फोटो फिचर

गुराँसको राजधानीमा हिउँको मज्जा

विराटनगर – गएको पाँच दिनदेखि तेह्रथुुमस्थित गुराँसको राजधानीले चिनिएको बसन्तपुरको पर्यटन व्यवसायीमा उत्साह थपिएको छ। तर यसपटक सो क्षेत्रमा गुराँसले भन्दा पनि हिउँले पर्यटनलाई टेवा पुर्‍याएको छ ।

शनिबार रातीबाट हिउँ पर्न थालेसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेपछि व्यवसायीमा समेत त्यसको सकारात्मक प्रभाव देखिएको छ।उच्च पहाडी क्षेत्रमा हिउँ परेसँगै तराईको विराटनगर, दमक, इटहरी, धरान, धनकुटा, सिदुवा, हिलेबाट हिउँ खेल्नका लागि सो क्षेत्रमा पर्यटक पुग्न थालेका हुन्।

अत्याधिक जाडोसँगै हिउँ खेल्ने धनकुटा कर्मीटारका विशाल तुम्बाहाङले ९ जनाको टोली नै बनाएर शनिबार राती तिनजुरे मिल्के क्षेत्रमा पुगेका बताए। कठ्याङग्रिदो जाडो मौसमसँगै हिउँकै मज्जा लिनका लागि आफूहरु चौकी भन्ज्याङसम्म पुगेको तुम्बाहाङको भनाइ छ।

भ्रमण वर्ष २०२० मनाउने क्रममा रहेको हामीले यस क्षेत्रको विकासमा ध्यान दिन सके मिनी मुस्ताङका रुपमा चित्रण गर्न सकिने उनको भनाइ छ। यसअघि पनि हिउँ परेको समयको आनन्द लिइसकेका तुम्बाहाङ भन्छन्, ‘यहाँसम्म पुग्ने अवस्था र दैनिकीको पीडा आफ्नो स्थानमा होला। तर, हामी जस्तो केहीदिन हिउँ खेल्न पुग्नेका लागि भने यो समय निकै आनन्दायी भएको छ।’

शनिबार रातीबाट हिउँ पर्न सुरु भएको सो क्षेत्रमा आइतबार बिहान डाडा हिउँले नै ढपक्क छोपिएको उनी बताउँछन्। उनी भन्छन्, ‘सेताम्म हिउँ र डाडाँबाट झुल्किएको सूर्योदयको दृष्यले जोकोहीको मन लोभ्याउँछ। अर्कोतर्फ, हिउँ परेका कारण नै सो क्षेत्रमा यतिबेला पर्यटकको घुइँचो रहेको छ।’

बसन्तपुरस्थित लालीगुराँस नगरपालिकामा रहेको अन्नपूर्ण होटलकी सञ्चालिका चन्द्रा बरालले केहीदिन देखि पर्यटकको घुइँचो बढेको बताइन्। हिउँकै कारण आन्तरिक पर्यटक भित्रिएको बताएकी बरालले यो क्रम अझ केहीदिन जारी रहने बताइन् । नगरपालिकास्थित बसोबासका लागि खुलेका ३ देखि ४ वटा होटल तथा लज पर्यटकले भरिएपछि उनीहरुको व्यवयासले समेत छोटो समयका लागि गति लिएको जानकारी दिइन्।

बरालका अनुसार हिउँ खेल्नैका लागि युवायुवती विशेष गरि, त्यसपछि पारिवारिक रुपमा समेत सो क्षेत्र पुग्ने गरेकाछन्।

त्यसैगरि, गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रस्थित लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले हिउँ परेका कारण पर्यटकको भीड बढेको बताए। उनले भने, ‘बसन्तपुर क्षेत्रको गुराँस हेर्न, रमणीय दृष्यावलोकनका लागि पर्यटकको आवतजावतले स्थानीयदेखि ब्यवसायी उत्साहित भएकाछन्।’ उनका अनुसार अझै केहीदिन पहाडको माथिल्लो भेगमा हिउँ देख्न सकिनेछ।

शनिबार रातीबाट परेको हिउँले बसन्तपुरदेखि करिब ४ किलोमिटर उत्तरतर्फ रहेको देउराली, तिनजुरे मिल्के, पाथीभरा मन्दिर, चौकी भञ्ज्याङ, गुफा पोखरीसम्म सेताम्म बनाएको छ। हिउँ परेका क्षेत्र समुन्द्रीसतह भन्दा २ हजार २ सय मिटर माथिको उचाइमा रहेका छन्।

पुस २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू