विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले घट्यो

ठूला व्यवसायिक विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा आधाले घटेको देखिएको छ ।

उड्डयन उद्योगमा गरिएको अध्ययन अनुसार सन् २०१९ मा सन् २०१८ मा भन्दा ठूला विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले कम भएको देखिएको हो ।

सन् २०१९ मा विश्वभरमा ठूला व्यवसायिक विमान दुर्घटनामा परेर २५७ जनाको ज्यान गएको उड्डयन कन्सलटेन्सी टू७० ले जनाएको छ । सन् २०१८ मा विश्वभरमा ५३४ जनाको ज्यान गएको थियो ।

गएको वर्ष भएको सबैभन्दा ठूलो दुर्घटनामा इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हो । मार्चमा भएको सो दुर्घटनापछि विश्वभर बोइङ्ग ७३७ म्याक्स विमान ग्राउण्डेड भएका छन् ।

सो दुर्घटनामा १५७ जनाको ज्यान गएको थियो, अर्थात सन् २०१९ मा ठूला विमान दुर्घटनामा परेर ज्यान गुमाउने मध्ये आधा भन्दा बढी इथियोपियन विमानमै सवार थिए ।

विश्वव्यापी रुपमा हवाई यात्रा गर्नेहरुको संख्या भने तीव्र गतिमा बढेको छ । तर दुर्घटनामा ज्यान गुमाउनेको संख्या कम हुनु सकारात्मक रहेको डच एभिएसन कन्सलटेन्ट एजेन्सी टू७० ले जनाएको छ ।

सन् २०१९ मा ठूला व्यवसायिक विमान दुर्घटनाका ८६ घटना भए र ८ दुर्घटनामा यात्रुको ज्यान गयो ।

सन् २०१९ मा ५.५८ मिलियन उडान भएको थियो । हवाई यात्राका हिसाबले वर्ष २०१९ सुरक्षित वर्षमा रुपमा देखिएको दुर्घटनाको निगरानी गर्ने वेबसाइट एभिएसन सेफ्टी नेटवर्कले जनाएको छ ।

सन् २०१८ मा विमान दुर्घटनाका १६० घटना भएका थिए र १३ दुर्घटनामा ५३४ जनाको ज्यान गएको थियो ।

पुस १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्