उपचार खर्चकाे अभावमा अस्पतालमै बन्धक, पैसा खाेज्न गएका बुवा फर्केनन्

विराटनगर अस्पातालमा उपचाररत जीवन भुजेल।

मोरङ– घाँटीको उपचारका लागि संखुवासभाबाट ६ महिनाअघि विराटनगर आएका बिरामी अस्पतालमै बन्धक बन्न बाध्य भएका छन्।

खाँदबारी १० चन्दनपुरका २० वर्षीय जीवन भुजेललाई उपचारका लागि विराटनगर अस्पतालभित्रै छाडेर उनका बुबा गणेश भुजेल सम्पर्कविहीन अवस्थामा छन्।

भोजपुरको षडानन्द नगरपालिका मझुवाबेसीमा निर्माणाधीन खेल मैदानमा कार्यरत बुवा गणेशलाई भेट्न साथीसहित पुगेका जीवनमाथि आक्रमण भयो। असार ५ गते साथी पदम र सुवास कट्वालको त्यही निर्माण भइरहेको इर्खुवा जलविद्युतका कामदारसँग झडप भएको थियो।

झडप छुट्टाउन पुगेका जीवनमाथि कामदारले रडले आक्रमण गरे। जीवन तत्कालै जमीनमा ढल्न पुगे। उनको टाउको, पेट, घाँटी र छातीमा गहिरो चोट लाग्यो। त्यसलगत्तै उपचारका लागि उनलाई बुबाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याए। त्यहाँबाट थप उपचारका लागि विराटनगर अस्पताल लैजान भनिएपछि परिवारले असार ६ गते विराटनगर ल्याएका थिए।

त्यसपछि जीवनको उपचार सुरु भएको थियो। त्यसयता उपचारका क्रममा करिब ५ लाख रुपैयाँ खर्च भइसकेको अस्पतालले जनाएको छ। त्यसैगरि औषधि र खानाको रकम ३ लाखभन्दा बढी भइसकेको छ। रकम बढ्दै गर्दा कात्तिकमा उनका बुबा रकमको जोहो गर्ने भन्दै सम्पर्कविहीन भएको अस्पतालको भनाइ छ।

अस्पतालले भने जीवनको उपचार खर्च बाँकी रहेको र जिम्मा लिने सदस्य सम्पर्कमा नहुँदा डिस्चार्ज गर्न नसकिएको जनाएको छ।

जीवनको उपचारमा संलग्न डा. राजीवकुमार साहका अनुसार घाँटीमा गम्भीर समस्या रहेकोले उपचारका क्रममा श्वास–प्रश्वासका लागि पाइप राखिएको छ। नाक, कान, घाँटीका चिकित्सक साहले भने, ‘अब पाइप शल्यक्रियाबाट निकाल्ने समय भएको छ। तर परिवार सम्पर्कमा आएका छैनन् जसका कारण उपचारमा ढिलाइ भएको छ।’

हाल जीवन हाउभाउ तथा इसाराले आफ्नो अभिव्यक्ति जाहेर गर्ने गर्छन्। डा. साह भन्छन्, ‘उनको घाँटीमा राखिएको पाइप निकालिएपछि उनको बोली खुल्नेछ। तर पाइप धेरै दिन राखिरहँदा संक्रमण हुने सम्भावना समेत हुन्छ।’

अर्कोतर्फ अस्पतालका लेखापाल सुवास पोखरेल अस्पतालले गर्ने छुट दिएर बिरामीलाई डिस्चार्ज गर्न सकिने भए पनि परिवारका सदस्य र आफन्त सम्पर्कमै नभएको बताउँछन्।

भुजेल परिवार ज्याला मजदुरी गर्दै जीविका चलाउँदै आएका हुन्।

भुजेल परिवार पछिल्लो समय एकपछि अर्को पीडाबाट गुज्रिएको छ। १६ महिनाअघि जीवनकी आमाको निधन भएको थियो। त्यसपछि गत कात्तिकमा उनका दाजु नवीनले समेत आत्महत्या गरे।

अस्पतालमा उपचारका लागि भर्ना भएका जीवन न आमाको वर्षदिनको काममा सरिक हुन पाए न त दाजुकै अन्त्येष्टीमा। आफ्नो दुःख व्यक्त गर्ने क्रममा कापीमा लेख्दै उनले भने, ‘बुबा रकम जोहो गर्न जानुभएको धेरै भयो। गाउँमा सायद बुवालाई यति धेरै रकम कसैले पत्याएनन् होला।’

पुस २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू