भद्रगोल तयारीबाट सुरु भएको पर्यटन वर्ष कसरी अघि बढ्ला ?

काठमाडौँ- लामो समयदेखि तयारी र प्रतीक्षा गरिएको भ्रमण नेपाल वर्ष २०२० मा अन्ततः मुलुक प्रवेश गरेको छ। तर,औपचारिक घोषणाको कार्यक्रम र त्यहाँ बेथिति कुनै संकेत हो भने भ्रमण वर्ष सुव्यवास्थित हुने लक्षण देखिँदैन।

भ्रमण वर्ष २०२० को तयारी पूरा भएको जानकारी दिन आठ दिनअघि (पुस १४ गते) राजधानीको नक्सालस्थित मेरियट होटलमा सचिवालयले आयोजना गरेको कार्यक्रममै बेथिति देखा परेपछि यस्तो आशंका प्रवल भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य लगायत विभिन्‍न सम्बन्धित निकायका प्रमुखको उपस्थितिमा नै देखिएको भद्रगोलले एउटा प्रश्न उठाएको छ, के जिम्मेवार संयन्त्रलाई आफ्नो दायित्वबारे पूर्ण जिम्मेवारी बोध छ? कार्यक्रममा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले उद्‌घाटन समारोहको तालिका सार्वजनिक गर्दै भ्रमण वर्षको तयारी पूरा भएको जानकारी गराए।

यता, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षमार्फत विश्वभरका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक भएको सन्देश दिने र भ्रमण वर्षले राजश्‍व तथा रोजगारी बढाउने तथा समग्र आर्थिक वृद्धिमा मद्दत गर्ने बताएका थिए। तर औपचारिकताको निर्वाहपछि नै देखा पर्न थाल्यो अव्यवस्था।

मन्त्रीले आफ्नो अभिव्यक्ति राखेपछि उनी र अरु ठूलाबडाहरु बाहिर लागे। पत्रकारहरु भने भ्रमण वर्षको उद्‌घाटन समारोहका लागि पास लिन ढोका नजिक रहेको पास वितरण स्टल नजिक लाइन लागे। पास वितरण स्टल निकै अव्यवस्थित थियो। कर्मचारीको व्यवहार त्यतिकै असहयोगी।

मैले एक जना कर्मचारीलाई सोधे, ‘पहिले नाम नटिपाएका पत्रकारले पास लिन के गर्नुपर्छ?’ उनले आक्रोशित हुँदै भनिन्, ‘अब पास छैन।’ धेरैले पास लिइसकेको हुँदा दशरथ रंगशालामा ठाउँ नपुग्ने उनको दाबी थियो। तर वास्तविकता त्यस्तो थिएन।

एक फोटो पत्रकारले भने, ‘तपाईँहरुको पछाडि हिँड्ने पत्रकारको काम होइन। काम व्यवस्थित गराउन सक्नुहुन्न भने हामीलाई जिम्मा दिनुस्। तर पासका लागि मिडिया हरेक दिन तपाईँहरुको पछि लाग्दैन।’

अनि पास वितरण गरिरहेका कर्मचारीले पास नपाएका पत्रकारले सचिवालयबाट पास लिन सक्ने बताए। कुरा पासको मात्र होइन, भ्रमण वर्षको तयारी गरिरहेको नेपाल सरकारको अभियानलाई सफल बनाउन कर्मचारीको पनि उत्तिकै नै महत्वपूर्ण भूमिका रहन्छ। तर व्यवहारले उनीहरुले त्यो कुरालाई महसुस नगरेको देखियो।

अंग्रेजी नयाँ वर्षको दिन बुधबार त्रिपुरेश्‍वरस्थित दशरथ रंगशाला ‘भ्रमण वर्ष २०२०’ को स्वागतका लागि सजाइएको थियो।चारैतिर भिजिट नेपाल २०२० का फ्लेक्स तथा ब्यानर राखिएका थिए।

भ्रमण वर्षको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारीका साथै मन्त्री, कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरु, कलाकार, विद्यार्थी लगायत सर्वसाधारण उपस्थिति थिए।

यी सबै आकर्षक उपस्थिति र प्रयास देखिए पनि भ्रमण वर्षका लागि लक्षित २० लाख पर्यटकले कसरी नेपाललाई आकर्षक थलो मान्लान् ? तयारीमा यो अहम् प्रश्‍नलाई कसैले मनमा राखेको देखिएन।

संस्कृतिले व्यक्तिलाई एउटा थलोमा ल्याउन सक्छ। त्यसैले विभिन्‍न जातजाति र संस्कृति झल्काउने झाँकीका माध्यमबाट सिंगो नेपाललाई रंगलशालामा एकिकृत गरेपछि कार्यक्रमको सुरुवात नायक राजेश हमालले गरेका थिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ वर्ष २०२० को आरम्भसँगै नयाँ आशा, उत्साह, उर्जा र अपेक्षाका साथ ‘नेपाल भ्रमण वर्ष २०२०’ को आरम्भ भएको बताएका थिए।

संविधान निर्माणसँगै देश राजनीतिक स्थायित्वतर्फ अघि बढेको भन्दै अब आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माण गर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो।

मन्त्री भट्टराईले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्‍चालनमा आउने जानकारी दिएका थिए। विमानस्थल विमानस्थलको २०७१ माघ १ गते शिलान्यास भएको उक्त विमानस्थलको कामबिना रोकावट भएको भए धेरै अगाडि नै सञ्‍चालनमा आइसक्नु पर्ने थियो। तर निर्माण शुरु भएको तीन वर्षमा सक्ने उद्देश्य लिएपनि विभिन्‍न कारणले विमानस्थलको काम अझै पनि नसकिएको मन्त्री भट्टराईको अभिव्यक्तिले प्रष्ट हुन्थ्यो।

उनले संस्कृति र सम्पदा संरक्षण गर्ने बताए। तर सम्पदालाई हड्प्ने माफियाहरु दिन प्रतिदिन बढिरहेका बेला त्यसलाई कसरी नियन्त्रण गर्ने भन्‍नेबारे केही बोलेनन्।

कार्यक्रमको उद्‌घाटन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारीले पनि प्रकृति र संस्कृतिलाई मासेर होइन, सिंगारेर पर्यटकको विकास र विस्तार गर्नु पर्ने बताइन्।

राष्ट्रपति भण्डारीले पर्यटन वर्ष सफल बनाउन सबैलाई सहकार्य र सहयोग गर्न आग्रह गरिन्। तर रंगशालाको अव्यवस्थाले आग्रह सुन्‍ने धेरै कानहरु उपस्थित हुन सकेका थिएनन्। त्‍यहाँ केवल मानिसभन्दा धेरै कुर्सीहरु थिए। यसले के देखाउँछ भने भ्रमण वर्षको अपेक्षित १० हजार भन्दा धेरै कम थिए उद्‌घाटन समारोहमा।

रंगशालामा ठाउँ छैन भन्दै पत्रकारलाई पास दिन आनाकानी गर्ने कर्मचारीहरुले भ्रमणको उद्‍घाटन समारोहमा खाली रंगशाला पक्‍कै पनि देखे होलान्। तर मुलुकका लागि चुनौती सुरु भएको छ अब, ठूलो आशा र महत्वकांक्षा प्रारम्भको औपचारिक प्रक्षेपणपछि।

पुस २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्