युक्रेनी विमान इरानमा दुर्घटना, १७६ जनामध्ये कोही पनि जीवित नरहेको आशंका

युक्रेनको विमान इरानको राजधानी तेहरान नजिकै दुर्घटनामा परेको छ । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १७६ जना यात्रु तथा चालकदलका सदस्य लिएर उडेको इरान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बोइङ्ग ७३७–८०० जेट विमान उडान भरेको केही बेरपछि नै तेहरानको दक्षिण पश्चिमी क्षेत्र पारान्डमा दुर्घटनाग्रस्त भएको हो । इरानका समाचार संस्था आइएसएनएका अनुसार युक्रेनियन एयरलाइन्सको विमान प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको हो ।

इरानको रेड क्रेसेन्टले विमानमा रहेकाहरु जीवित रहने सम्भावना नरहेको बताएको छ । फार्स स्टेट न्युज एजेन्सीका अनुसार विमान युक्रेनको राजधानी किएभका लागि उडेको थियो ।

इरान–अमेरिकाबिच हाल कायम तनाव र विमान दुर्घटनाबिच सम्बन्ध नरहे–नरहेको स्पष्ट भएको छैन । उद्धार टोली घटनास्थल पुगेका छन् । इरानको रेड क्रेसेन्टका प्रमुखले कसैलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना अब असम्भव रहेको बताएका छन् ।

पुस २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्