अध्ययन र अनुसन्धानका लागि स्वदेश फर्कँदै छन् नेपाली विज्ञहरु 

नेपालबाट ठूलो संख्यामा कर्मशील जनशक्ति विदेशी भूमिमा कार्यरत छन्। कति आफ्नो परिवारको उन्नति र जीविकाका लागि काम गरिरहेका छन् भने कतिपय समाज कसरी रुपान्तरण गर्न सकिन्छ भनेर पनि प्रयास गरिरहेका छन्। विश्वका विभिन्न स्थानमा काम गरिरहेका विज्ञहरुको समूह पनि ठूलो छ।

विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरुमा अध्ययन र अनुसन्धानको अनुभव सँगालेका र अहिले राम्रा संस्थाहरुमा कार्यरत केही विज्ञहरु नेपालमा आफ्नो विज्ञता स्थानान्तरण गर्न र उक्त विज्ञता यहाँको वृहत्तर हितका लागि प्रयोग गर्न योजना बनाइरहेका छन्। यसपटक त्यो योजना मस्तिष्क वा कागजमा मात्र सीमित छैन। व्यवहार र कार्यान्वयनमै उत्रिसकेको छ।

प्रदेश १ मा एउटा बहुशास्त्रीय अध्ययन तथा अनुसन्धान र विकास केन्द्र स्थापना गर्न त्यहाँको नेतृत्व र विदेशी विश्वविद्यालयका केही प्राध्यापकहरुको समूहले सम्झौता गरिसकेको छ। यसलाई केही महिनामै कार्यरुपमा ल्याउन विज्ञ र प्रदेश १ को नेतृत्व दुवै जुटिरहेका छन्। प्रवासमा रहेका विभिन्न विधाका विज्ञहरुबाट नेपालको नयाँ परिस्थितिमा एकै ठाउँमा जोडिएर केही योगदान दिन सकिन्छ भनेर प्रयासमा लागेका छन् उनीहरु।

हामीले चारजना विदेशी विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुसँग यही सन्दर्भमा कुराकानी गरेका छौँ।

अक्सफोर्ड विश्वविद्यालयमा पूर्वीय धर्म र नीतिशास्त्रका प्राध्यापक दिवाकर आचार्य, हिरोसिमा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विकास र समन्वयका प्राध्यापक केशवलाल महर्जन, टोक्यो विश्वविद्यालयमा न्युरोसर्जनका रुपमा कार्यरत लुसुन चालिसे र जापानकै जुन्तेन्दो विश्वविद्यालयका स्नायु विज्ञानका सहायक प्राध्यापक लक्ष्मीकुमार पराजुलीले विज्ञता स्थानान्तरणका उपाय र प्रदेश १ मा खुल्न लागेको संस्थाबारे जानकारी दिएका छन्।

प्राध्यापक दिवाकर आचार्य। तस्बिरहरु: बर्षा शाह

अक्सफोर्डका प्राध्यापक आचार्य नेपाल तथा दक्षिण एसियालगायतको प्राचीन धर्मदर्शन सभ्यता र तीसँग सम्बन्धित धरोहर र सम्पदा संरक्षणमा कार्यरत छन्। यससम्बन्धी एक अन्तर्राष्ट्रिय जर्नल पनि सम्पादन गर्छन् उनी।

विकासशील देशहरुमा खानाको उपलब्धता र अभाव तथा यसले निम्त्याएका समस्याबारे काम गरिरहेका छन् हिरोसिमा विश्वविद्यालयका प्राध्यापक केशवलाल महर्जन।

कसरी हाम्रो खेतहरु बाँझो नराखी सागसब्जी उत्पादन गर्न सकिन्छ र  यसका लागि कस्तो नीति चाहिन्छ भन्ने आधारभूत अनुसन्धान पनि श्रेष्ठको प्राथमिकता र रुचि हो। अहिले सुरु भएको प्रयासलाई सफल ठान्छन् महर्जन।

