नेकपा सरकारले एमसीसी संसदबाटै पास गर्नेछ भन्नेमा विश्वस्त छु: सभापति देउवा

माेरङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले महाधिवेशन मितिको अन्तिम निर्णय बहुमतबाटै हुने बताएका छन्।

महाधिवेशनको मिति बहुमतबाट तोकिएकोमा पार्टी पंक्ति भित्रैबाट तीव्र आलोचना भइरहँदा सभापति देउवाले बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग पार्टीको अन्तिम निर्णय बहुमतबाटै हुने स्पस्ट पारेका हुन्।

उनले भने, ‘महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बहुमतबाट तोकिएको हो। यसलाई आश्चर्यका रुपमा लिनु हुँदैन। पार्टीको निर्णय सबैले मान्नुपर्छ।’

कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट रहँदै गर्दा सभापति देउवाले आफू एकल वा सामूहिक रुपमा सो पक्षसँग प्रतिस्पर्धा गर्न तयार रहेको चेतावनी दिए। उनले सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन खोजिएको आराेप लगाए।

सोही क्रममा विवादास्पद बनेको काठमाडौँको कालिमाटी र नारायणहिटी जग्गा प्रकरणमा आफ्नो नाम मुछिएको भन्दै प्रमाण ल्याउन सभापति देउवाले चुनौति दिए। उनले नेपाल सरकारको ट्रष्टको जग्गा यति होल्डिङलाई उपलब्ध गराएको आरोप झुठो भएको दावी गरे।

आफ्नो कार्यकालमा कसले कहाँ के–के निर्णय गरे त्यसबारे सबै जानकारी नहुने भन्दै बचाउ गरेका देउवाले विवादास्पद घटनाबारे कुनैपनि हस्ताक्षर वा निर्णय नगरेको उल्लेख गरे।

त्यसैगरि ५५ अर्बको अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई नेकपा सरकारले संसदबाटै पास गर्नेमा उनी विश्वस्त देखिए। उनले भने, ‘ठूलो मात्रामा अनुदान रकम भित्रिने भएकोले पनि नेकपा सरकारले एमसीसी संसदबाटै पास गर्नेछ।’

पुस १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्