एक रुपैयाँमै खानुस् मन परेको खाना

एक रुपैयाँमै खानुस् मन परेको खाना

काठमाडौँ– फुडमाण्डु स्थापना भएको धेरै वर्ष भए पनि फुड फेस्टिवलको सोचले जन्म लिएको दुई वर्ष भयो। दुई वर्षदेखि नै फुडमाण्डुले निरन्तर ‘फुडमाण्डु अनलाइन फुड फेस्टिवल’ गर्दै आएको छ।

यसै क्रममा यस वर्ष पनि फुड फेस्टिवल (खानामेला) को आयोजना गरिएको छ। साेमबार सुरु भएकाे फेस्टिवल पुस २७ गतेसम्म चल्नेछ।

फुड फेस्टिवलमा खानाका सोखिनहरुले आफूलाई मन पर्ने खाना अर्डर गर्न सक्नेछन्। यसमा खाना मात्र होइन, खानासँगै खेलको मजा पनि लिन सकिनेछ। अनलाईनमार्फत खानासँगै रमाइलो पनि गर्न सकिने फुडमाण्डुका म्यानेजर श्यामरत्न मालीले बताए।

म्यानेजर मालीले यसपटक गेमलाई अपग्रेडसमेत गरिएको बताए। उनले फुड फेस्टिवलको डिजिटल अनुभवलाई भर्चुअल भौचरहरुले वास्तविक बनाउने जानकारी दिए।

तर कसरी?

उनले भने, ‘स्टलहरुसँगै हामीले गेमहरु पनि राखेका छौँ। खेल खेल्दा भौचर मिल्छ। त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिनेछ।’

खानाको मेलामा कसरी जाने ?


खानाको मेलामा जान आफ्नो मोबाइलमा फुडमाण्डु एप डाउनलोड गर्नुपर्छ । मोबाइल एपका अलावा अनलाइन पेजबाट पनि अर्डर गर्न सकिने मालीले बताए। अनलाइन फुड फेस्टिवलमा ३० वटा रेष्टुरेन्टले स्टल राखेका छन्। फेस्टिवलमा विभिन्न प्रकारका खानेकुरा पाइन्छन्।

यस्तै ‘सबै रु. एकमा’ स्टलबाट भने जुनसुकै खाना एक रुपैयाँमा अर्डर गर्न सकिन्छ। म्यानेजर मालीका अनुसार एक रुपैयाँको मात्र खाना अर्डर गर्दा डेलिभरी हुँदैन। त्यसका लागि कम्तिमा चार सयभन्दा बढीको अर्डर गर्नुपर्छ।

उनका अनुसार अनलाइन फुड फेस्टिवलमा ‘फ्याल्स सेल’ को स्टल दिनमा दुई पटक खुल्छ। दिउँसो १ देखि २ बजेसम्म र साँझ ७ बजेदेखि ८ बजेसम्म। ग्राहकले यही समयभित्र खाना अर्डर गरिसक्नुपर्छ। अरु समयमा बन्द रहनेछ।

यस्तै अर्को मिस्ट्री ब्याग पनि छ, जुन एउटा पूर्ण ह्याम्पर हो। जसमा खानेकुरा र फ्रिबिज हुनेछन्, र अनलाइन गेमहरु समेत रहेका छन्। केही नयाँ सामग्रीहरु समेत ती अफरहरुमा उपलब्ध हुनेछन्। तर मिस्ट्री ब्यागमा ‘भेज आइटम’ मात्र पाइन्छ।

माली भन्छन्, ‘यस फेस्टिवलमा अनलाइन गेम खेलेर उपहार जित्न सकिने र फ्री होम डेलिभरीको समेत व्यवस्था छ। रेष्टुरेण्टमा पाइने मूल्यभन्दा कम मूल्यका खानेकुरा पाइन्छन्।’

यस्तै फेस्टिवलमा फ्ल्यास डिल्सजस्ता लोकप्रिय अफरहरु पनि छन्। यी अफरहरु दैनिक तीन पटक खुल्ला हुनेछन्।

फुडमाण्डुका मालीले यस पटक नयाँ फिचर थप गरिएको बताए। उनले भने, ‘प्रत्येक वर्ष हामी अनलाइन फुड फेस्टिवललाई फरक बनाउन नयाँ फिचरहरु थप गरिरहेका छौँ। यसपटक अग्मेन्टेड रियालिटी आएको छ। ‘भौचर हन्ट’ जुन हामीले ग्राहकहरुका लागि स्टोरमा राखेका हुन्छौँ।’

यसपटक फुड फेस्टिवललाई अझ सहज बनाउने प्रयास गरिएको छ। ग्राहकले फुडमाण्डु एपबाट अर्डर गर्नुका साथै सोझै फोन गरेर पनि अर्ड गर्न सक्नेछन्।

नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले सो सिमको डाटामार्फत निशुल्क एप चलाउन सक्ने म्यानेजर मालीले बताए। जसको अर्थ ग्राहकहरुले उपलब्ध भएका अफरहरुमा कलेज, घर वा कार्यालय जहाँ भए पनि सहभागिता जनाउन सक्नेछन्।

फुडमाण्डुको अनलाइन फुड फेस्टिवल पहिलोपटक २०१७ डिसेम्बर २२ देखि जनवरी ५ सम्म भएको थियो।

भिडियो पनि हेर्नुहोस्:

पुस २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्