२० लाख पर्यटक भित्रिने दाबी

‘नेपाल भ्रमण वर्ष घोषणाका लागि घोषणा गरिएको कार्यक्रम होइन’

पाेखरा –  संघीय सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) देखि सुरु भएको छ । यसअघि सन् १९९८ र २०११ मा समेत नेपालले भ्रमण वर्ष मनाइएको थियो । गण्डकी प्रदेश सरकारले भ्रमण वर्ष कार्यान्वयनका लागि भन्दै पोखराबाट पनि उद्घाटन गर्ने भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका विभिन्न जातजातिका मौलिक झाँकीसहित फेवाकिनार बाराहीघाटस्थित एक कार्यक्रमका बिच शुभारम्भ गर्ने छन् ।

नेपालकै पर्यटनको राजधानी गण्डकीलाई बनाउनुपर्ने भन्दै संघीय सरकार समक्ष माग राख्दै आएको प्रदेश सरकारले भ्रमण वर्षमा के–कस्तो तयारी गरिरहेको छ ? कार्यक्रम कार्यान्वयनको महत्वपूर्ण निकाय स्थानीय तहलाई भ्रमण वर्षको योजनाले कसरी समेटेको छ ? कार्यक्रम घोषणा गर्ने तर न्यूनतम पूर्वाधारमा ध्यान नदिने सरकारी परिपाटी यसपटकको भ्रमण वर्ष योजनामार्फत क्रमभंग होला ?

विविध विषयमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसँग देश सञ्चारकर्मी ईश्वर देवकोटा कुराकानी गरेका छन् ।

भ्रमण वर्ष २०२० लाई सफल रुपमा कार्यान्वयन गर्न गण्डकी प्रदेशमा बढी जिम्मेवारी यहाँ र यहाँको मन्त्रालयमाथि छ । तयारी कसरी गरिरहनु भएको छ ?

नेपाल भ्रमण २०२० लाई उल्लाहसपूर्ण रुपमा मनाउनका लागि गण्डकी प्रदेशले योजना बनाइसकेको छ । नेपाल सरकारले घोषणा गरेको सबै कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नु प्रत्येक नेपालीको पनि उत्तिकै दायित्व रहन्छ । त्यसमा पनि नेपालकै पर्यटनको राजधानीको रुपमा रहेको गण्डकी प्रदेशले भ्रमण वर्षलाई सफल कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ । प्रदेश भित्रका ८५ वटै स्थानीय तह, ११ वटै जिल्ला समन्वय समिति, राजनीतिक दल, पर्यटन व्यवसायी, सरकारी तथा गैरसरकारी संघ, संस्था, शिक्षक, विद्यार्थी, सर्वसाधारण आम नागरिक लगायत समाजका सबै तह र तप्काका जनताहरुको उल्लेख्य सहभागिताका लागि निमन्त्रणा पठाइसकेका छौं ।

हामीले यो वर्षलाई उत्सवका रुपमा मनाउने सोच बनाएका छौं । नेपाल सरकारको भ्रमण वर्ष २०२० का साथै यही वर्षलाई गण्डकी प्रदेश सरकारले छिमेकी देशका पर्यटकहरुको आकर्षण वर्षका रुपमा समेत मनाउने गरी हामीहरु अगाडी बढेका छौं । यो वर्ष गण्डकी प्रदेश सरकारले छिमेकी मित्रराष्ट्र चीन र भारतका विभिन्न शहरमा पुगेर त्यहाँबाट घुम्ने चाहने पर्यटकहरुलाई नेपालसम्म ल्याइपुर्‍याउने गरी ‘टुरिजम सेल्स मिसन’ संचालन गर्ने सोचमा छौं ।

यसले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको छिमेकी देशका पर्यटक आकर्षण वर्ष २०२० दुवैलाई सफल बनाउन मद्दत पु¥याउने हामीले विश्वास लिएका छौं ।

सरकारले कार्यक्रम मात्रै घोषणा गर्ने तर पर्याप्त तयारीमा ध्यान नदिने, समन्वय पनि नगर्ने गुनासो सुनिन्छ नि ?

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको छिमेकी देशका पर्यटकहरुको आकर्षण वर्ष २०२० घोषणाका लागि घोषणा गरिएका कार्यक्रम मात्रै होइनन् ।

यी कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि हामीले प्रदेशस्तरमा भ्रमण वर्ष समिति गठन गरी सचिवालय समेत संचालन गरिसकेका छौं । त्यसैगरी गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लाहरुमा जिल्लास्तरीय समिति र स्थानीय तहहरुमा पनि पालिकास्तरीय समितिहरु गठन गरिसकेका छौं ।

गण्डकी प्रदेशमा आएका पर्यटकहरुलाई घुम्न सहज होस् भनेर हामीले प्रदेशभित्रका प्रमुख १ सय १० पर्यटकीय गन्तव्यहरुको नेपाली र अंग्रेजी दुवै भाषामा पुस्तक प्रकाशन गरेका छौं । ती प्रमुख गन्तव्य मध्ये ४४ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास र विस्तारका लागि प्याकेज कार्यक्रमका रुपमा चालु आर्थिक वर्षका लागि १७ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं ।