स्वास्थ्य दर्शनका क्षेत्रमा पनि काम गरिरहेको छ यो समूह। महर्जन भन्छन्, ‘खुराक नै औषधि हो। सन्तुलित भोजन खानु जरुरी छ। सबै किसिमको अन्न, गेडागुडी, सागपात खानु जरुरी छ।’  नेपालको तराईदेखि हिमालसम्म विभिन्न भौगोलिक अवस्थितिछ जहाँफरक-फरक छ सिजनमा विभिन्न किसिमका खाद्य पदार्थहरु पाइन्छ। सन्तुलित खानपान र स्वास्थ्य रहस्यबारे पनि नयाँ संस्थामार्फत काम गर्न सकिन्छ। ‘कृषि अर्थशास्त्रको उपयोगितालगायत थुप्रै काम छन्। ग्रामीण विकास र खाद्य सुरक्षालगायतका क्षेत्रमा काम गर्न सकिन्छ,’ महर्जन भन्छन्।

डा. लुसुन चालिसे स्नायुविज्ञानको अनुसन्धान र शल्यक्रिया दुवैमा संलग्न छन्। बेहोस नपारी बिरामीलाई शल्यक्रिया गर्दा उसको मस्तिष्कको कार्यक्षमताबारे थाहा पाइने ‘अवेक सर्जरी’ का विधामा उनको अनुसन्धान अघि बढेको छ, पछिल्लो समय।

प्राध्यापक केशवलाल महर्जन।

स्नायु शल्यचिकित्सक चालिसे विदेशमा काम गरे पनि नेपालसँग जोडिन मन लाग्ने, यहाँको संस्कृति प्यारो लाग्ने, आफ्नो ठाउँमा जाँदा रमाइलो लाग्ने आफ्नो अनुभव सुनाउँछन्। ‘त्यही भएर पनि म नेपालसँग जोडिन चाहन्छु,’ उनी भन्छन्, ‘नेपालका गाउँठाउँ र विकट स्थानका लागि म मद्दत गर्न चाहन्छु।‘

विभिन्न शिलालेख तथा राम्रा चिजहरुलाई विकसित गर्दै पुराना चिज खोतल्ने र तिनीहरुको अध्ययन गर्ने अभियानमा पनि छ यो समूह। ‘सोच्ने तरिका र जीवनदर्शनमा परिवर्तन ल्याउनुपर्छ,’ अक्सफोर्डका प्राध्यापक आचार्य भन्छन्।

यी चारलगायत ठूलो संख्यामा विभिन्न क्षेत्रका विज्ञहरु यो अनौपचारिक नेटवर्कमा आबद्ध छन् जो आफ्नो विज्ञता देशको हितका लागि प्रयोग गर्न चाहन्छन्।

सहायक प्राध्यापक लक्ष्मीकुमार पराजुली।

त्यस्तै लक्ष्मीकुमार पराजुली स्नायुविज्ञानका क्षेत्रमा अनुसन्धान गर्छन्। पराजुली यो अभियानमार्फत बौद्धिक पुँजी कसरी नेपालमा हस्तान्तरण गर्ने भन्नेबारे काम गरिरहेको जानकारी दिन्छन्। जापानमै कार्यरत विज्ञहरु मिलेर हरेक ३/४ महिनामा ‘नेपाल जापान डाइलग’ चलाइरहेका छन्। ‘प्रविधि, स्वास्थ्य, विकासलगायत थुप्रै विषयमा हामीले संवाद चलाइरहेका छौँ,’ उनले भने। आफ्नै पहलमा नेपालमै केही गर्न सकिन्छ भनेर खोजी गरिरहेको छ यो समूह। ‘ज्ञान स्थानान्तरण गर्ने विषयमा हामी काम गरिरहेका छौँ,’ पराजुली भन्छन्।

