काठमाडौँ – भ्रष्टाचार गरेको प्रमाणित भई सजाय भुक्तान गरेको कुन्नी कति वर्ष जति भ्रष्टाचार गरेको भए पनि फरक पर्दैन र यसले कसैको पनि अहित गर्दैन भन्ने एकथरी मानिसहरूको दलिल ज्यादै राम्रो हो ।

कत्रो कत्रो ठूलो पाप गरे त प्रायश्चित गरेर सुध्रने अवस्था छ भने जाबो केही करोड वा अरब भ्रष्टाचार गरेको भरमा सधैंभरिको लागि भविष्य उड्ने व्यवस्था भएको वर्तमान परिपाटीमा सुधार त ल्याउनै पर्ने देखिन्छ ।

आफूलाई दिग्गज, जनप्रिय, लोकतन्त्रवादी, जनताको सच्चा हितैषी, देशप्रेमी, भ्रष्टाचार विरोधी, भ्रष्टाचारमा शून्य सहनशिलता भएको व्यक्ति, भ्रष्टाचारीलाइ ठेगान लगाएरै छोड्ने व्यक्ति, विधिको शासनको हिमायती आदिबाट आफै सम्बोधन गर्ने, जनताको लागि आवश्यक प¥यो भने गफद्वारा मर्ने, जनहितको लागि सधैं तयार पर्ने र जनताको काम भनेपछि जे गर्न पनि अघि सर्ने जनप्रिय वरिष्ठहरूलाई सानोतिनो भ्रष्टाचार जस्तो झिनो मसिनो आरोपमा जीवन भर राजनीतिको मूलधारबाट भगाउने प्रावधान त खारेज हुनु नै राम्रो हो ।

बेला बेलामा भ्रष्टाचारमा मुछिएका भए पनि सुग्घरी हुन् भनेर अनुहारको कालो जबरजस्ती पुछिएका वरिष्ठ महानुभावहरू माथि आरोप लगाइए पनि अदालतका अत्यन्त इमानदार न्यायमूर्तिहरुको बेन्च मुनिबाट मागेजति थैली बुझाएपछि परम्परागत शैलीमा तुहियो र भ्रष्टाचारीहरुलाई कारबाही हुन्छ भनेर ढुक्क पर्नेहरुको सपना सुरुवातमै कुहियो भन्ने सुनेर जनताहरू ज्यादै खुशी हुन पुगेको खबर समय समयमा सुन्न पाइन्छ ।

सबैतिर मिलाएर, सबैलाइ भरोसा दिलाएर र विरोध गर्नेको मुखपनि नगदले नै सिलाएर दैनिक निर्वाध रुपमा चल्ने खेती भएपनि दशा बिग्रेर यदाकदा भ्रष्टाचार गरेर खल्ती भरेको प्रमाणित भयो भन्दैमा त्यसलाई सधैंभरिको लागि गल्ती मान्नुभएन नि ! आफ्ना हितैषी, आफ्ना अनुयायी, आफ्ना सहयोगी, आफ्ना सहयात्रीहरूले ठूलो मौका दिन खोजेको हनाले कमाइको लागि सजिलो पेशा रोजेकोमा केही छुट त पाउनै पर्यो । लिने दिनेबीच कुरा नमिलेर कारबाही भइहाले छ भने फेरि दुलो भित्रबाट आफ्नो क्रियाकलाप गर्नुपर्ने भएपछि जति फुर्ति गरे पनि खुट्टा भने लुलो रहने हुनाले सहयोगी, अनुयायी र कार्यकर्ताहरू समेतको चुल्हो बल्न गाह्रो हुने भयो ।

राजनीतिमा लागेपछि, जनताको सेवा भावना जागेपछि र पेसाले नै मागेपछि भ्रष्टाचार वा अन्य जुनसुकै नाम दिइएपनि आफूले सकेजति उठ्ती पुठ्ती गर्नै पर्‍यो । पेसा, खेती, व्यापार, व्यवसाय जे भने पनि राजनीति नै भएपछि र तलदेखि माथिसम्मका सबै जना त्यही बाटोमा गएपछि आफू मात्रै चोखो बनेर हिँड्न सकिने कुरा पनि भएन ।

