गोल्डमेडलिस्ट सन्तोषीको कीर्तिमानी यात्रा– ३

…अनि मलाई गोल्डमेडल जितेको बेकार लाग्यो

काठमाडौँ- हुन त मलाई पनि राम्रो प्रशिक्षकसँग ट्रेनिङ गर्न मन नभएको होइन। तर गुरुहरुले ट्रेनिङ गराउने समयमा मेरो फुर्सद नहुने। जतिबेला भन्यो त्यतिबेला मसँग समय पनि थिएन। म त अध्ययन र जागिर गर्दै दौड्ने रहर पूरा गरिरहेको सामान्य युवती।

अध्ययन र जागिर गरेर खेल्दा पनि म रित्तो हात फर्कनु परेको थिएन। कुनै प्रशिक्षकबिनै मैले सफलता हात पारिरहेको थिएँ। लक्ष्मण दाईले बेलाबखत दिने ‘ट्रेनिङ टिप्स’ले पनि  हरेक दौडमा दोस्रो/तेस्रो स्थान हात पारिरहेकै थियो।

साइन्सको विधार्थी भएकाले पढाईमा अलिक बढी फोकस हुनुपर्ने।  म व्यावसायिक रनर र खेलाडी हो जस्तै लाग्दैन थियो। खेलाडी नै बन्ने रहर भएकाहरु विभाग वा विभागीय क्लबमा गएर आबद्ध हुन्थे। राम्रो गुरु खोजेर प्रशिक्षण गर्थे तर म ? म त आफ्नै तालको थिएँ। मन लाग्दा, आफ्नै खुशीका लागि दौडिने। पुरस्कार त बोनस थियो। लक्ष्य- हरेक पटक राम्रो र अघिल्लो समयभन्दा चाँडो दौड्न प्रयास गर्ने। दौड विशुद्ध मेरा लागि ‘प्यासन’ थियो।

एडिडास रन जितेपछि लगातार आइरहेको फोनले भने म दिक्क हुँदै थिएँ। जहिले ‘म तिमीलाई सिकाउँछु। राम्रो खेलाडी बनाउँछु’ भन्दै फोन आउने। म अनेक बहाना झिक्थेँ।

‘म कुद्न सक्दिँन। म खेलाडी नै होइन।’

‘म भ्याउँदिन। बेलुकासम्म क्लास हुन्छ।’

तर ती व्यक्तिले फोन गर्न छाडेनन्।

‘ त्यसो भए बेलुका नै प्रशिक्षण गराउँला नी।’

‘तिमिले जतिबेला भन्छौ त्यतिबेला मात्र प्रशिक्षण गरौँला।’

‘६ महिना मात्र हो। तिमिलाई एकपटक भेट्छु भेट्छु।’

र अन्त्यमा भन्नु भयो, ‘ म बिलिभर हो। तिमिमाथि मलाई विश्वास छ।’

मैले नभेटी सुख पाइन। तर अनेक आशंकाबीच। मलाई सबैभन्दा अचम्म त यो मान्छेले यतिधेरै जोडबल किन गरिरहेको छ, मैले समय छैन, भ्याउँदिन भन्दा पनि किन मेरो अनुकुलताअनुसार उ तयार छ भन्नेमा लाग्थ्यो। यतिधेरै मेरो पछि किन लागिरहेको छ, यसलाई के फाइदा हुन्छ ? यस्तै यस्तै लागिरह्यो। मेरो सोचमा कहिँकतै यो मान्छे मेरो आफन्त होला भन्ने थियो। किनभने त्यो मान्छेको कुरा गर्ने तरिका नै त्यस्तै थियो।

हामी कतै रेस्टुरेन्टमा भेट्यौँ। हेर्दै बुढोबुढो मान्छे। गफ यसरी सुरु गर्नु भयो की म नै ‘फनफनी’ घुम्न थालेँ। नेपालको खेलाडी र खेलकुदको इतिहासदेखि ओलम्पिकसम्म सबै थाहा भएको। हरेक चर्चित खेलाडी अनि उनीहरुका संघर्ष र सफलताका कथा फरर।

नेपाल र विश्वका धावकले विभिन्न समयमा निकालेका टाइमिङहरु कण्ठस्थ। एजुकेसन र स्पोर्ट्सलाई रिलेट गरेर यसरी भन्नु भयो कि म ‘इन्सपायर’ हुन थालिसकेको थिएँ। क्या बौद्धिक लाग्ने ! साँच्ची भन्ने हो भने त्यतिकुरा सिक्न मैले धेरै पुस्तक पढ्नु पर्थ्यो।

उहाँले तिमीलाई खेल्न स्पोन्सर  पनि गर्छु भन्नु भयो। म उहाँका हरेक कुराले अचम्मित हुँदै थिए। उहाँको कुराले डर पनि लागिरहेको थियो। ‘स्पोन्सर गर्छु पनि भन्छ। स्पोन्सर गरेपछि उसले भनेअनुसार चल्नु पर्ने हो कि’, मेरो मनमा खेलिरहेको थियो।

एक हिसाबले म उहाँसँग प्रशिक्षण गर्न तयार पनि हुँदै थिएँ। उहाँले त बैकुण्ठ मानन्धरलाई पनि प्रशिक्षण गराउनु भएको रहेछ। एथलेटिक्स संघको अध्यक्ष पनि भइसक्नु भएको रहेछ।

त्यतिबेलै मैले सोधेँको थिएँ- तपाईले मलाई नै किन छान्नु भयो ? उहाँ एक छिन चुप्प लागेर मुस्कुराउनु भयो।

‘भयो। यस्तै भयो। माथिबाटै (आकाशतिर हेर्दै) यस्तै भयो। (एकछिन रोकिएर)  म विलिबर हो। तिमिले राम्रो गर्न सक्छौ भन्ने लाग्यो।’

पटकपटक दोहोर्‍याउनु भयो- हामीसँग च्यालेन्जमात्र छैन अवसरहरु पनि प्रशस्त छन्।

केहीबेर पछि हुन्छ नी त ६ महिना मात्र हो भने म प्रशिक्षण गर्छु हजुरसँग भनेँ। उहाँले एक्कासी मलाई ‘तिमीलाई म ट्रेनिङ गराउँदिन’ भन्नु भयो। म छाँगाबाट झरेजस्तै भएँ। मैले गर्दिन भन्दा पो आनन्द तर मैले गर्छु भन्दाभन्दै अरुले रिजेक्ट गर्दा त नरमाइलो लाग्दो रहेछ।

करिब ३० सेकेण्ड रोकिएर ‘तिम्रो परिवारलाई भेटेर मात्र म ट्रेनिङ गराउन सुरु गर्छु’ भन्नुभयो। म यतिधेरै खुशी भएँ कि शब्दमा वर्णन गर्न सक्दिँन। उहाँमाथिका शंकाहरु एकपछि अर्को गरि हट्दै थिए। यो मान्छे ठिक छ भन्ने विश्वास बढ्दै थियो।

अनि मैले दाईलाई पनि उहाँसग भेटाएँ। दाईले पनि गुरु राम्रो हुनुहुन्छ भन्नुभयो। गुरुले सडकमा निकालेर ‘ ल तिमी दौड म स्कुटीमा पछ्याउँछु’ भन्नु भयो। गुरुलाई प्रभावित बनाउन पनि मैले कस्सिएर दौडिएँ। ल ठिक छ भन्नुभयो। बुबाआमा काठमाडौँ आउनु भएको थियो। उहाँहरुसँग गुरुलाई भेटाएँ। सम्बन्ध केलाउँदै जाँदा त गुरु मेरो बुवा र आमा दुवैतर्फ साइनो लाग्नु हुने रहेछ। मलाई अझ सजिलो भयो।

मैले गुरुसँग सिकेका हरेक कुरा क्यानडामा बस्नु हुने सुशिला दिदी (पहिलादेखि चिनेको)लाई सुनाउँथे। दिदीले जहिले पनि मलाई प्रोत्साहित गर्नु हुन्थ्यो। हरेकपटक राम्रो गर्दा तिमीलाई एउटा चक्लेट पठाई दिन्छु भन्नुहुन्थ्यो ( दुई वर्षअघि कुरा हुँदा अब त तपाईँले बोराका बोरा पठाउनु पर्ने भइसक्यो भनेको थिएँ। अहिले त ट्रकमै पठाउनुपर्छ भनेर हो कि, कुराकानी पनि हुन छाड्यो !)