यसका अतिरिक्त संघीय सरकार र प्रदेश सरकारबाट अन्य थुप्रै पर्यटकीय गन्तव्यहरुको विकासका विभिन्न कामहरु भइरहेका छन् । भ्रमण वर्षको कार्यक्रम संचालनका लागि कार्यविधि बनाएका छौं । भ्रमण वर्षलाई लक्षित गर्दै हामीले प्रदेश नं. १, २, ३ र ५ का विभिन्न शहरमा पुगेर ‘टुरिजम सेल्स मिसन’ अभियान संचालन गरिसकेका छौं भने, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निकट भविष्यमा जाँदैछौं ।

यी सबै कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, सरकारी, गैरसकारी संघ, संस्था तथा नीजि क्षेत्रका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । हाम्रो तयारी र समन्वय कस्तो छ भन्ने विषय यसैबाट प्रष्ट हुन्छ, यस विषयमा थप टिप्पणी गर्नुपर्ला जस्तो मलाई लाग्दैन ।

यत्तिको तयारीले २० लाख पर्यटक भित्रिने आधारमा तपाई विश्वस्त हुनुहुन्छ ?

सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्रिने कुरामा हामी पूर्ण विश्वस्त छौं । गतसाल पनि १२ लाख भन्दा बढि पर्यटकहरु हाम्रो देश आएको कुरा तथ्यांकले देखाइसकेको छ ।

त्यसमा पनि गाडीबाट गुडेर आउने भारतीय पर्यटकहरुको संख्या पूर्णरुपमा माथिको अंकमा समावेश गर्न सकिए जस्तो मलाई लाग्दैन । यसरी आउनेहरुको संख्या पनि ठूलो छ । यसका साथै यही वर्ष मात्रै मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी जिङ फिङ र बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिद आउनु भयो । अरु थुप्रै देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु पनि आउने कार्यक्रम छ ।

यसले सम्बन्धित देशका पर्यटकहरुलाई नेपाल आउन सहज वातावरण सिर्जना गर्छ । स्थीर सरकार, शान्ति सुरक्षाको चुस्तदुरुस्त खालको व्यवस्थापन, पूर्वाधार निर्माणमा भएको द्रूतगतिको विकास आदि कारणले पनि यो वर्ष नेपालमा २० लाख मात्रै होइन त्यो भन्दा बढि नै पर्यटक आउँछन् भन्ने विषयमा म ढुक्क छु ।

प्रदेश आफैले पनि ११ वटा जिल्लाका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो । भ्रमण वर्ष लक्षित गरेर तिनीहरुको प्रचार कसरी भएको छ ? पूर्वाधार निर्माणमा मन्त्रालयको चासो छ कि छैन ?

गण्डकी प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा हाम्रो प्रदेशको समृद्धिको पहिलो आधार पर्यटनलाई नै मान्दै पर्यटन प्रबद्र्धनका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको कुरा यहाँहरु सबैमा सर्वविदितै छ । प्रदेश सरकारले गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार पर्यटन मानेपछि हाम्रो मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा प्रदेश भित्रका १ सय १० प्रमुख पर्यटकीय गन्तव्यहरु र अन्य सहायक गन्तव्यहरुको समेत सूचि तयार गरी पुस्तक प्रकाशन ग¥यौं ।

अहिले ती १ सय १० गन्तव्य मध्ये ४४ वटा गन्तव्यहरुको विकासका लागि एउटा गन्तव्यका लागि ४० लाखका दरले १७ करोड ६० लाख बजेट विनियोजन गरेका छौं । अहिले १ सय १० मध्येका एउटा जिल्लाबाट ४ वटा पर्ने गरी ४४ वटा गन्तव्यहरुको छनोटका लागि कार्यविधि मन्त्रिपरिषदबाट पारित भइसकेको अवस्था छ ।
चालु वर्षमा विनियोजित बजेटले भ्याउने सम्मको पूर्वाधार निर्माणको काम यसै वर्ष र बाँकी कामहरु पनि आगामी वर्ष हुँदै जान्छन् ।

पूर्वाधार निर्माणका साथै त्यस्ता पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि पनि अंग्रेजी र नेपाली भाषामा सचित्र पुस्तक प्रकाशन गरेका छौं । पर्चा, पम्प्लेट, स्टीकर, ब्रुसरहरु निर्माण गरेका छौं ।

विभिन्न निकायहरुसँगको सहकार्यमा त्यस्ता क्षेत्रको प्रचार प्रसारका लागि भिडियो तथा अडियो डकुमेन्ट्रिहरु तयार गर्ने, होमस्टेहरु मार्फत् त्यस्ता गन्तव्यहरुको प्रचार प्रसार गर्ने जस्ता कामहरु भइरहेका छन् ।

होमस्टेलाई प्रदेश सरकार आफैले पनि लगानी सहितको प्रवद्र्धन गरिरहेको छ । नतिजा कस्तो पाउनुभयो ? भ्रमण वर्षमा होमस्टेलाई कसरी जोड्नुहुन्छ ?

