सुष्मिता रिजाल बारटेण्डरका रुपमा । तस्बिर : बर्षा शाह/देश सञ्चार

निक्खर सेतो सर्ट, त्यसमाथि खैरो कोट–पाइन्टमा सजिएकी उनी काठमाडौँ दरबारमार्गस्थित कासा लाउन्ज बारमा छिरिन्। सरासर काउन्टरमा गएर रजिस्टरमा हाजिर गरिन्। त्यसपछि लागिन् कासाको बारतर्फ। बेलुकाको पाँच बज्यो र उनको ड्युटी सुरु भयो। उनी हुन्, सुष्मिता रिजाल। २२ वर्षकी सुष्मिता कासा लाउन्ज बारकी बारटेण्डर हुन्।

धुम्बाराहीबाट उनी दरबारमार्ग हरेक दिन यही बेला आउँछिन् र काम सिध्याएर घर फर्किँदा मध्य रात कटिसकेको हुन्छ अर्थात अर्को बिहानीको साढे एक वा दुई बजिसक्छ। सुनसान हुँदै जाने रातमा कासा भरिभराउ हुँदै जान्छ र सुष्मिताको कामको चाप पनि बढ्छ।

उनले रेस्टुरेन्ट लाइनमा काम गर्न थालेकाे झण्डै पाँच वर्ष भयो र अधिकांश समय रातिकै ड्युटी पर्छ। पिआरका रुपमा काम सुरु गरेकी उनले बारटेण्डरका रुपमा काम गर्न थालेको एक वर्ष भयो। सहकर्मीहरुबाटै उनले बारटेण्डरको काम सिकेकी हुन्। थप कुरा उनले युट्युब हेरेर जानिन्।

अहिले प्लस टु पढ्दै गरेकी उनलाई सानैदेखि पढाइमा त्यति रुचि गएन। पढाइभन्दा सुष्मितालाई खेलकुद मन पर्ने। उनी तेक्वान्दो खेल्थिन्। तेक्वान्दोमा अघि बढ्न विभिन्न कारणले सकिनन् तर बारटेण्डरका रुपमा भने उनी सफल भएकी छन्, कुनै औपचारिक तालिम वा शिक्षा बिना पनि।

इजाजतपत्र लिएको बारबाट सामान्यतया मादक पेयपर्दाथहरु ग्राहकलाई प्रदान गर्ने व्यक्ति बारटेण्डर हुन्। उनीहरुले विभिन्न स्वादका ककटेल पेय बनाउँछन्। हरेक पेयको स्वाद फरक हुन्छ र उनीहरुले कस्तो भयो भनेर चाख्छन् पनि। बारटेण्डर पेय पदार्थसँग खेल्ने व्यक्ति हो। यो सीप सबैलाई आउँदैन तर पनि पेसाप्रति धेरैले राम्रो धारणा बनाएका छैनन् अझै पनि। त्यसमाथि महिला यो पेसामा हुनु अर्को अप्ठ्यारो कुरा हो । तर पछिल्ला वर्षहरुमा काठमाडौँमा सुष्मिता जस्तै महिला बारटेण्डरहरु बढ्न थालेका छन्।

परिवारको सहयोग

बुटवलको देवीनगरकी बासिन्दा हुन् सुष्मिता। उनका दाइ र भाइ छन्। दाइ वैदेशिक रोजगारीको क्रममा हाल दुबईमा छन् र भाइले सिभिल इन्जिनियरिङ गरिरहेका छन्। सानैदेखि भाइसँगै पढेकी उनलाई अझै याद छ, भाइ पहिलो हुँदा उनी पुछारमा आएकी थिइन् कक्षाको। तर खेलकुद र अरु क्रियाकलापमा राम्रो थिइन्।

बुवाआमाले दबाब दिएनन्। तर एसएलसीका बेला बुवाले राम्रोसँग पढ्न भने। उनले मेहनत गरिन् र नतिजा आयो, सुष्मिता पहिलो श्रेणीमा पास भइन्।

अहिलेसम्म पनि उनलाई बुवाआमाको सहयोग राम्रो छ। बारटेण्डरले के गर्नु पर्छ भन्ने उनको परिवारलाई थाहा छ। तर पनि आमाबुवाको सहयोग राम्रो छ। छोरी अर्को काम गर भनेका छैनन्। तर बेलाबेला ख्याल गर है भन्छन् बुवाआमाले।

सुष्मिताले भनिन्, ‘बुटवलमा त त्यस्तो लाउन्ज बारहरु खासै छैन। भए पनि १० बजेसम्म बन्द हुन्छ। यहाँ भने १० बजेपछि अझ कामको चाप बढ्छ। मेरो परिवारलाई बारटेण्डरले के–के गर्नु पर्छ भन्ने थाहा छ। बेला–बेला आफ्नो ख्याल गर्नु भन्नु हुन्छ बुवाआमाले तर यस्तो काम नगर भन्नु भएको छैन।’

सुष्मिताको दैनिकी

बेलुका पाँच बजे कासा पुगेर हाजिर गरेपछि उनी बारमा जान्छिन्। बार सफा गर्छिन्। त्यहाँ राख्नु पर्ने रक्सी, जुस लगायतका सामान राखेर बारलाई चिटिक्क पार्छिन्। उनका सहकर्मी अरु तीनजना छन्, सबै पुरुष। रात जति छिप्पिँदै जान्छ उनीहरुको काम थपिँदै जान्छ। सुष्मितासहितका बारटेण्डरहरु ग्राहकले मागेका पेय पर्दाथहरु भने अनुसारको स्वादको बनाएर दिन्छन्।

मध्यरातपछि ग्राहकको चाप केही कम हुँदै जान्छ र उनी त्यसपछि घर फर्कन्छिन् सुनसान सडक हुँदै। केही समय निदाउन खोजेपनि निद आउँदैन उनलाई घर पुगेपछि पनि। उनी निदाउँदा हरेक दिनले बिहानी टेकिसकेको हुन्छ। अरु दिनको काममा जाने बेला उनी मस्त निन्द्रामा हुन्छिन्।

कस्तो हुन्छ व्यवहार ?

रातिको काम त्यसमा पनि रक्सी लगायतका पेय पर्दाथसँग जोडिएको। ग्राहको माग अनुसार बनाएर दिनु पर्ने। रक्सीसहितका पेय पदार्थ मिलाउँदा सानो मात्रै गल्ती भयो भने पनि ग्राहकले मागे अनुसारको स्वादको हुँदैन।

यदि त्यस्तो भयो भने ग्राहकको व्यवहार नराम्रो हुने गरेको उनी बताउँछिन्। तर अहिलेसम्म सुष्मिताले साखै ठूलो घटनाको सामना गर्नु परेको छैन । तर केही ग्राहकले भने उनलाई नराम्रो दृष्टिले हेर्ने गर्छन्।

मादक पदार्थ सेवनपछि कहिलेकाहिँ भारतीय पाहुनाले ‘मेरे साथ जाओगी, कित्ना पैसा लोगी’ भन्ने गर्छन्। त्यस बेला नराम्रो लागे पनि ‘आइ एम बारटेण्डर, आइ एम नट…’ भनेर जवाफ दिने गरेको उनले सुनाइन्।

सुष्मिताले भनिन्, ‘कसैले अलि धेरै नै तनाव दियो भने बाउन्सर दाइहरुलाई भनिदिन्छु। उहाँहरुले बाहिर निकालिदिनुहुन्छ। अझ धेरै नै भयो भने त साहूलाई पनि भन्छौँ।’