हिमपात र चिसो नभनी स्थानीयले बनाए विद्यालय भवन

सिमकोट – हिमपातका कारण हुम्लामा चिसो अत्याधिक बढेको छ । तापक्रम माइनसमा पुगेको छ । तर उत्तरी हुम्लाका बासिन्दाले विद्यालय भवन बनाउन भने रोकेनन् । निर्धारित समयमा काम सम्पन्न गर्नु पर्ने भएपछि स्थानीय समुदायले चिसो नभनी दुई कोठे विद्यालय भवन बनाएका हुन् ।

सिमकोट गाउँपालिका वडा नम्बर ३ को बरगाउँमा रहेको रलिङ माविका लागि दुई कोठे भवनको निर्माण कार्यको जिम्मा समुदायलाई दिइएको थियो । उनीहरुले हिमपात भै रहेकै अवस्थामा पनि काम रोकेनन् र त्यसकै परिणाम स्वरुप भवन निर्माण सम्पन्न भएको स्थानीय बहादुर लामाले बताए । हुम्लामा विकासे कामहरु हिउँदमा हिमपात कारण रोकिने गरेका छन् ।

तीन महिना अगाडि निर्माणको जिम्मा समुदायले पाएकोमा कामको सिजन सकिएपछि निर्र्माण कार्य सुरु गरिएको थियो । तर छोटो अवधिमा निर्माण समितिले भूकम्प प्रतिरोधी भवन निर्माणका गरेको हो । भवनका लागि ३४ लाख ७३ हजार ५९८ रुपैयाँ लागत लागेको छ ।

त्यसमध्ये २१ लाख ६३ हजार ५९८ रुपैयाँ गुड नेवर्स इन्टरनेस्नल नेपाल (जिएनआई) को सहयोग हो भने ११ लाख १५ हजार एलजियु र एक लाख ९५ हजार स्थानीय समुदायको जनश्रमदान रहेको जिएनआई जिल्ला संयाजक वीरेन्द्र चौधरीले बताए ।

पुस १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्