उहाँले तिमीले ढिलो गुरु पायौ तर राम्रो मान्छे पायौ भन्नु हुन्थ्यो। ‘गुरु, मेरो ट्रेनिङ गर्ने समय ढिला भएको हो’ भनि सोध्थेँ। छैन भन्नुहुन्थ्यो।

मैले कपनमा एउटा दौड जितेको थिएँ।  त्यहाँ मैले २५ सय रुपैयाँ हालेर जुत्ता किनेको थिएँ। गुरुलाई भेट्दा जुत्ता केही पुरानो भइसकेको थियो। गुरुले जुत्ता हेर्दै ‘दिस इज डेड’ भनेर नयाँ किन्दिन्छु भन्नुभयो। म किन गुरुलाई किन्न लगाउनु भनेर २५ सय साथमा लिएर गएको थिएँ।

गुरुले एडिडासको स्वरुम छिराउनु भयो। म त जुत्ताको दाम सुनेर कालो न निलो भएँ। आफूसँग छ जम्मा २५ सय रुपैयाँ तर जुत्ताको दाम सुनिन्छ १५ हजार, २० हजार !

मलाई त एउटै कपडा अनि जुत्ता पनि लामो समय लगाउने बानी परेको थियो। बाटोमा हिँड्दा पनि जुत्ता र कपडाको पसलतिर हेर्दिन थिएँ। दुखमा कसरी चल्नुपर्छ भन्ने मलाई बानी परेको थियो। कुनै दिन खाना मिठो लागेन भनेर दाईले उदाहरण दिदै भन्नुहुन्थ्यो- सुडानमा पेटभरी खान नपाएको मान्छेलाई सम्झ। यसरी खाउ कि मैले १० वर्षदेखि खान पाएको छैन सम्झ !

त्यो दिन गुरुले १६ हजार लगाएर एडिडास जुत्ता किनिदिनु भयो। ३ हजारको त टिसर्ट मात्र। लगभग २०/२२ हजारको सपिङ भएको थियो होला। कलेजमा तीन चार दिनसम्म साथीहरुलाई सुनाउने विषय बनेको थियो। तर मलाई यसको चुक्ता कसरी गर्ने भन्नेले नै खुशीसँगै चिन्ता थपेको थियो।

‘ यत्रो सामानहरु किनिदिनु भएको छ। तिमीले जसरी पनि राम्रो गर्नुपर्छ’, साथीहरु भन्थे।

दौडमा सहभागी कसरी हुने होला, फर्म कसरी भर्ने होला भन्ने सानातिना समस्या हटिसकेका थिए, गुरुलाई भेटेपछि। किनभने कतिपय बेला त भेउ नपाएर दौड हुने अघिल्लो दिनसम्म पनि फर्म नभरेका घटना पनि निकै थिए।

‘यसलाई लग्यो भने हामी पछि परिहाल्छौँ नी’ भनेर विभागीय टोलीले छाडेर जाँदा मन कुँडिएका सम्झनाहरु पनि मसँग थिए। धरान रनमा नलगेपछि मैले एकपटक च्यालेन्ज नै गरेको थिएँ- तिमीहरुले नलगे पनि धरानमा आफ्नै प्रोजेक्ट लिएर आउने छु।

कान्तिपुर म्याराथन हुँदै थियो। म पाँच हजार मिटरमा पहिलो भएँ।  भोलिपल्ट धरानमा ‘धरान रन’ हुँदै थियो। गाडी चढेर जाँदा अबेर हुने। तर धरान रनमा दौडने रहर मेरो निकै पुरानो। कलेज पढ्दाताका एक दिन एउटा राष्ट्रिय दैनिकमा धरान रनबारे पुरा पृष्ठ समाचार आएको थियो। त्यहाँ त हरेक हप्तामा रन हुने रहेछ। अनि वर्षमा एउटा ठूलो रन। त्यहाँका मान्छेहरु कति इन्टेलेक्चुअल छन् भन्ने हुन्थ्यो।   यसको सामाजिक पक्षलाई बुझेपछि मैले दुई वर्षदेखि सहभागी हुने प्रयास गरेपनि सकिरहेको थिइनँ।

