डढेलोको त्रास रहे पनि सिड्नीमा नयाँ वर्षमा आतिशबाजी गरिने

सिड्नी – नयाँ वर्षलाई स्वागत गर्न हरेक वर्ष सिड्नीस्थित हार्बर ब्रिजमा गरिने विश्वप्रसिद्ध आतिशबाजी यो वर्ष पनि निरन्तरता दिइने सिड्नी सिटी काउन्सिलले जनाएको छ ।

यो वर्ष अस्ट्रेलियाको न्यू साउथ वेल्स लगायत अन्य राज्यमा डढेलोको प्रकोप रहेको तथा आगामी मंगलबारको तापक्रम अत्यधिक रहने पूर्वानुमान गरिएको हुनाले सरोकारवालाहरूसँगको छलफलपछि कुनै पनि वेला सो आतिशबाजीको कार्यक्रम रद्द हुने सम्भावना रहेको भनी एक पत्रिकाले समाचार प्रकाशित गरेपछि सिड्नी सिटी काउन्सिलले स्पष्टिकरण दिँदै उक्त कुरा उल्लेख गरेको हो ।

काउन्सिलले आगामी मंगलबार आयोजना गरिने उक्त आतिशबाजीलाई सुरक्षित तरिकाले सम्पन्न गर्न न्यू साउथ वेल्स सरकार तथा रुरल फायर सर्भिससँग सहकार्य गर्ने पनि बताएको छ ।

“हामीले आतिशबाजी रद्द गर्न सक्दैनौं । यसो गर्नाले प्रभावित समुदायलाई कुनै फाइदा गर्न सक्दैन । हामीले यसको तयारी १५ महिना अघिदेखि गरेका थियौं”, काउन्सिलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “आतिशबाजी कार्यक्रम रद्द गर्नाले सिड्नीका व्यवसायीलाई असर गर्नेछ । साथै देश विदेशबाट आएका हजारौं पर्यटकहरूको योजना प्रभावित हुनेछ ।”

काउन्सिलले डढेलोबाट प्रभावित समुदायको सहयोगका लागि करिब ६ लाख २० हजार अस्ट्रेलियन डलर अनुदान सहयोग गरिसकेको समेत जनाएको छ ।

पुस १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्