न कुनै काम देखिन्छ, न कुनै पेसा देखिन्छ, न कुनै ईलम देखिन्छ र न केही गरेको देखिन्छ तैपनि पुरै धाक रवाफसहित सबै व्यवहार टरेको देखिन्छ । अचम्म छ ! आफ्नो परिवारको साथै भेट्न आउने सबैको लागि मन लागे अनुसारको खानापिना पाकेकै छ । परिवारका सबै सदस्य र नजिकका नातेदारसम्मलाई छानीछानी चढ्ने गाडी घरभरि छन् ।

छोराछोरीहरू स्वदेश र विदेशका राम्रो नाम चलेका स्कुल कलेजमा पढेकै छन् । चाडपर्व पनि निकै धुमधामसित मनाएकै छ । सपरिवार स्वदेश र विदेशका पर्यटकीय स्थलहरूको भ्रमण गरिएकै छ । सानोदेखि ठूलोसम्म औषधी उपचार स्वदेशको महँगो अस्पताल र विदेशमा समेत गरिएकै छ र चन्दा दान दिन पनि अघि सरिएकै छ । भनेपछि माथि देखि तलसम्मका नेताहरू त मनचिन्ते झोली लिएर बसेका छन् कि भनेर जनताका एक टोली पनि एकवारको मानव चोलीमा नेता नै पो हुनुपर्ने रहेछ कि क्या हो भन्न थालेका छन् ।

टाठा बाठा भने पनि र जान्ने सुन्नेमा गने पनि त्यस्तालाई उहिल्यैदेखि नेता भनिँदै आएको अनि त्यस्ताले अनेक तरिका लगाएर फाइदा उठाउने गरेको पनि सबैले थाहा पाएको कुरा हो । राज्यको आर्थिक दोहन परापूर्व कालदेखि नै ठूलो मालको रूपमा भइरहेको कुरा सबैले चाल पाएको भएता पनि थोरै अभागीहरूलाई मात्रै गाल परेको पाइएको भए पनि सबै खालको राज्य व्यवस्थामा यसलाई सहर्ष अबलम्बन गरिँदै आएको छ ।

सधैँभरि अवसर नपाउनेको लागि भ्रष्टाचार र अवसर पाउनेको लागि सदाचार भइरहेको हुनाले यसलाई नियन्त्रण गर्छु भनेर लोकाचार पार्नु पनि बेकार नै छ । धेरै पहिलेका कुराहरू त त्यति थाहा भएन । आधुनिक राष्ट्रको सुरुवातमा पनि घुस लिन्या र घुस दिन्याहरूलाई राज्यका शत्रु मानिएको भए पनि सधैँभरि उनीहरूकै बोलावाला भएको जानिएको छ ।

राणाकाल त भ्रष्टाचारको स्वर्णिम समय नै भइहाल्यो । त्यस बखत सर्वशक्तिमान राणाहरूले कसैको डर नमानिकन आफूले तोकेको दर अनुसार यहाँका भोका नांगा जनताहरूबाट कर उठाएर आफ्ना पुस्तौं पुस्तालाई स्वदेश र विदेशमा समेत मनग्गे पुग्ने गरी कमाएको र त्यसैबाट अहिलेसम्मका पुस्ता रमाएको अनि त्यसैबाट राज्यका प्रमुख ठाउँहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुट्टा जमाएको सबैले देखेकै छन् ।

राणा शासन समाप्त भएर प्रजातन्त्र आयो । राणाहरूले गरेको भ्रष्टाचारको चर्चाचाहिँ प्रजातन्त्रवादीहरूको पर्चामा मात्र सीमित भयो । राणाहरूको गोजिमा परिसकेको धनको खोजी गर्न आवश्यक पनि भएन । खोक्रो पेट लिएर प्रजातन्त्रको लागि लडेका नेताहरूले त्यसको ब्याज स्वरूप धोक्रो भर्ने तरिका सिक्दा सिक्दै पंचायती व्यवस्था आयो ।

पञ्चायतको ३० वर्ष दरवारको तरवार देखाएर दरबारदेखि गाउँ पञ्चायतका वडासम्म बसेर जस जसले पञ्चायतलाई सकारे उनीहरूले भ्रष्टाचार गरेर मजाले डकारे । ३० वर्षपछि पञ्चायत ढल्यो र भ्रष्टाचार गल्यो भन्ने जनताले सोचे । पञ्चहरूको सम्पत्ति छानविन हुने कुराले ठूलो हल्ला भयो र त्यो कुरा हावामै गयो । पञ्चहरूको मुखमा आयो, माथिदेखि तलसम्म बाँडचुँड गरेर खायो र पञ्चायत गएपछि पनि मजाले पचायो ।

प्रजातन्त्रको पुनर्वहालीको लागि पञ्चायतको विरुद्धमा आन्दोलन गर्ने नेताहरूको भाषण सुन्दा, उनीहरूको पहिरन र जीवन शैली हेर्दा यिनीहरूले चाहिँ देशको थैली बलियो बनाउँछन्, भ्रष्टाचार विरुद्ध एक्येबद्धता जनाउँछन् र यिनीहरूको पालामा जनताले रामराज्यकै सुख मनाउँछन् भन्ने सोचेर सबैले साथ दिए । प्रजातन्त्र आयो र सबैले स्वतन्त्रताको हलो अड्काएर गोरु चुट्ने नीतिलाई जनताले खुब मन परायो । बिस्तार बिस्तार नेताहरूको पहिरन बदलियो ।

खुराक नपुगेर सुकेको भुँडी छोटो समय मै मजाले फुकेको देखियो । विलाशी गाडीहरू सामान्य हुन थाले, छोराछोरीहरूले पनि राजकुमार राजकुमारी भन्दा पनि माथिल्लो स्तरको कदम चाले र देशलाई दुहुन सकिने सबै ठाउँमा नेताहरूले हात हाले । पुरानो बोतलमा नयाँ रक्सि राखिएको र ताजा भएकोले त्यसको स्वाद अझ कडा किसिमले चाखिएको जनताले अनुभव गरे ।

हेर्दा हेर्दै सानादेखि ठूलासम्म नेताहरूको आर्थिक उन्नतिले छोटो समयमै ज्यादै मोटो उन्नति गर्‍यो । नेताहरूले आर्थिक लाभमा मजाले खुट्टा जमाए, आ–आफ्नो स्तर अनुसार मजाले कमाए र आफ्ना प्यारा नेताहरूको उन्नति देखेर जनताचाहिँ मजाले रमाए । यति थोरै समयमा यो स्तरको व्यक्तिगत आर्थिक उन्नति त संसारका कुनै पनि राष्ट्रमा हुनै नसक्ने हुनाले राम्ररी केलाउने र अलिकति दिमाग खेलाउने हो भने नाफामूलक ठाउँहरूमा लगानी, घर बंगला र महलहरूको निर्माण, विभिन्न किसिमका ब्रान्डेड गाडीहरू, स्वदेश देखि विदेशमा समेत बैंक ब्यालेन्स, छोराछोरी, भाउजुबुहारी, दाजुभाइ, भतिजा, ज्वाईं, साला, साली, सासु ससुरा, गर्लफेन्ड, नजिकका साथी, छिमेकी, अन्य हितैषी र सहयोगीहरूलाई लाभदायक स्थानमा नियुक्ति, सरुवा, बढुवा आदि जाबो त सामान्य कुरा नै भइहाल्यो ।

सबै ठाउँमा आफ्ना मान्छे ल्याउने र आँखा चिम्लेर भेटेसम्म भ्याउने पुरानो परम्परालाई निरन्तरता दिएकोमा नेताहरूलाई जनताले स्याबासी नै दिएका छन् । जन आन्दोलनबाट उम्रिएका नेताहरूको आर्थिक रूपमा मनग्गे पात पलाउने, असुल गर्न सक्ने जति सबै ठाउँमा हात चलाउने र सबै ठाउँबाट नोट फलाउने ज्यादै राम्रो र आकर्षक तरिका देखेर मख्ख परिरहेका जनताले जनयुद्ध हो कि धनयुद्ध नामको अर्को क्रान्ति हो कि आन्दोलनबाट पनि भरपुर आनन्द उठाउन पाए । जन सरकार, जन अदालत, जन कारवाही आदि नै जनयुद्धका प्रमुख अंगहरू थिए र यिनैले ग्रामिण भेगमा निकै ठूला ठूला निर्णयहरू लिए ।

