्रै होइन राजनीतिमा समेत पनि अपार किसिमले यो नामको व्यापक प्रयोग भएको पाइन्छ’, हरिषले बदाम छोडाउँदै भन्यो ।

‘यतिको आशिर्वाद भएपछि र व्यवसायमा यतिको नाम सहि तरिकाले गएपछि छोटो समयमा निकै मोटो कमाइ गरेर हिजोको च्यातिएको भोटो फेर्नेहरु धेरै छन् । यतिलाइ भगवानको रुपमा बुभ्mने र सँधै धुप धुँवार गरेर पुज्नेहरु नै अहिले हरेक क्षेत्रमा सफल भएका र आपूmले सोचे अनुसार गएका छन्’, बदामको नयाँ पोको खोल्दै सरोजले भन्यो ।

यिनिहरु विभिन्न ठाउँ र गाउँबाट आएर बसेका साथीहरु । कोही सानैदेखि चिनाजानी भएका कोही नयाँ वस्तीमा बसोबास सुरु गरेपछि एकअर्कामा चिनिएका । अघिपछि सबैजना आ–आप्mनो काममा व्यस्त हुने हुनाले शनिवार बिदाको दिन भने यिनिहरु भेट भएर कहिले तास खेल्ने, कहिले घुम्न हिँड्ने, कहिले यसैगरी गफ गरेर बस्ने आदि गरेर दिन बिताउने गर्छन् । आज चाहीँ जाडोको कारणले यिनिहरु घाम तापेर भुटेको बदाम खाँदै दिन कटाउँदै छन् । जाडो याममा यिनिहरुको बिदा अक्सर गरी यसरी नै कट्छ र साँझ परेपछि यतैबाट यिनिहरु मध्ये धेरैजसोको गन्तव्य कुनै रेष्टुरेन्टतिर हुन्छ ।

‘भनेपछि यतिको आशिर्वाद त ज्यादै असरदार पो हुने रहेछ, होइन त ?’ यतिको बारेमा त्यति नबुझेको पे्रमले सोध्यो ।

‘उति माथि कुरा गर्यो कुन्नि के भने जस्तो यो पनि के कुरा गर्छ । यतिकै आशिर्वादले मानिसहरु सरकारको प्रधान, त्यो भन्दा तलको मन्त्री, राज्यको ढुकुटी सञ्चालन गर्ने र प्रत्येक सहिछापमा करोडौँ झर्ने ठाउँको हाकिम आदिमा पुग्ने रहेछन् भनेपछि त्यसभन्दा झिनामसिना ठाउँको कुरा गर्नु त बेकारै छ नि । खुला दिलले यतिको पूजापाठ गर्ने सबैलाइ ठूलो फलिफाप भएको देखिएको हुनाले हालसालै खडा भएपनि यि भन्दा कडा भगवान त आजसम्म देखिएका छैनन् रे भन्ने पनि छन् । तर मैले चाहीँ राम्रोसँग बुझेको छैन । नबुझेको कुरामा धेरै नबोल्नु नै राम्रो’, हरिषले भन्यो ।

‘त्यति ठूला ठूला पदमा हुने नियुक्तिमा यतिको के को सम्बन्ध होला र ? मैले त केही बुझिनँ’, प्रेमले फेरि सोध्यो ।

‘तँ पनि उस्तै छस् । यतिको भक्तिबाट शक्ति आर्जन भएपछि चाहेको पदमा आपूm र आफन्तहरुलाइ नियुक्ति गर्न सकेपछि अरुतिर ध्यान दिएर ज्यान फाल्नै नपर्ने रहेछ । त्यहि भएर अहिले यतिलाइ नै सबैभन्दा शक्तिशाली भगवानको रुपमा पूजिएको जस्तो लाग्यो मलाइ त । हुन पनि यो नामसँग् गाँसिएका र भक्ति गरेर टाँसिएका सबैको आर्थिक र राजनैतिक हैसियत कति माथि पुगिसक्यो रे भन्ने सुनिन्छ’, सरोजले भन्यो ।

