सरकार लोकतन्त्रको मर्म विपरीत काम गरिहेको छः संग्रौला

विराटनगर – सत्तारुढ दल नेकपा बहुमतको दम्भमा लोकतन्त्रको मर्म विपरीत काम गरिरहेको आरोप नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लगाएकी छिन्।

विराटनगरमा सोमबार नेपाल प्रेस यूनियनद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा नेतृ संग्रौलाले लोकतान्त्रिक संविधानले नेपाली जनतालाई दिएको अधिकारलाई समेत वर्तमान सरकारले कुण्ठित गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

कार्यक्रममा सरकारको कामकार्वाहीबाट सचेत रहँदै राष्ट्रियसभा निर्वाचनमा राजनीतिक आस्थाबाट माथि रहेर मतदान गर्न उनले आग्रह गरेकी थिइन्।

मुलुकमा सुशासनसँगै नागरिकले प्राप्त गरेको संवैधानिक अधिकार रक्षा गर्न र समृद्ध राष्ट्र निर्माण गर्नका लागि निर्वाचनमा पार्टीको विचारभन्दामाथि भएर मतदान गर्न उनको आग्रह थियो।

वर्तमान सरकारले मुलुकमा अराजकता मचाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम बनाउने काम गरिरहेको उनले बताइन् ।

लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि राष्ट्रियसभामा विज्ञ र वुद्धिजिवीलाई पठाएर मुलुकमा लोकतन्त्र बलियो बनाउन उनले आग्रह गरेकी छिन्।

पुस २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्