राष्ट्रियसभा सदस्यका लागि प्रदेश–१ मा नाै जनाकाे उम्मेदवारी

मोरङ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश एकबाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार विराटनगरस्थित निर्वाचन आयोग प्रदेश एक कार्यालयमा नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा र समाजवादी पार्टी नेपालले समान ३ जनालाई उम्मेदवारमा प्रस्तुत गरेको हो।

नेपाली कांग्रेसमा महिलातर्फबाट धरानबाट महासमिति सदस्य मीना पुलामी मगरलाई उम्मेदवार बनाएको छ। धरानकी–१ की ६५ वर्षीय मगरको प्रस्तावकमा चन्द्रप्रसाद श्रेष्ठ र राजकुमार कामत रहेका छन्। समर्थकमा फूलकुमारी चौधरी र तिलक राई छन्।

नेपाली कांग्रेसले दलिततर्फ पाँचथरका नीरबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ। उनको प्रस्तावकमा सूयर्माराज राई र नसिमा बानो छन्। शिवनारायण गनगाई र बालचन्द्र माझी समर्थक हुन्।

कांग्रेसले अन्यमा राजेन्द्रकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ। उनको समर्थक र प्रस्तावकमा विराटनगर महानगरपालिका मेयर तथा उपमेयर भीम पाराजुली र इन्दिरा कार्की छन्।

त्यसैगरि, सत्तारुढ दल नेकपाले महिलातर्फबाट इन्दु गौतमलाई उम्मेदवार बनाएको छ। इटहरी उपमहानगरपालिका –४ निवासी ६४ वर्षीया गौतमको प्रस्तावकमा यशाेदा अधिकारी र समर्थकमा सावित्रा रेग्मी छन्।

गौतम प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईकी सासू हुन्। त्यसैगरि दलिततर्फ गोपीबहादुर सार्की अछामी उम्मेदवार बनेका छन्। मोरङको सुन्दरहरैचा–८ निवासी ४५ वर्षीय अछामी तत्कालिन माओवादी केन्द्र निकट हुन्।

उनको प्रस्तावक र समर्थकमा राजकुमार ओझा र धनमाया तामाङ रहेका छन्। अन्य तर्फ नेकपाले देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ। दमक –५ का ६१ वर्षीय दाहालका पहिलो प्रस्तावक र सर्मथकमा राजमती इङनाम र सरला राई रहेका छन्। दोश्रो प्रस्तावक र समर्थकमा ज्ञानेश्वर राजवंशी र ज्ञानेन्द्र सुवेदी छन्।

उम्मेदवारीका क्रममा समाजवादी पार्टीले महिलातर्फ विराटनगरकी ३९ वर्षीया सदिना खातुनलाई उम्मेदवारका रुपमा खडा गरेको छ। खातुनको प्रस्तावक र समर्थकमा जयराम यादव र सालो साह रहेका छन्। समाजवादी पार्टीले ज्ञानकुमार परियारलाई उम्मेदवार बनाएको छ। मोरङ बूढीगंगा–३ का ४८ वर्षीय परियारका समर्थक र प्रस्तावकमा रामचन्द्र लिम्बू र कैलाशप्रसाद मण्डल रहेका छन्।

समाजवादीले अन्यतर्फ विराटनगर–४ का भरतकुमार दाहाललाई उम्मेदवार बनाएको छ। उनको प्रस्तावक र समर्थकमा राधा थापा र महेन्द्र यादव छन्। मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगद रसिद वा बैंक भौचर पेश गर्नु पर्ने नियम आयोगले बनाएको थियो।

१४ जिल्ला रहेको प्रदेश १ मा ९३ जना प्रदेश सांसद र १ सय ३७ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७४ जना छन्। यसअघि निर्वाचित राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ। आगामी माघ ९ गते प्रदेश १ को विराटनगरको वीरेन्द्रसभा गृहमा दोस्रो पटक राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

दलित एक, महिला एक र अन्य एक गरेर तीन पदका लागि मतदान हुनेछ। निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सांसद मतदाता हुने व्यवस्था छ। प्रदेश १ मा ३ सय ६७ मतदाता छन्।

प्रदेश र स्थानीय गरेर कूल मतभार भने ९ हजार ३ सय ९६ छ। प्रदेशमा नेकपाका २ सय ३६ र कांग्रेसका ८९ मतदाता छन्। अरु मतदाता अन्य पार्टीबाट छन्।

पुस २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्