जनयुद्धका नेताहरू पनि हेर्दाहेर्दै चिल्ला, मोटा, पोटिला देखिंदै चोटिला प्रहार गर्दै गए । चन्दा, कर, अंधिया, बट्टा, असुली, कब्जा, जनहित र युद्धको लागि बिदेशबाट सहयोग समेतको संकलन आदिको नाममा कहाँबाट कसले कति उठायो भन्ने कुरा उठाउनेहरूलाई पनि थाहा छैन होला । जनताले अन्दाज गर्दा निकै अरबौँ भन्दा अझ माथि हुन सक्ने अनुमान गरेरै पनि जनताहरू खुसीले गद्गद् छन् । सहर बजारमा जनआन्दोलनवाला र गाउँघरमा जनयुद्धवाला साना ठूला नेताहरूले जनताको नाम लिएर धेरै दाम प्राप्त गर्ने काम भएको कुरा राम्ररी नबुझेपनि आफ्नो नाममा त्यत्रो आर्थिक लाभ लिइरहेको देखेर जनताले भने आफैले अमृत पिइरहेको सम्झे ।

उनीहरूको उग्र आम्दानी देखेर उत्साहित हुँदै देशका विभिन्न भागमा पनि हतियारधारी समूह खडा भएर कडा राजनीतिक नारासहित आफ्नो आर्थिक घडा भर्न थाले । सबै कुरा जनताकै नामबाट संचालन भए र जनताको नामबाट हतियार उठाउनेहरू थोरै समयमै आर्थिक रूपमा निकै माथि गए । स्वघोषित भक्तहरूले चौबिसै घण्टा भगवानको नाम जप्ने टन्टा गर्ने र त्यहींबाट आफ्नो ढुकुटी भर्ने गरे जस्तै सबैको मुखमा र लेखाईमा आफ्नै नाम देखेर जनताहरू चाहिँ दंग परे ।

जनताको नाममा सबैले आर्थिक लाभ लिइरहेको र आफूलाई चाहिँ समस्या मात्रै दिईरहेको महसूस गरेर अपुतालीमा बिष्णु अवतार हुन पुगेका राजालाई पनि जनताको नाममा केही गर्नै पर्ने र सबैकुरा बिर्सेर अघि सर्नै पर्ने बाध्यता आइपर्‍यो । नेताहरूले देशलाई अलपत्र पारेकोले सत्र साल दोहो¥याउनै पर्ने नत्र देश भड्खालो मै पर्ने तर्कसहित राजा गाउँ फर्कको सिद्धान्तले अगाडि बढे अनि राजाबाट झरेर कार्यकारी प्रमुखमा चढे । उनको पनि पवित्र उद्देश्य आर्थिक लाभ नै भएको र त्यही अनुसार सबैकुरा योजना बद्ध रूपमा गएको देखियो ।