अक्सफोर्डका प्राध्यापक आचार्य गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान गर्ने अक्सफोर्डको संस्कृतिसँग लोभिएका छन्। अक्सफोर्डमा आवासीय रुपमै विद्यार्थी, शिक्षक, अनुसन्धाता बस्छन् र गम्भीरतापूर्वक काम गर्छन्। ‘अध्ययन र अनुसन्धानको संस्कृति सुरु गर्न चाहेका छौँ हामीले यहाँ पनि,’ आचार्य भन्छन्, ‘दर्शन, ग्रामीण अर्थशास्त्र, स्नायुविज्ञानलगायत विभिन्न क्षेत्रलाई जोडेर कसरी अध्ययन र अनुसन्धान बलियो बनाउने भनेर हामी काम गरिरहेका छौँ।’

देशमा संघीयता आएको समयमा अध्ययन अनुसन्धानलाई कसरी विकास र विस्तार गर्ने भन्नेबारे  यो समूह गम्भीर देखिएको छ जो आफ्नो बौद्धिक पूँजी समाजको हितमा लगाउन चाहन्छ।

देशमा संघीयता आएको समयमा अध्ययन अनुसन्धानलाई कसरी विकास र विस्तार गर्ने भन्नेबारे  यो समूह गम्भीर देखिएको छ जो आफ्नो बौद्धिक पूँजी समाजको हितमा लगाउन चाहन्छ। ‘क्षेत्रीय बौद्धिक, राजनीतिक, सामाजिक, आर्थिक नेतृत्वसँग मेरो आशा छ,’ आचार्य आशावादी पनि छन्। ‘क्षेत्रीय नेतृत्वको विकास गर्नेबारे मनन गरेर विदेशमा रहेको बौद्धिक बर्गले यसमा प्रयास गरिरहेका छौँ,’ उनी भन्छन्।

शल्यचिकित्सक लुसुन चालिसे।

नेपालमै आएर अनुसन्धान केन्द्रको तयारीमा लागेपछि यो समूहले नेपाल आफूलाई लागेजस्तो धेरै बिथोलिएको पाएको छैन। ‘प्रशासकहरुमा पनि केही गरुँ भन्ने भावना छ, प्रदेश १ का मुख्यमन्त्री, सांसद, प्रशासकहरुले पनि केही गर्ने हुट्हुटी देखाएका छन्,’ आचार्य भन्छन्।

उक्त प्रस्तावित बहुसास्त्रीय अध्ययन तथा विकास केन्द्रमा मानविकी, समाजविज्ञान, विज्ञानप्रविधिलगायत विषयलाई समन्वय गरेर अघि बढाउने योजना छ जसमा प्रदेश नम्बर १ को नेतृत्व पनि सकारात्मक छ। बौद्धिक संस्कृति र अनुसन्धानको संस्कृति स्थापना गर्नु यो केन्द्रको मुख्य उद्देश्य हुनेछ जहाँ अनौपचारिक बौद्धिक व्यक्तिहरुलाई पनि समेटिनेछ। प्रदेश १ मा त्यस्तो केन्द्र बन्यो भने अन्य क्षेत्रमा पनि त्यो विस्तार गर्न सकिन्छ भन्ने उनीहरुले ठानेका छन्। यस्तो पाइलट प्रोजेक्टमा कुरा अगाडि बढेको र मुख्यमन्त्रीलगायत सबैसँग सामूहिक बैठक भइसकेको जानकारी पराजुली दिन्छन्।

‘केन्द्र स्थापनाका लागि ऐन लेख्ने र  २/३ महिनामै फास्ट ट्र्याकबाटै काम अघि बढाउने भनेको छ,’ उनी भन्छन्, ‘प्रदेश सरकार, त्यहाँका मुख्यसचिवलगायत सबै जना यसमा सकारात्मक हुनहुन्छ।‘

पराजुली आफैँ पनि यहाँको खिसिट्युरी गर्ने सामाजिक संरचनाबारे सुनेको तर आफूले त्यस्तो अनुभव गर्नु नपरेको सुनाउँछन्। ‘प्रशासकहरु पनि एकदमै बहुआयामिक हुनुहुँदो रहेछ,’ उनी भन्छन्।

