प्रदेश एकको राजधानी विराटनगरमा भ्रमण वर्षको उद्घाटन

मोरङ– प्रदेश एकको राजधानी विराटनगरमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरिएको छ।

बुधबार दिउँसो सुरु गरिएको भ्रमण वर्षको कार्यक्रममा विभिन्न जातजाति, समुदाय, विद्यालय, सुरक्षा निकायको प्रस्तुति रहेको थियो।

कार्यक्रममा मुख्यमन्त्री एवं भ्रमण वर्ष प्रदेश एकका संरक्षक शेरधन राईले आर्थिक समृद्धिका लागि यो वर्ष जग थाल्ने वर्षको रुपमा रहेको बताए।

प्रदेश एकमा मुलुककै होचोस्थान कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको भन्दै मुख्यमन्त्री राईले भ्रमण वर्षलाई भव्य र सभ्य रुपमा अघि बढाउन सबैले जुटेर अघि बढ्नु पर्नेमा जोड दिए।

नेपाल सरकारले तोकेको पर्यटकीय एक सय गन्तव्यमध्ये १६ प्रमुख गन्तव्य प्रदेश एकमा रहेको उल्लेख गर्दै उनले भ्रमण वर्षले रोजगारी, गरिबी निवारण, आर्थिक समृद्धिलाई समेत टेवा पुर्‍याउने विश्वास लिए।

उनले भने, ‘उत्कृष्ट १६ गन्तव्यसँगै प्रदेशमा भएका अन्य रमणीय, मनोरञ्जनात्मक पर्यटकीय क्षेत्रको पहिचान गर्दै भौतिक पूर्वाधार तयार गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ।’

त्यसैगरि कार्यक्रममा भारत पश्चिम बङ्गाल सिलगडीका ग्रामीण अभियन्ताका रुपमा चर्चित राज बासुले भ्रमण वर्षले दुई राष्ट्रबीच पर्यटनको दायरा फराकिलो बनाउने बताए।

भारतको गान्धी पर्यटन पुरस्कार २०१९ बाट पुरस्कृत र नेपाल भ्रमण वर्ष सन् १९९८ मा सम्मानित बासुले ग्रामीण पर्यटन प्रवर्द्धनका क्रममा निश्चित स्थानमा रेडपाण्डा सर्किट, हात्ती सर्किट बनाउन सकिनेमा जोड दिए।

त्यसैगरि, प्रदेश एकका वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियैतले भ्रमण वर्षभर पर्यटनको संख्या र बसाई बढाउने र रोजगार सृजना गर्नेतर्फ प्रदेश सरकार लक्षित रहेको बताए।

कार्यक्रममा प्रदेश एकले पर्यटन वर्षका लागि सद्भावनादूतका रुपमा ९ जनालाई सम्मान गरेको थियो।

सो क्रममा २४ पटक सगरमाथा सफलतापूर्वक आरोहण गरेका संखुवासभाका कामी रिता शेर्पा, मिसेज एशिया यूनिभर्स २०१७ धरानकी पिंकी राजगरहिया, त्यसैगरि ८ हजार मिटरभन्दा माथिको १४ वटा शिखर आरोहण गरेका संखुवासभाका मिङ्मा शेर्पा, सानु शेर्पा, छाङ्दवा शेर्पा, ताप्लेजुङका मिङमा ग्याल्बो शेर्पा, अल्ट्रा म्याराथन धाविका भोजपुरकी मिरा राई, मोरङ विराटनगरकी कलाकार दीपाश्री निरौला र नेपालकै अग्ला व्यक्ति ७ फुट ३ इन्च उचाइका सुनसरीका राजन अधिकारी रहेका थिए।

प्रदेश सरकारले एक वर्षसम्ममा ५ लाख पर्यटक भित्र्याउन लक्ष्यसहित कार्यक्रम भव्य बनाउने जनाए पनि परम्परागत शैलीकै नृत्य, झाँकी र हेलिकप्टरबाट पुष्पबृष्टि गराउदै उद्घाटन समापन गरेको छ।

पुस १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्