भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ विवाद: के भएको थियो सिड्नीमा?

काठमाडौँ – अष्ट्रेलिया डढेलोको मारमा परेको छ । यतिबेला त्यहाँ आफ्नो एजेण्डा लिएर भ्रमण गर्नु उचित नहुने सुझावका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको टोली अष्ट्रेलिया उडेकाे थियो।

नेपाल भ्रमण वर्षको र्‍याली निकाल्ने भन्दै मन्त्री भ्टराईको टोली सिड्नीमा भेला भयो, कमजोर व्यवस्थापनसहित। मन्त्री भट्टराईलाई सम्पूर्ण तयारी पुरा गरेको र भव्य र्‍याली निकाल्नु पर्ने भन्दै त्यहाँस्थित नेपाली राजदूत महेश दाहाल लगायतले ढाँटेको पाइएको छ।

प्रचार–प्रचारका लागि तयार मन्त्री भट्टराईले पनि उनीहरुलाई आँखा चिम्लिएर विश्वास गरे। मन्त्री भट्टराईले आफ्नो पदीय मर्यादा र दायीत्व भुलेको देखिन्छ कार्यक्रमको प्रकृति हेरेर त्यहाँ सामेल हुने/नहुनेबारे उपयुक्त निर्णय लिन चुकेसँगै ।

मन्त्री सहभागी हुने कार्यक्रममा नियमपूर्वक र चुस्तरुपमा सञ्चालन गर्नु पर्छ भन्नेमा आयोजकले लापरवाही गरे। मन्त्री भट्टराई नेतृत्वको नेपाल भ्रमण वर्षको र्‍याली नेपालको रत्नपार्कमा आयोजना हुने सामान्य कार्यक्रम जत्तिको पनि व्यवस्थित थिएन।

पैदलयात्रीलाई असर पर्ने गरी अधिकांश नेपालीहरु मात्रै अव्यवस्थित तरिकाले उभिएका थिए । र्‍यालीमा सामेल समाजसेवी दुर्गा दाहालका अनुसार नेपाल भ्रमण वर्षको र्‍यालीमा अष्ट्रेलियन नागरिक सहभागि नहुने या त्यसबारे उनीहरुलाई थाहा नहुनुमा आयोजकको कमजोरी थियो ।

नेपालमा सरकारले भनिरहेको छ,‘जतिसक्दो धेरै विदेशी नागरिक भित्र्याउने । त्यसका लागि उनीहरुलाई पर्याप्त जानकारी दिने।’ तर त्यहाँ आयोजना गरिएको कार्यक्रममा अधिकांश नेपाली मात्रै झुम्मेको देखेपछि आफूलाई नराम्रो लागेको दाहालले बताए।

र्‍याली कार्यक्रममा एनएसडब्लुका सभामुखले बोल्न खोज्दा माइकले काम नगरेपछि उनी माइक फालेर बोल्न बाध्य भएका थिए।

अव्यवस्थित र्‍यालीबारे त्यहाँको सुरक्षा अधिकारीले सुइको पाउन धेरै बेर लागेन। सुरक्षा अधिकारीले खोजीनीति गर्दा र्‍याली आयोजकले सुरक्षा निकायबाट अनुमति नलिएको पाइयो ।

दाहालले अष्ट्रेलियाबाट देशसञ्चारलाई टेलिफोनमा भने,‘ नेपाल भ्रमण वर्षको र्‍याली थियो । सञ्चारमाध्यमलाई पनि निषेध गरिएको थियो । र्‍याली रत्नपार्कमा आयोजना हुने कार्यक्रम जस्तो पनि थिएन । एकैछिनमा प्रहरीले कार्यक्रम नै रोकिदियो।’

अष्ट्रेलियास्थित नेपाली दूतावासले उक्त कार्यक्रमको अनुमति लिनु पर्नेमा त्यसबारे बेवास्ता गर्दा नेपाल र नेपालीकै बेइज्जत भएको छ। उत्साहित मन्त्री भट्टराई अष्ट्रेलियन सुरक्षाकर्मीबाट अचानक र्‍याली रोक्ने निर्देशन आएपछि निराश बनेका थिए।

तस्बिरः सामाजिक सञ्जालबाट

‘तनावग्रस्त बनेको देशमा आएर यो बेला नेपाल भ्रमण वर्षबारे र्‍याली निकाल्ने निर्णय नै गलत थियो । त्यसमाथि जिम्मेवार निकायले अनुमति नलिनु झन लापरवाही हो,’ दाहालले भने।

यसो त मन्त्री भट्टराईलाई स्वागत गर्न जाँदा पनि विमानस्थलमा गैरआवसीय नेपालीको मात्रै अनुहार देखिएको थियो। पूर्वअनुमति नलिएर र्‍याली गर्न पाइने, पैदलयात्रीबारे सोच्न नपर्ने, ट्राफिक जाम गराएर घण्टौ मानिसलाई आजित बनाउने छुट नेपालमा मात्रै छ भन्ने हेक्का त हुनुपर्ने हाम्रा विशिष्ट व्यक्तित्वलाई।

 

पुस २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्