‘बल्ल अहिले चाहीँ मैले पनि अलि अलि यतिको बारेमा बुझेँ । यतिको आशिर्वादले त्यति राम्रो फलिफाप हुने भए हामी पनि यतिकै पूजाआजातिर लाग्न सके मजाले नोटको खाजा खान सकिने थियो होला हैन त साथी हो ?’ भनेर प्रेम बदाम खान थाल्यो ।

‘यतिको पूजा गरेर आशिर्वाद पाउन पूmल प्रसाद बोकेर धाउन पर्दैन । यसको पूजा अरु भगवानलाइ जस्तो लड्डु पेडा चढाएर र बोका राँगा लडाएर पनि हुँदैन । बुझिस् त पे्रम?’ बदाम छोडाउँदा लुगातिर लागेको धुलो दवै हातले टक्टकाउँदै सरोजले भन्यो ।

‘तेरा कुराले म त फेरि अलमलिएँ’, बदामको पोकोतिर हात लैजाँदै प्रेमले भन्यो ।

‘ल सुन् । यसको पूजाविधिको बारेमा पत्रपत्रिकाहरुमा पढेको छैनस् र तैँले ? यसलाइ पूजा गरेर खुशी पार्न र आशिर्वादले चारैतिरबाट नगद झार्न यसलाइ ठूलो क्षेत्रफल भएको सरकारी जग्गाहरु कौडीको भाउमा यसका पुजारीहरुले चाहेको अवधीसम्म लगभग उनीहरुले सिज गरे सरह लिजमा चढाउन पर्छ । राजधानी र अन्य ठूला शहरहरुमा भएका घर महल कप्लेक्सहरुलाइ पनि यति भगवानका पुजारीहरुको चाहना अनुसार मिल्दो किसिमका बहाना बनाएर र लगभग सित्तैजस्तो दरभाउमा उनीहरुलाई उपभोग गर्न मन लागेको समयसम्म बिना प्रतिस्पर्धा भाडामा दिन पर्छ । सरकारी सम्पत्ति भएपनि प्रयोगको अवधी पुजारीहरुले भनेजति र भाडादर उनीहरुको इच्छाले सरकारलाइ गने जति लिने लिने सुबिधा उपलब्ध हुन पर्छ । उनीहरुले जुन ठाउँको घरजग्गा र अरु जमिन चाहियो भन्छन् त्यसलाइ सरकारले यति उति नभनिकन उसले जति दिन्छ त्यतिमा हात थाप्ने बाहेक अरु उपाय नभए जस्तो देखिन्छ । भनेपछि तँ हामीले कसरी यति भगवानको पुजा गर्न सक्छौँ ?’ सरोजले अलि प्रष्ट पार्यो ।

‘सरकारी नियम कानुन त सबैलाइ एउटै हुन्छ भन्ने हामीले सानैदेखि सुन्दै आएका थियौँ । यसमा चाहीँ किन अलि फरक भएजस्तो लाग्यो नि ?’ प्रेमले फेरि सोध्यो ।

‘विशेष समय, विशेष परिस्थिति, विशेष अवस्था, विशेष व्यक्ति, विशेष समूह आदिको लागि विशेष व्यवस्था गर्ने प्रावधान त सँधै खुला राखिएको हुन्छ नि । त्यसलाइ बाधा अड्काउ फुकाउने र त्यो निर्णयबाट भएको फाइदा लुकाउने बुँदाको रुपमा पहिले देखिनै प्रयोग गरिँदै आएको हामी सबैलाइ थाहा भएकै कुरा हो नि’, सरोजले बतायो ।

‘यसरी दिनेलाइ के फाइदा हुन्छ त ?’ नबुझेरै होकि नबुझे जस्तो गरेर हो हरिषले सोध्यो ।