बहुशास्त्रीय केन्द्र स्थापना गर्न प्रदेश १ मा योजना नै अघि बढिसकेको छ भने प्रदेश २ र प्रदेश ३ को नेतृत्व पनि यसबारे सकारात्मक देखिएको छ।

मोडालिटी

यस्तो केन्द्रमा प्रवासमा स्थापित भएका बौद्धिक व्यक्तिहरुले वर्षमा एक महिना काम गर्ने योजना बनाएका छन् भने कतिपय उता राजिनामा नै गरेर यहाँ काम गर्न आउनेछन्। विद्यार्थी र अनुसन्धाताका लागि  थेसिस र इन्टर्नसिप गर्ने थलोका रुपमा पनि यस्तो केन्द्र विकास गर्ने तयारी छ।

‘संस्कृतिको समायोजन कसरी गर्ने भन्ने हाम्रो मूल मर्म हो, देशभित्र वा बाहिर रहेको विज्ञतालाई समाजको वृहत्तर हितका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने नै हाम्रो अभियानको मूल उद्देश्य हो’

विदेशी दिमागहरुलाई कुनै न कुनै रुपमा नेपालमा जोड्ने यस्तो प्रयास यसअघि पनि भएको तर व्यवहारगत रुपमा पूरा नभएको अनुभव छ यी प्राध्यापकहरुको।

पराजुली पनि अहिलेको अभियान पहिलेका प्रयासभन्दा फरक रहेको बताउँछन्। आफ्नो नेटवर्कमा २०/३० देशका विज्ञहरु रहेको र सामूहिक रुपमा काम गर्ने उनी बताउँछन्। ‘छुट्टै ऐन बनाएर स्वायत्त रुपमा अगाडि बढाउने भएकाले यो अभियान बढी प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौँ,’ उनी भन्छन्।

अनुसन्धान केन्द्र यहाँ खुल्नेबित्तिकै विदेशमा राजिनामा दिएर आउन तम्तयार समूहहरु पनि रहेको उनी बताउँछन्। यहाँका विज्ञहरुलाई बाहिरबाट विज्ञहरु भावनात्मक रुपमा नेपाल फिरे तर यहाँको असजिलो देखेर फेरि उतै जालान् भन्ने डर भए पनि बौद्धिक पुँजीको प्रयोग जहाँ बसेर पनि हुनसक्ने उनी बताउँछन्।

कतिपयलाई विदेशबाट आएर यहाँको जागिर खाइदेलान् कि भन्ने पनि हुनसक्ने तर सबै इगोहरुलाई व्यवस्थित गरेर अघि बढ्नुपर्ने उनी बताउँछन्।

यी विज्ञहरुको अनुभव छ, ‘दक्ष जनशक्ति बाहिर वा भित्र भन्ने हुँदैन। बाहिरै बसेर पनि नेपालमा काम गर्न सकिन्छ। ज्ञानलाई भिसा चाहिँदैन।‘

अहिले सुरुमा एउटा ठाउँमा अनुसन्धान केन्द्र स्थापना गरेर अर्को स्थानमा सोही मोडालिटी अघि बढाउन सकिने आचार्य बताउँछन्।  यस्तो केन्द्रमा छोटो वा लामो समयको योजना बनाउने उनीहरुको योजना छ जहाँ योगशाला, जडिबुटी, विकासजस्तो छोटो समयको योजना पनि अघि बढ्छ भने दीर्घकालमा अध्ययन र अनुसन्धानको संस्कृति पनि  विकास हुन्छ।

‘संस्कृतिको समायोजन कसरी गर्ने भन्ने हाम्रो मूल मर्म हो, देशभित्र वा बाहिर रहेको विज्ञतालाई समाजको वृहत्तर हितका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने नै हाम्रो अभियानको मूल उद्देश्य हो,’  आचार्य स्पष्ट पार्छन्।

देशसञ्चार कार्यालयमा यी चारजना विज्ञहरुसँग हामीले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ।

पुस १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्