कहिले के नमिल्ने कहिले के ! मुख्य कुरा त कोसँग जाने अनि कसले लैजाने ? तर यसपटक गुरुले तिमी धरान रनमा पनि भाग लिन जाउ भनेर प्लेनको टिकट काटिदिनु भयो। ‘प्लेनमा जाने’ सुन्दैमा गुरुलाई हेरेर मेरा आँखा भरिएका थिए। दुईवटा विषय दुई महिना ट्युसन पढाउँदा २७ सय रुपैयाँ पाएर दंग हुने पनि म नै थिए।

हरेक पटक सार्वजनिक यातायातमा पाँच रुपैयाँ तिर्न कार्ड देखाउने पनि मै थिए। आज मेरो धरान रन दौड्ने सपना मात्र पूरा भइरहेको थिएन, पहिलोपटक प्लेन चढ्ने सौभाग्यसमेत प्राप्त भएको थियो। कान्तिपुर म्याराथनको थकान पुरै बिर्सिएँ। त्यतिधेरै टाढा एक्लै गएर खेल्नु मेरा लागि पहिलो अनुभव थियो। दुई वर्षअघि विभागीय खेलाडीलाई आफ्नै प्रोजेक्ट लिएर धरान आउँछु भन्दै गरेको च्यालेन्ज पनि पूरा हुँदै थियो।

धरान रनमा जब म ८ हजार मिटरमा पहिलो भएँ, सबै जना छक्क परे। यस्तो मान्छे कहाँबाट कसरी आयो भन्थे। खोजिनीति निकै भयो। म भने पहिलो भएबापत पाएको ३० हजार रुपैयाँ देखेर दंग थिए। यतिधेरै पैसा मैले दौडेर कहिल्यैपनि जितेको थिएन। त्यसपछि त केही किन्नु पर्‍यो भनेपनि गुरुभन्दा पहिला म अघि सर्न थालेँ। घरका समस्याहरु समाधान गर्न पनि दाईलाई धेरै सजिलो भयो।

मलाई प्यारो पढाई नै थियो। पढेरै म केही बन्छु भन्नेमा दृढ थिएँ। कहिले फिल्डमा जानुपर्ने अनि कहिले जागिरमा व्यस्त। गुरुलाई राम्रोसँग समय पनि दिन नपाउने। कहिले त पढाईको कामले गर्दा एक दुई महिनामा मात्र भेट हुन्थ्यो। बिहान ट्रेनिङ अनि कलेज अनि जागिर। मलाई समय निकाल्न सजिलो थिएन। दाई जहिले पनि युनिक बन भन्नुहुन्थ्यो। पढ्ने मान्छेले खेल्न सक्दैन, खेल्ने मान्छेले पढ्न सक्दैन भन्थे। पढाई उतिसारो राम्रो नभएपनि अगाडि बढिरहेकै थियो। जागिर पनि पाएको थिएँ। तर दौडमा भनेजस्तो टाइमिङ सुधार भइरहेको थिए। पछि पछि दौडिरहेको हुन्थेँ।

धेरैले मलाई यो सन्तोषी पैसाका लागि मात्र दौडन्छे, ट्रयाकमा समय दिदिँन पनि भन्थे। हुनपनि रोड रेसहरुमा मैले सफलताहरु प्राप्त गरिरहेको थिएँ। तर ट्रयाकमा भनेजस्तो सुधार हुन सकिरहेको थिइन।

पर्याप्त समय दिन नसकेको, समय सुधार नभएकाले ‘गुरुले के सोचिरहनु भएको होला, कत्ति दिक्क लाग्दो हो’ भन्ने लाग्थ्यो। कतिपटक उहाँलाई सोध्थेँ पनि। उहाँ विस्तारै राम्रो भइहाल्छ नी भन्नु हुन्थ्यो। सातौँ राष्ट्रिय खेलकुद सोचेजस्तो भएन। मैले कुनै मेडल जित्न सँकिन। विरामी पनि भएँ।

