धराैटीमा छुटेपछि डिस्चार्ज भएर आश्रम पुगे ‘सिद्धबाबा’

फाइल तस्बिर

काठमाडौँ– बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई विराटनगर अस्पतालले डिस्चार्ज गरेको छ।

३८ दिनअघि उपचारका लागि अस्पतालमा भर्ना भएका गिरीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जनाउँदै उपचारमा संलग्न वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले डिस्चार्ज गरेको जानकारी दिए। सिद्धबाबालाई डा. गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार गर्दै आएका थिए।

गत मंसिर १२ गतेदेखि अस्पतालको सुविधासम्पन्न डिलक्स रुममा बस्दै आएका गिरीलाई गत सोमबार जिल्ला अदालत सुनसरीले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। आदेशपछि पनि पुनः अस्पतालमै भर्ना भएका उनलाई त्यसको एक सातापछि अस्पतालले डिस्चार्ज दिएको हो।

यसक्रममा उपचार वापतको खर्च नतिरिकन गिरीलाई अस्पतालले डिस्चार्ज दिएको बताइएको छ। अस्पतालका लेखापाल सुवास पोखरेलले उपचारमा कति खर्च भयो भन्ने विवरण प्राप्त नभएका कारण उपचार वापत लागेको पैसा लिन बाँकी रहेको जानकारी दिए। उपचारमा लागेको खर्चको पूर्ण विवरण प्राप्त भएपछि डिस्चार्ज भएका गिरीबाट असुल गरिने पोखरेलको भनाइ छ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनी चतरास्थित आफ्नो आश्रममा पुगेका छन्। सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सिद्धबाबा चतरास्थित आश्रम पुगेको बताए।

उनले यसक्रममा चतरा आश्रममा कसैको समर्थन र विरोधमा आन्दोलन नभएको बताए। कृष्णबहादुर गिरी प्रहरीलाई खबर नगरि त्यहाँ पुगेपनि कुनै अवान्छनीय गतिविधी नभएको उनले बताए।

बलात्कारको आरोप लागेपछि चतराका अगुवा महिला एवं स्थानीय बासिन्दाले कृष्णबहादुर गिरीलाई बहिस्कारको घोषणा गरे पनि उनी आश्रममा पुग्दासम्म समेत उनीहरु मौन रहेको बताइएको छ। यसअघि, स्थानीय अगुवा महिला र त्यहाँका बासिन्दाले चतरा प्रवेश नै गर्न नदिने घोषणा गरेका थिए।

कात्तिक पहिलोसाता बलात्कारको आरोपमा एक २९ वर्षीया महिला अनुयायीले उजुरी दिएपछि प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो। उजुरी दर्ता भएपछि उनी अस्पताल भर्ना भएका थिए। मंसिर १६ गते आईसीयूबाटै पक्राउ गरेर उनी विरुद्ध अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको थियो। चार पटकसम्म म्याद थप गरिए पनि उनले प्रहरी हिरासतमा बस्नु परेन। अस्पतालको बेडबाटै उनीसँग बयान लिइएको थियो।

त्यसैगरि, जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले दिएको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा निवेदन परेको छ।

निवेदन उपर सुनुवाई गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिन भित्रमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिइसकेको छ।

सरकारी वकिल कार्यालयले थुनामा राख्न पर्याप्त प्रमाण हुँदाहुँदै गिरीलाई धरौटीमा छाड्ने आदेश भएको भन्दै उक्त आदेश बदर गरी उनलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै बिहीबार उच्च अदालतमा निवेदन दिएको हो।

पुस २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्