राष्ट्रियसभाका लागि प्रदेश १ बाट उम्मेदवारको नामावली दर्ता

मोरङ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश एकबाट उम्मेदवारहरुले नामावली दर्ता गराएका छन्।

आइतबार विराटनगरमा नेपाली कांग्रेसका तर्फबाट निरबहादुर विश्वकर्मा, मीना पुलामी मगर र राजेन्द्र घिमिरे रहेका छन्। पाँचथरका विश्वकर्मा दलिततर्फबाट उम्मेदवार हुन्।

त्यसैगरि महिलातर्फबाट मीना पुलामी मगर सुनसरीको धरानबाट महासमिति सदस्य हुन्। त्यसैगरि, झापाका घिमिरे पूर्व महासमिति सदस्य रहेको नेपाली कांग्रेस मोरङ जिल्लाका सचिव मोदराज घिमिरेले जानकारी दिए।

त्यसैगरि, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश एकबाट गोपी अछामी, देवेन्द्र दाहाल र महिलातर्फबाट इन्दु गौतम रहेकाछन्। दलित कोटाबाट उम्मेदवार अछामी खेलकुद राज्यमन्त्री रहिसकेका छन्।

सिन्धुली घर भएका अछामी हाल मोरङ जिल्ला कमिटिका सह–इन्चार्ज हुन्। त्यसैगरी, महिलातर्फबाट सुनसरी इटहरीकी गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा. राजन भट्टराईकी सासू हुन्। त्यसैगरी, खुल्लातर्फ झापा दमकका दाहाल रहेका छन्।

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित निर्वाचन कार्यालय प्रदेश एकमा मनोनयन दर्ता गराएका नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए।

मनोनयन दर्ताको लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रदेश एकमा ९३ जना सांसद र १ सय ३७ स्थानीय तह रहेका छन्। स्थानीय तहको प्रमुख र उपप्रमुखसहित २ सय ७४ गरि ३ सय ६७ मतदाता रहेका छन्। प्रदेश र स्थानीय गरि कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ।

पुस २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्