सन् २०१६ मा भारतमा दक्षिण एसियाली खेलकुद हुँदै थियो। त्यसअघि राष्ट्रिय प्रतियोगिता थियो।  म पाँच हजार र १५ सय मिटरमा दौडिएको थिएँ। पाँच हजारमा दोस्रो अनि १५ सयमा तेस्रो भएँ। मेरो र गुरुको रहर १० हजारमा दौडने थियो। तर अन्य गुरुहरुले १५ सयमा दौडन सल्लाह दिनु भएको थियो। पछि चाहीँ मलाई ‘चुकचुक’ भयो।

१० हजारमा दौडिएको भएँ त्यसमा दोस्रो हुन्थेँ कि ! दुई वटा इभेन्टमा दोस्रो हुँदा साग खेल्ने अवसर आउँथ्यो कि ! गुरुले यस्ता साग कति आउँछन् आउँछन् नी भनेर मेरो मन बुझाउने प्रयास गर्नु भयो। त्यसको केही समयमा भुटानमा क्रसकन्ट्री हुँदै थियो। मैले जान पाउँला भनेर निकै आशा पनि गरेको थिएँ। तर दोस्रो भएको मलाई लगिएन, तेस्रो/चौथो हुनेहरुले अवसर पाए। म क्रसकन्ट्रीमा निकै राम्रो छु जस्तो लाग्थ्यो। रोड रेसमा त मैले मिरा राईलाई समेत पछाडि पारेको थिएँ। उकालो ओरालोमा म राम्रो दौडन सक्थेँ। तर खै किन हो ! लगिएन।

इन्डोनेसियाको एसियन गेम्समा पनि त्यस्तै भयो। अगाडि भएको राष्ट्रिय प्रतियोगिताको नतिजाका आधारमा क्लोज क्याम्प राखियो। पहिलो हुनेहरुलाई क्लोज क्याम्पमा राखिएको थियो। म दोस्रो/तेस्रो हुन्थेँ। पहिलो हुन सकिरहेको थिइन। तर त्यतिबेला म निकै फर्ममा थिएँ। मिहेनत पनि निकै बढेको थियो। गुरुलाई पनि सक्दो समय दिन थालेको थिएँ।

तर एसियन गेम्सका लागि छनोट प्रतियोगिता राखिएन। गुरुहरुले टाइम ट्रायल दिन चाहीँ बोलाउनु भएको थियो। त्यतिबेला ८ सय मिटरमा राष्ट्रिय च्याम्पियन हुने दिदी र मैले निकालेको समय लगभग उस्तै थियो। गुरुहरुले एकअर्कालाई हेरेर ‘मुखामुख’ गरेको याद अझै ताजै छ। तर खेलाडी पहिला नै छनोट भइसकेकाले मैले निकालेको समय व्यर्थ थियो। म जुनसुकै स्पर्धामा दौडँदा पनि मनैदेखि दौडन्थेँ।

त्यसपछि जापानको तामुरा सिटी र नेपाल ओलम्पिक कमिटीबीच भएको सहकार्यमा मैले जापानमा प्रशिक्षण गर्ने अवसर पाएँ। त्यहाँ एउटा रोड रेस पनि भएको थियो। मलाई गेस्ट रनरका रुपमा दौडन आग्रह गरियो। पछि, म महिला खेलाडीमध्ये पहिलो भएँ। खुब तारिफ भयो।

मलाई प्रशिक्षण गर्न सजिलो थिएन। दशरथ रंगशाला बन्द थियो। विभागीय क्लबको ट्रयाकमा दौडन सजिलो थिएन। त्यहाँ छिर्न नै समस्या । कहिले सडकमा दौडन्थेँ त कहिले रानीबारीको जंगलमा। विभागीय क्लबहरुले मलाई आबद्ध गर्न प्रयास नगरेका पनि होइनन्। तर मलाई सबैभन्दा ठूलो चिन्ता त पढाई बिग्रेला, मैले भनेको समयमा आफ्नो काम गर्न नपाउँला भन्ने थियो। घरबाट पनि जागिर खाउ जागिर खाउ भन्ने आग्रह गरिरहने। मजाक मजाकमै हाम्रो विवाद नै हुन्थ्यो।

‘ ३० वर्षपछि पैसा कमाइन भनेँ कराउनु होला’

‘ ३० वर्षपछि त उमेर गइहाल्छ नी ?’