‘आपूm शक्तिमा आउनु भन्दा अघि देखिनै यति भगवानको भक्ति गर्दै आउनेहरुले ठूलो आशिर्वाद पाएका छन् र अहिले सबैलाइ थर्काएर खाएका छन् । धेरै अगाडिदेखि चुनावमा आवश्यक पर्ने मध्ये धेरै हिस्साको खर्च, विदेशमा गरिने उपचार खर्च, विदेश भ्रमणमा लागेको खर्च, विदेश भ्रमणमा गरिने सपिङ्ग र महँगा उपहारहरु खरिद गर्दाको खर्च, आप्mनो विरोधमा लाग्नेहरुलाइ खरिद गर्ने खर्च, आपूm शक्तिबाट हटेपछि पनि निरन्तर रुपमा आवश्यक पर्ने खर्चको व्यवस्थाको साथै सरकारी घरजग्गामा गरिने कारोवारमा हिस्सेदारी र उपलब्ध गराएकोमा कमिसन आउने अनि हजार लाख र करोडमा होइन अरबमा पाउने भएपछि यो भन्दा गतिलो प्रसाद र आशिर्वाद अरु के हुन्छ र ?’ भनेर सरोजले एक फाँको बदाम मुखमा हाल्यो ।

‘यसरी आशिर्वाद पाउने एउटा मात्रै हो कि समूह नै छ त ?’ बदाम छोडाउँदै प्रेमले सोध्यो ।

‘सरकारी घरजग्गा निश्चित अवधिको लागि भाडामा वा लिजमा दिने कार्यको लागि विभिन्न तहका सरकारी पदाधिकारीहरुको समितिहरु विभिन्न तहमा बनेका हुन्छन् । यसमा पनि नभएको होइन तर यसमा चाहीँ अलि फरक व्यवस्था गरिएको रहेछ’, भनेर सरोज बदाम खान थाल्यो ।

‘कस्तो फरक ?’ प्रेमले नछोड्ने भयो ।

‘फरक कस्तो भने, यसमा चाहीँ समितिमा भएका पदेन अध्यक्ष्य र सदस्यहरुलाइ नियमावली संशोधन गरेर भएपनि फेरबदल गरि अनुकूलको वातावरण मिलाइएको रहेछ । यो ज्यादै राम्रो व्यवस्था हो । यति भगवानबाट आशिर्वाद र प्रसाद पाउने जस्तो पुनित कार्य सम्पन्न गर्नको लागि चालिएको कदम र थालिएको परिपाटी मलाइ त सारै राम्रो लाग्यो । समितिमा रहेर सही निर्णय लिन नसक्ने सरकारी मन्त्री र सचिवहरु जस्ता पदाधिकारीहरुलाइ हटाएर र उनीहरुको अधिकार घटाएर यति भगवानकै पुजारीहरुलाइ समितिमा ठाडो नियुक्ति दिएर आप्mनो हकमा सरकारी पदाधिकारीहरुको भन्दा पनि उम्दा निर्णय गर्ने गराउने अधिकार दिनु त अझ राम्रो र क्रान्तिकारी कदम हो भन्ने सबैको भनाइ छ । जसलाइ आवश्यक छ, जसले सञ्चालन गर्छ, जसले भाडा तिर्छ उसैलाइ सबै कुरा निर्धारण गर्न सक्ने गरी अधिकार दिनु र उसले प्रसाद स्वरुप जति दिन उचित ठान्छ हात थापेर त्यही लिनु जस्तो क्रान्तिकारी कार्य अरु हुनै सक्दैन । मलाइ बोल्न मात्रै लगाएर बदाम त तिमिहरुले सकेछौ त’, प्लास्टिकको थैलोको पिँधमा बाँकी रहेका एकदुईटा बदामका खोस्टा र दुईचार वटा डढेका साना बदामतिर हेर्दै सरोजले भन्यो ।

‘ तँ बोलेको बोल्यै गरिस् । हामि चाहीँ तेरो कुरा सुन्दै सही थाप्दै र बदाम खाँदै गर्यौँ । यसलाइ पनि यति भगवानकै आशिर्वाद मान्न पर्ला अब’, हरिषले भन्यो । सबैजना फेरि गललल्ल हाँसे ।

‘घाम जाने बेला पनि हुन लाग्यो । अब जाउँ’, प्रेमले भन्यो । लुगामा लागेका बदामका खोस्टा र धुलो टक्टकाएर झार्दै सबैजना उठे ।

पुस १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्