विराटनगर विमानस्थलकाे ‘रनवे’लाई दाेब्बर बढाइने

मोरङ– विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि प्रदेश सरकारले काम गरिरहेको प्रदेश एक सरकारले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका क्रममा मंगलबार विराटनगरमा प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विमानस्थलको धावनमार्ग बढाउने पक्षमा सरकार रहेको बताए। मन्त्री कार्कीले हाल १ हजार ५ सय मिटर रहेको धावनमार्ग ३ हजार मिटरको हुनुपर्ने पक्षमा आफूहरु रहेको बताए।

विमानस्थल स्तरोन्नतिको संघारमा २ हजार ४ सय वा ३ हजार मिटर धावनमार्ग निर्माण हुने अन्यौलकाबीच मन्त्री कार्कीले ३ हजार मिटरमा आफूहरु रहेको बताएका हुन्।

मन्त्री कार्कीले स्तरोन्नति गर्दै विमानस्थललाई सुरक्षित बनाउन प्रदेश सरकार जुनसुकै दायित्व निर्वाह गर्दै साझेदारी गर्न तयार रहेको स्पष्ट पारेका थिए।

उनले हाल २ हजार ४ सय मिटरको धावन मार्ग निर्माण हुँदा जग्गा अधिग्रहण भने ३ हजार मिटरलाई नै लक्षित गर्नुपर्ने सुझाव दिए।

सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सके उद्योग व्यवसायमा थप लगानीको वातावरण निर्माण हुनेमा जोड दिए।

उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनु पर्नेमा जोड दिँदै उद्योगी राउतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सके लगानीका वातावरण थप हुन सक्ने बताए।

कार्यक्रममा विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले हाल विमानस्थल १ सय १५ विघा क्षेत्रफलमा फैलिएको बताए। त्यसैगरि, विमानस्थलमा एकैपटक ७२ सिट क्षमताको पाँचवटा जहाज राख्न मिल्ने वायुयान एप्रोन र धावनमार्ग रहेको उनले बताए।

विमानस्थलमा धावनमार्ग र एप्रोनलाई जोड्ने तीनवटा ट्याक्सी वे, आधुनिक प्रविधिमा आधारित वायुयान पथ प्रदर्शन उपकरण, रात्री उडान अवतरणका लागि आवश्यक एयरफिल्ड लाइटिङ सिस्टम रहेको जानकारी सिटौलाले दिए।

हाल नेपाल एयरलाइन्सले १, बुद्धले ७, यतिले ४, श्रीले ३ र सौर्यएयरका जहाजले २ गरेर विराटनगर–काठमाडौँ दैनिक १७ र काठमाडौं–विराटनगर १७ गरेर नियमति ३४ उडान हुने गरेको छ।

सन् २०१९ मा कुल ११ हजार ६ सय ३६ हवाई उडान र अवतरण भएको छ। जसमा ६ लाख ५२ हजार ४ सय ७ जना यात्रुले हवाई यातायात प्रयोग गरेको विमानस्थल तथ्यांक रहेको छ। एक वर्षको अवधिमा कार्गो मुभमेन्ट कूल ५९ हजार ९ सय ५५ किलोग्राम रहेको छ।

विराटनगर महानगरपालिकामा रहेको विमानस्थलमा २०२५ साल आसार ९ गतेबाट हवाई सेवा सुरु भएको हो।

पुस १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्