‘देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिनदारी प्रथा चलाउन खोजे’

मोरङ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिनदारी प्रथा चलाउन खोजेको आरोप लगाएका छन्।

आइतबार धनकुटाको मौनाबुदुकमा जीपी कोइराला फाउण्डेशन प्रदेश एकद्वारा आयोजित कार्यक्रममा सिटौलाले पार्टी सभापतिले विधान लत्याएर अघि बढ्दा दलका नेताहरुबीच सहमति र सहकार्यमा अवरोध सिर्जना भइरहेको अरोप लगाए।

सभापतिको कामकारबाहीप्रति असन्तुष्ट व्यक्त गर्दै सिटौलाले विगतमा सभापति गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र कार्यवहाक सभापति रामचन्द्र पौडेल हुँदा पनि सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको स्मरण गराएका थिए।

कुर्सीमा रहेर गुट उपगुट र गिरोहको मात्र सभापति हुन नखोज्न चेतावनी दिँदै सिटौलाले भने, ‘अहिले तपाई सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन केले रोकेको हो? सभापति जीले पार्टीभित्र जमिनदारी प्रथा चलाउन खोज्ने?’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक भएका कम्युनिष्टहरुसँग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए। सभापति देउवा कांग्रेसको घरमूली भएको बताउँदै कोइरालाले घरभित्रको फरक विचार र असन्तुष्टीको सम्बोधन गर्दै सबैलाई एकसाथ हिँडाउने काम देउवाको भएको उल्लेख गरे।

कांग्रेसको इतिहासमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएकोमा जोड दिँदै कोइरालाले भने, ‘अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ति दुर्भाग्य हो।’

कार्यक्रममा आयोजक फाउण्डेशनले नेता सिटौला र कोइरालालाई एकै माला लगाइदिएका थिए।

पुस २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्