‘ लोकसेवा छँदै छ नी।’

दाईले भने आफ्नो इच्छाअनुसार गर भन्नुहुन्थ्यो। मलाई विभागका खेलाडीले हेर्ने दुई वटा दृष्टीकोण थिए। पहिला यो सिभिलियन हो, यसलाई मोज छ भन्थे। खेलेपनि भो, नखेले पनि भो। जिते पनि भो/नजिते पनि भो। आएपनि भो नआए पनि। कसैको दबाब छैन। आफ्नो इच्छाअनुसार खेले हुन्छ भन्थे।

अर्को दृष्टीकोण भने मप्रति दयाभाव प्रकारको थियो। उनीहरु भन्थे- हामीलाई पो खेल्दिए भयो सबै विभागले म्यानेज गरिहाल्छ। यसलाई त सबै कुरा आफैले म्यानेज गर्नुपर्छ। पढ, जागिर खाउ अनि खेल। कम्ता गाह्रो छ। दुवै दृष्टीकोण आ-आफ्नो ठाउँमा ठिकै थिए।

खासमा म खेलाडी नै बन्छु भनेर लागेको भए त्यही अनुसार हुन्थ्यो होला तर म !

म मास्टर्स पढ्न सुरु गरिसकेको थिएँ, आठौँ राष्ट्रिय खेलकुद आउँदै थियो। गुरुले अब जागिर छाडदेउ आठौँमा केन्द्रित हुनुपर्छ भन्नुभयो। म निकै फर्ममा थिएँ। गुरुले यसपटक सन्तोषीले एउटा गोल्ड जित्छे भनेर मलाई हौस्याई रहनु हुन्थ्यो। जागिरबाट पनि राम्रै पैसा आउँथ्यो-महिनाको ३५/४० हजार। तर यसपटक मैले गुरुको सपना साकार पार्नु थियो।

काठमाडौँबाट जिल्ला छनोट खेलेँ। प्रदेश छनोट चितवनमा भयो। पाँच हजार र १० हजार मिटरमा पहिलो भएर मैले प्रदेश-३ बाट आठौँ राष्ट्रिय खेलकुदमा छनोट भएँ। गुरुको मन्त्र नै थियो- ‘बी बोल्ड, फायर द ट्रयाक एन्ड ब्लेज त ट्रयाक’

१३ औँ दक्षिण एसियाली खेलकुल–सागमा १० हजार मिटर दौडमा महिला तर्फ स्वर्ण पदक जितेकी सन्तोषी श्रेष्ठ । तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार

उहाँले पाँच हजार र १० हजार मिटरमा मलाई कुदाउन चाहनु भएको थियो। तर अन्य गुरुहरुको इच्छा १५ सय र ५ हजार मिटरमा दौडियोस् भन्ने थियो। पहिलो स्पर्धा थियो – १० हजार मिटर। मैले निकै समयसम्म अग्रता लिएको थिएँ। जब १५ सय मिटर जति बाँकी थियो, स्पीड बढाउँ भनेको अगाडी रहेको खेलाडीले त्यो बुझेर उहाँले पनि स्पीड बढाउनु भयो।

म हल्का अल्झिएँ तर नियन्त्रणमा आइसक्दा म निकै पछाडि परिसकेको थिएँ। म त्यत्तिकै शिथिल भएँ। लाग्यो- अब स्वर्ण जित्न मेरो केही चल्दैन। तेस्रो भएँ। तर त्यो दिन टाउको हनहनी दुख्यो।