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र ३ सय सामुदायिक होमस्टे निर्माण गर्ने लक्ष्यका साथ पहिलो वर्ष ३० करोड रकम विनियोजन गरेका थियौं । पहिलो वर्ष प्रदेशभित्र स्थापना भएका होमस्टे मध्ये २ सय ७४ वटा सामुदायिक होमस्टेले प्रदेश सरकारको अनुदान प्राप्त गरी पूर्वाधार निर्माणका विभिन्न कामहरु समेत गरिसकेका छन् ।

२ सय ७४ वटा सामुदायिक होमस्टे मध्ये कुन होमस्टेले कति अनुदान पायो र त्यसबाट के–के काम भयो सो विषयलाई समेटेर मन्त्रालयले सामुदायिक होमस्टे दर्पण प्रकाशन गरेका छौं । चालु आर्थिक वर्षमा मन्त्रालयले सामुदायिक होमस्टेको प्रवद्र्धनका लागि २५ करोड रकम विनियोजन गरेको छ ।

यसबाट हामी केही नयाँ र केही विगतदेखि चलिरहेका होमस्टेको प्रवद्र्धनका लागि सामुदायिक होमस्टेमा पूर्वाधार निर्माण तथा सशक्तिकरणका कामहरु गर्दैछौं । प्रदेश सरकारले होमस्टेमा गरेको लगानीको राम्रो प्रभाव समुदायमा देखिन थालेको छ ।

गाउँघरका होमस्टेहरुमा पाहुनाहरु आउने जाने क्रम बढिरहेको छ । स्थानीय समुदायमा स्थापना भएका होमस्टेका कारण होमस्टे संचालकको मात्र नभई स्थानीय दुध, तरकारी, फलफूल तथा मासुजन्य वस्तुहरु उत्पादन गर्ने किसानहरुको आयआर्जनमा वृद्धि हुन थालेको छ ।

त्यति मात्र होइन राम्रो गाउन र नाँच्न जान्ने युवायुवतीहरुको समेत आयआर्जनको माध्यम बन्दै छ, होमस्टे । कतिपय होमस्टेहरुमा त महिनामै ३ देखि ४ हजार पाहुनाहरु आउने गरेको तथ्यांक हामीसँग छ ।

शहर केन्द्रित बसाइँसराइँका कारण खाली भएका गाउँघरका बस्तीहरु विस्तारै भरिदैँछन् । हराउँदै गएको पुरानो गीतसंगीत र संस्कृतिको संरक्षण हुन थालेको छ । यति मात्रै नभई, होमस्टेलाई लक्षित गरेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘होमस्टेमा अर्गानिक खेती कार्यक्रम’ नै अगाडि सारेको छ । कृषि विकास बैंकले होमस्टेका संचालकहरुलाई सहुलियत ब्याजदरमा प्रति परिवार २० लाखसम्म ऋण दिने व्यवस्था गरेको छ ।

प्रदेश सरकारले आफ्ना कर्मचारीहरु परिवार सहित होमस्टेमा घुम्न जाउन भनेर एक महिनाको तलब सुबिधा सहित १ हप्ताको ‘पर्यटन बिदा’ दिने कार्यक्रम ल्याएको छ । होमस्टेमा गरेको लगानीको प्रतिफलका लागि यस बाहेक थप पुष्टि गरिरहनु पर्ने ठाउँ छैन ।

भ्रमण वर्षमा आउने पाहुनाहरुलाई स्वागत गर्नका लागि अहिले हाम्रा होमस्टेहरु आतुर छन् । भ्रमण वर्षको अवसर पारेर आउने विदेशी तथा स्वदेशी पर्यटकहरुको स्वागत, सत्कार र सम्मानका लागि हाम्रा होमस्टेहरुले स्वागत गेट, तुल, ब्यानर टाँगिरहेका छन् ।

मौलिक भेषभुषा र संकृतिबाट होमस्टेमा आउने पाहुनाहरुलाई मोहित बनाउने गरी तयारी गरिरहेका छन् । हामीकहाँ आउने पर्यटकहरु यहाँ भएको ‘नेचर, कल्चर र एड्भन्चर’को आनन्द लिन हो ।

होमस्टेहरु यिनै पर्यटकीय गन्तव्यको छेउछाउमा नै रहेका छन् । त्यसैले पनि हामीलाई विश्वास छ, भ्रमण वर्षको अवसर पारेर आउने पर्यटकहरुमध्ये दृश्यवालोकनका लागि गएका पर्यटकहरु यिनै होमस्टेमा बस्नेछन्, खानेछन् र रमाउनेछन् । जसबाट स्थानीय समुदायको आयआर्जनमा टेवा पुग्नेछ ।

पुस १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू