नदीमा डुबेर अष्ट्रेलियामा दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

सिड्नी– सिड्नीको उत्तरी क्षेत्रमा पर्ने हर्नस्बीस्थित एक नदीमा पौडी खेल्न गएका दुई नेपालीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजेको हाराहारीमा बरारा न्यासनल पार्कस्थित नदीमा पौडी खेल्दा दुईजना पानीमा बेपत्ता भएको खबर पाएपछि आपतकालीन सेवाका अधिकारीहरू उद्धार कार्यमा जुटेका थिए।

घटनास्थल पुगेका उद्धारकर्मीले अर्का एक जनालाई श्वास–प्रश्वासको समस्या देखिएकाले प्राथमिक उपचारपश्चात हेलिकोप्टरमार्फत थप उपचारका लागि अस्पताल लगिएको थियो। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ।

घटनापश्चात प्रहरीले नदीमा खोजी कार्य शुरू गरेपछि राति करिब साढे एघार बजे दुवै जनाको शव बरामद गरेको थियो।

स्थानीय सञ्चार माध्यमले आफन्तलाई उद्ध‌ृत गर्दै मृत्यु हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको उल्लेख गरेका छन्।

पुस १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्