आफूसँग भएको बल प्रयोग गरेर दलहरूलाई चलहल गर्न नदिन विभिन्न किसिमका छल समेत गर्दा पनि उनले केही लछार्न नसकेपछि उल्टो दलहरू नै उनलाई पछार्न सफल भए । धनको लोभ र भ्रष्टाचार गर्ने रहरले हजारौं वर्ष पुरानो राजसंस्थाको इतिहास मेटाउने र राजाबाट सर्वसाधारणको दर्जा भेटाउने पहिलो राजाको इतिहास चाहिँ बनाए र महान भ्रष्टाचारीहरूलाई हटाएर अझ ठूलो भ्रष्टाचार गर्छु भन्ने उद्देश्य सफल हुन गाह्रो रहेछ भन्ने जनाए । यसलाई पनि जनताले ठूलो रमिता माने र आफूले छानेका सुयोग्य प्रतिनिधिहरू मार्फत् गणतन्त्रमा ठप्पा हाने ।
गणतन्त्र आएपछि र गणतन्त्र ल्याएकोमा सबै जना चुप लागेको पाएपछि नेताहरूले सबै खाले लगामबाट मुक्त भएकोमा आनन्द लिनु र कमाइ धमाइतिर मात्रै ध्यान दिनु आफ्नो मुख्य कर्तव्य सम्झे । फलस्वरूप नेताहरूको कमाई ह्वात्तै बढ्यो र राष्ट्रको प्रगति भने स्वात्तै घट्यो । यसको विकास हुँदै माथिबाट तलतल सर्दै र तहतहमा आफ्नो औकात अनुसार चर्दै भ्रष्टाचारले संस्थागत रूप धारण गरेर ओरालो झर्दै गयो । भ्रष्टाचारबाट आजित भएको भन्दै गर्दा अकुत मनि कमाएर नेता जति धनी देश र जनता भने जस्ताको तस्तै रहेका छन् ।

अहिले देशमा ज्यादै रमाइलो छ । भ्रष्टाचारका सूचना, समाचार र खबरहरू ठूला ठूला अक्षरमा दिनदिनै र छिनछिनै समाचार माध्यममा आउँछन्, केही घण्टासम्म सबैका आँखामा छाउँछन्, संचार माध्यमबाट कति र कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने तर्फ आफ्नो पूरै ध्यान लाउँछन् । आफैंले भोट हालेर जिताएको नेताले कसैको डर भर नमानिकन नगद बिताएको देखेर सही अर्थमा जनताले चिताएको लोकतन्त्र हो कि गणतन्त्रको असली अनुहार यही रहेछ भनेर आनन्द मान्ने पालो चाहिँ जनताको हो ।

नेताहरूले सिकाएको र उनीहरूले नैतिकता बिकाएको हुनाले भ्रष्टाचार संस्थागत र नीतिगत हुन पुग्नुको साथै देशको प्रत्येक क्षेत्रमा घुसिसकेको र देशलाई पुरै खोक्रो हुने गरी चारैतिरबाट चुसिसकेको थाहा भएपछि जनता खुशी नहुने कुरै भएन । नेता र वरिष्ठ कर्मचारीहरु मोटा भए देश बलियो हुन्छ भन्ने नयाँ उखानबाट पनि जनताहरू लाभान्वित भएको महसुस गरिएको छ । आखिर आफ्ना प्रतिनिधि र राष्ट्र सेवकहरूको आर्थिक स्तर बढ्नु भनेको आफ्नो पनि स्तर बढ्नु नै हो ।

नामर्दको जोई हुनुभन्दा मर्दको कमारी हुनु वेश भने जस्तो यति आँटिला नेता र राष्ट्र सेवकहरूको रैती हुन पाउनुलाई जनताले आफ्नो अहोभाग्य सम्झनु पर्छ, यसले मात्रै जनता र देशको हित गर्छ, यसबाट सबैको समस्या आफ सेआफ टर्छ अनि यही प्रक्रियाले जनताको सबै पीरमर्का हर्छ भन्ने जनताको अटल विश्वास रहेको छ ।

त्यही भएर भ्रष्टाचारको बात लागेपनि नेताहरूको सातै खत माफ गरेर नियम कानुनलाई लात हान्दै त्यस्ता महान् र वरिष्ठ नेता महानुभावहरूलाई सिधैै उहाँहरूले इच्छा गर्नुभएको जुनसुकै कुर्सीमा बस्न अनि आफूले राजनीति जस्तो पवित्र पेशामा लागेर इमानदारी पूर्बक कमाएको थैलीको मुख कसैले कारबाही गर्न नमिल्ने गरि कस्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्नेतर्फ सबैको ध्यान जान सकेमा जनताले सधैंझैं आफ्नो ज्यान दिएर सहयोग पु¥याउने थिए । जय भ्रष्टाचार ।

पुस १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्