गुरुलाई सुनाउँ भन्दा तेस्रो भएपछि टाउको दुख्यो भनेर नाटक गरि भन्नुहुन्छ जस्तो लाग्यो। भोलिपल्ट १५ सय मिटरको स्पर्धा थियो। गुरुको चाहना यसमा थिएन। बेलुका सरसल्लाह भयो, हाम्रो क्षेत्रबाट अरु खेलाडीको नाम नभएकाले मैले नै दौडनु पर्ने भयो।

बिहान गुरुले सबैलाई जितको शुभकामना दिनु भयो तर मलाई !  पाँच हजार मिटरका लागि राम्रो तयारी हुन्छ भन्नुभयो। खासमा उहाँले १५ सय मिटरमा मबाट अपेक्षा नै गर्नु भएको थिएन। हुनपनि १५ सय मिटरमै केन्द्रित रहेर चार पाँच जना खेलाडीले राम्रो तयारी गरेका थिए। सरस्वती भट्टराईलगायत दिदीहरु दावेदार हुनुहुन्थ्यो।  तर झिनो अन्तरले म दोस्रो भएँ। अरु खेलाडीहरु विश्वास गर्न सकिरहेका थिएनन्। ममाथि अनेक आशंकाहरु गर्न थाले।

‘कसरी यो दोस्रो हुन सकि ? कसरी यति चाँडो दौडन सकि ?’लगायत।

मेरो मन साह्रै दुखेको थियो। राम्रो तयारी गरेर सफलता हात पार्दा अचम्मित हुनुपर्ने के छ र ? म पनि कम्तिमा एउटा स्वर्ण जित्छु भनेर सहभागी भएको थिएँ।

विभागबाहेकको खेलाडीले चाहीँ जित्ने नहुने हो र ? यस्तै यस्तै लागिरह्यो।

एक दिनको विश्रामपछि ५ हजार मिटरको स्पर्धा थियो। विश्वरुपा दिदी निकै राम्रो हुनुहुन्थ्यो। १० हजार मिटरमा जस्तो गल्ती मैले यसपटक गरिँन। मेरो रणनीति थियो- सुरुमा फलो गर्ने र अन्तिममा स्पीड लिने। मैले धेरै ग्याप नराखी फलो गरिरहेँ। अन्तिम दुई ल्याप बाँकी हुँदा मैले स्पीड लिएँ। हैट ! पहिलो पो भएँ। टाइमिङ हेरेको, नयाँ राष्ट्रिय कीर्तिमान थियो।

तर एकाएक विवाद उठ्यो- पाँच हजारका लागि राउन्ड पुगेन। समय हेर्दा मलाई पनि लागेको थियो-यसमा राउन्ड पुगेको छैन, त्यति फास्ट त कुदेको थिइन तर कसरी राष्ट्रिय कीर्तिमान भयो ? तर राउन्ड पुर्‍याउने जिम्मा त मेरो थिएनन नी ! दुरी नाप्ने काम त मेरो हैन नी ! तर वातावरण निकै खल्लो भयो।

एक त, सिभिल खेलाडीले जितेको छ, विभागीय खेलाडीहरु छक्क पर्ने नै भए अनि अनेक शंका पनि। त्यसमा दूरी नपुगेपछि ! बरु चार राउन्ड बढी दौडाएर दिएको भएपनि हुन्थ्योजस्तो लाग्यो। निकै खल्लो भयो। गोल्ड मेडलको पनि सेलिब्रेसन गर्न पाइएन। बेकार कुदिछु जस्तो भयो बेकार दौडिछु जस्तो भयो। त्यो दिन वास्तवमै मलाई यो फिल्ड किन रोजे छु नी जस्तै भएको थियो। बरु दोस्रो भएको भए हुनेथियो झैँ भयो।

(नेपालमा हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुल–सागमा १० हजार मिटर दौडमा महिलातर्फ स्वर्ण पदक जितेकी सन्तोषी श्रेष्ठसँग देश सञ्चारका लोकेन्द्र प्रसाईले विस्तृत कुराकानी गरेर ‘गोल्डमेडलिस्ट सन्तोषीको कीर्तिमानी यात्रा’ शृङ्खला तयार पारेका छन्। यो तेस्रो भाग हो । सन्तोषीका बाँकी कथाहरु क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।)

पुस १४, २०७६ मा प्रकाशित