भिडतन्त्र मात्रै बढ्यो

भक्तिमा नभई भेटीमा भेटिने मन्दिरका पूजारीहरु

आश्वासन दिनमा मदिरा रातमा विकासे नेताहरु

कागजमा योजना, खल्तीमा खजाना राष्ट्रका सेवकहरु

निर्माणै नगरी भुक्तानी लिएका निर्माणका ठेकेदारहरु

 

कलमै नचलाई पुरस्कार लिएका प्रसिद्ध बिद्धानहरु

समाजलाई फुटाई रक्तपात गराउने समाजसेवीहरु

देशको सुस्केरा बनाई मदिरा पिउने लेखकहरु

विदेशी सतुवा, डलरका चखुवा स्वघोषित मसिहाहरु

 

कहाँ गयो मति त्यो समाज गतिलो दुर्गन्ध मात्रै रह्यो

देवत्व हरियो दानवले भरियो नैतिकताबाट टाढा भयो

सहिदका सपना देशनिर्माण विपना होला कि भन्दै पनि

आशामा जनता पर्खन्छन् मनमा पुग्ला कि कैले भनी

 

लडेथे जनता ल्याउन समता सद्भाव समाजको

यथार्थ फेरियो, मानवता सकियो, करुणा टाढा भयो

भत्किए पुराना बनेनन् नयाँ भिडतन्त्र मात्रै बढ्यो

न्याय र समता किताबमा लुकेछन् दुर्गति यस्तो भयो

पुस २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्