किन विवादित बन्यो अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराई सहभागी र्‍याली?

सिड्नी– अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन सम्पन्न भएको छ।

मंगलबार बिहान ११ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य विधानसभाका सभामुख जोनाथन ओडीले संयुक्त रूपमा सिड्नीको पर्यटकीय क्षेत्र ‘सरकुलर की’ मा एक कार्यक्रमका बीच रिबन काटेर भ्रमण वर्षको शुभारम्भ गरेका हुन्।

नेपाली दूतावासले आयोजना गरेको सो कार्यक्रममा गैरआवासीय संघ अस्ट्रेलियाको समेत साथ र सहयोग रहेको थियो।

सिड्नी वरपरका क्षेत्रबाट नेपालीहरू उद्घाटनका लागि सिड्नीको पर्यटकीय क्षेत्र सरकुलर कीमा पुगेका थिए। कार्यक्रममा डढेलोले मारमा परेको अस्ट्रेलियाका लागि केही राहत दिने उद्देश्यका साथ स्वयम्सेवीहरूले चन्दा संकलन समेत गरेका थिए। कार्यक्रममा डढेलोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

समारोहमा मन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यो दुःखमा नेपाली जनता अस्ट्रेलियाको साथमा रहेको बताउँदै यो दुःखबाट चाँडै मुक्ति हुने आशा व्यक्त गरे। साथै उनले अस्ट्रेलियामा रहेका कुटनीतिक नियोग तथा नेपालीहरूलाई सहयोगमा जुट्नका लागि आग्रहसमेत गरेका थिए।

न्यू साउथ वेल्स राज्यका विधानसभाका सभामुख जोनाथन ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको वर्तमान दुःखमा यहाँका नेपाली समुदायको साथ र सहयोग प्राप्त भएको बताउँदै नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गरेका थिए।

न्यू साउथ वेल्स राज्यका पूर्वप्रिमियर नाथन रिजले अस्ट्रेलियामा नेपाली समुदायको योगदान अभिन्न रहेको बताउँदै आफू आगामी दिनमा नेपाल घुम्न जाने कुरा उल्लेख गरे।

औपचारिक कार्यक्रमको समापनपश्चात सहभागीहरू मन्त्री भट्टराईसहित नजिकैको ओपेरा हाउसको भ्रमण गरेका थिए। सो क्रममा करिब दुई सय जना जति मानिसहरू नेपाल तथा अस्ट्रेलियाको झण्डा बोकर ओपेराहाउसतर्फ जान लाग्दा सुरक्षागार्डले केहीबेर रोकेका थिए।

ओपेरा हाउसभित्र प्रदर्शन, र्‍याली आदि गर्नका लागि पूर्वअनुमति लिनुपर्दछ तर सो स्वीकृति आयोजकहरूले लिएका थिएनन्। त्यसपछि झण्डा नलिइकन मन्त्री भट्टराई तथा अन्य केही सहभागीहरूले ओपेरा हाउसमा पुगेर फोटो खिचाएका थिए।

राजदूत महेशराज दाहालले सो सोधपुछलाई बढाइँचढाइँ गरेर समाचार प्रकाशित गरिएकोमा दुःख व्यक्त गरे। मन्त्री भट्टराईले सो समाचार प्रकाशित गरिएकोमा गम्भीर नियत लुकेको फेसबुकमार्फत् बताएका छन्।

किन विवादित बन्यो कार्यक्रम?


ओपेरा हाउसमा कुनैपनि व्यवसायिक प्रयोजनका लागि प्रचार गर्न तथा र्‍याली निकाल्न सम्बन्धित निकायबाट पूर्वअनुमति लिनुपर्दछ। आयोजकले र्‍यालीका लागि अनुमति मागे पनि स्वीकृत भने भएको थिएन। आयोजकहरूले सो कुरालाई गम्भिरताका साथ लिएनन्। दूतावासले आयोजना गरेको सो कार्यक्रममा दूतावास पूर्णरूपमा कार्यक्रम गर्न तयार नभएको प्रष्ट देखियो।

फितलो आयोजना


नेपाल सरकारका मन्त्री सहभागी हुने सो कार्यक्रमको आयोजना फितलो भएको सहभागीहरूले बताएका छन्। मन्त्री सहभागी हुने कार्यक्रममा नियमपूर्वक र चुस्त रूपमा सञ्चालन गर्नुपर्नेमा आयोजकहरू चुकेको छर्लङग देखिन्थ्यो।

आफ्नो मन्तव्य राख्न खोज्दा एनएसडब्लुका सभामुखले बोल्न खोज्दा माइकले काम नगरेपछि उनी माइक फालेर बोल्न बाध्य भएका थिए। मन्त्री सहभागी कार्यक्रममा आयोजकहरूले प्रशस्त गृहकार्य गरेर कार्यक्रमस्थल सम्बन्धी जानकारी तथा कार्यक्रमलाई अस्ट्रेलियामा आयोजना हुने जस्तो सटिक बनाउन चुकेको हुनाले कार्यक्रम विवादित बनेको कतिपय सहभागीले बताएका छन्।

गलत समय र निर्णय


अस्ट्रेलिया डढेलोको चपेटामा परिरहेको र विश्वको ध्यान अस्ट्रेलियाको संकटलाई पार गर्नेतर्फ केन्द्रित रहेका बखत नेपालबाट मन्त्री आएर भिजिट नेपालको उद्घाटन गर्ने कार्यक्रम राखिनुलाई कतिपय मानिसले अनुचित ठानेका छन्।

‘नेपालमा भूकम्प गएका वेला यदी अस्ट्रेलियाबाट मन्त्री गएर कार्यक्रम गर्‍यो भने नेपालीले के सोच्लान्, त्यही मर्मलाई बुझेर पर्यटनमन्त्रीको कार्यक्रमलाई स्थगित गर्नु पर्दथ्यो’, सिड्नीको स्ट्रयाथफिल्ड निवासी निखिल अर्यालले भने।

आयोजकले भने यससम्बन्धी पर्याप्त छलफल गरेपछि कार्यक्रमको प्रारूपलाई बदलेर भिजिट नेपालको प्रवर्द्धन गर्नुका साथै अस्ट्रेलियाको संकटमा नेपालीको साथ र सहयोग छ भन्ने सन्देश दिने हेतुले कार्यक्रमलाई परिवर्तन गरेको बताएका छन्।

प्रवासमा पनि राजनीति


नेपाल सरकारको तर्फबाट नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय उद्घाटन गर्नका निम्ति मन्त्री आए पनि उनी प्रवासमा आफ्ना पार्टीको घेराभन्दा बाहिर देखिएनन्। उनले देशको नेतृत्व गरेको भन्दा पनि पार्टीको नेताको रूपमा आएको जस्तो आभास भएकाे कतिपयले बताए।

आफ्ना कार्यकर्ताको घेराभन्दा बाहिर नजाने तथा एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको कार्यकतालाई शत्रु ठान्ने प्रवृत्ति प्रवासमा पनि उत्तिकै व्याप्त छ।

‘देशको मन्त्री भएपनि विदेशमा समेत पार्टीको घेराभन्दा माथि उठ्न नसक्नुले हाम्रो राजनैतिक चेतनाको स्तरलाई प्रष्ट पार्दछ’, अबर्न निवासी रमेश श्रेष्ठले भने।

पुस २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू