सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

विराटनगर – २९ वर्षीया महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत सुनसरीले आदेश गरेको छ।

सोमबार गिरीको तर्फबाट थप तीनजनाको थुनछेक बहस गरेपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ।

अदालतले गिरीबाट मुलुकीफौजदारी कार्यविधीसंहिता २०७४ को दफा ६८ बमोजिम दफा ७२ समेतलाई बिचार गरि ३ लाख रुपैया नेपाली धरौटी माग गरी सो रकम वा जायजेथा जमानत दिए तारेखमा राखी र धरौटी दिन नसके कानून बमोजिम थुनामा राखी मुद्धाको कार्वाही अघि बढाउन सोही संहिताको दफा ७९ बमोजिमको आदेश गरेको हो।

बयानका क्रममा गिरीले पीडित महिलाले लगाएको आरोप झुठो भएको र रेकर्ड गरिएको टेपसमेत आफ्नो नभएको भन्दै बचाव गर्दै आएका थिए।
गिरीविरुद्ध उनकै एक २९ वर्षिया महिला अनुयायीले कार्तिक ४ गते बलात्कार गरेको आरोप लगाएकी थिइन्।

पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको जनाउदै विराटनगरस्थित विराटनगर अस्पताल प्रालिको क्याविनमा उपचारका लागि भर्ना भएका थिए । सुनसरी प्रहरीले गिरीलाई गत मंसिर १६ गते विहान ५ बजे अस्पतालबाटै पक्राउ गरेको थियो।

यसक्रममा अदालतमा सरकारी वकिलको कार्यालय इनरुवाबाट जिल्ला न्यायाधीवक्ता गोकुल निरौलासहित ६ जना र र पीडित महिलातर्फबाट ६ जनाले बयान सकेका थिए।त्यसैगरी वादीतर्फबाट ६ जनाले बयान सकेका थिए।

पुस १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्