बाँकेबाट शुरु भयो समुदायमा आधारित डीआर टिबी डट

नेपालगञ्‍ज-नेपालमै पहिलो पटक बाँकेबाट समुदायमा आधारित डीआर टिबी (बहुऔषधी प्रतिरोधी क्षयरोग) डट शुभारम्भ गरिएको छ। यो कार्यक्रमपछि बहुऔषधी प्रतिरोधी अर्थात एमडीआर टिबीका बिरामीले उनीहरुको घर नजिकको स्वास्थ्य संस्थाबाट औषधी खान पाउँछन्।

जिल्लाको उढरापुर र परसपुर स्वास्थ्य चौकीबाट त्यसको शुरुवात गरिएको छ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सागर राजभण्डारीले उढरापुरमा अयुव शेष र परसपुरमा सैदुला बेहनालाई औषधी खुवाएर समुदायमा आधारित डीआर टिबी डटको शुरु गरे।

यी दुवै जना बिरामीले दैनिक नेपालगञ्जमा रहेको टिबी अस्पतालमा आएर औषधी खाने गर्दथे। अब नजिकको चौकीबाट उक्त औषधी पाउने भएका छन्।शेषले दैनिक कम्तीमा सय रुपैया खर्च गरेर नेपालगञ्ज जानु पर्ने समस्याबाट मुक्ति मिलेको बताए। बेहनाले छोरीलाई लिएर जादा दैनिक दुई सय रुपैया खर्च भइरहेकोमा अब नजिकको स्वास्थ्य चौकीबाट औषधी पाएपछि राहत मिल्ने प्रतिक्रिया दिइन्।

सरकारले क्षयरोगको औषधी निशुल्क दिने गर्दछ।निशुल्क दिएपनि स्वास्थ्यकर्मीको निगरानीमा निश्चित ठाउँमा पाइने भएकाले बिरामी मर्कामा पर्दै आएका थिए।बाँकेका २८ सहित ६० जनाले दैनिक नेपालगञ्जको टिबी नेपालको अस्पतालमा आएर औषधी खाइरहेका छन्।आर्थिक वर्ष २०७५÷७६ मा बाँकेमा ८ सय ४ जना क्षयरोगी छन्।त्यसमा बहुऔषधी प्रतिरोधी क्षयरोगी २८ जना रहेका छन्।

बाँकेबाट शुरु गरिएको डीआर टिबीको डट सेवा बिरामीले नजिकको स्वास्थ्य चौकीबाटै सेवा लिन पाउँछन्।यो बिस्तारै देशभरी सञ्चालन गर्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. राजभण्डारीले जानकारी दिए।‘अब बहुऔषधी प्रतिरोधी क्षयरोगीले नजिकको चौकीबाट औषधी गर्न पाउँछन्।उनीहरुलाई टाढा जानु पर्दैन, केन्द्रका निर्देशक राजभण्डारीले भने, औषधी निशुल्क दिएपनि बिरामीलाई टाढा जानु पर्दा हैरानी हुँदै आएको थियो ।’

निर्देशक राजभण्डारीका अनुसार, नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने आकलन गरिएको छ।तर, ३३ हजार मात्रै पत्ता लाग्छन्।१३ हजार समाजमा हराइरहेका छन्।त्यसमा बहुऔषधी प्रतिरोधी क्षयरोगी वर्षेनी पन्ध्र सय फेला पर्नु पर्नेमा ६ सय मात्रै भेटिरहेका छन्।

फेला परेकाहरुले पनि टाढा जानु पर्दा, साइड इफेक्ट देखा पर्दा र अलिकति निको भएपछि छोड्ने गरेका छन्।लुकेका क्षयरोगीले वर्षमा १०–१५ जना रोग सारिरहेका छन्।‘लुकेका क्षयरोगीलाई छिटो उपचार पद्धतिमा ल्याउनु ठूलो उपचार हो, केन्द्रका निर्देशक राजभण्डारीले भने, नेपालको एक तिहाई क्षयरोगी ५ नम्बर प्रदेशमा रहेकाले नयाँ कार्यक्रम यहीबाट शुरु गरेका छौं।’

दामियन फाउण्डेसनका नेपाल प्रतिनिधि डा. सुशील कोइरालाले विरामीलाई केन्द्रविन्दुमा राखेर उसलाई पायक पर्ने ठाउँबाट औषधी पुर्‍याउन समुदायमा आधारित डीआर टिबी डट शुरु गरेको जानकारी दिए।नेपालमा अहिले २१ वटा सेन्टर र ८६ वटा उपसेन्टरबाट टिबीको औषधी वितरण भइरहेको छ।

प्रतिवेदन अनुसार, नेपालमा ७१ प्रतिशत क्षयरोगी औषधी खाएर निको हुने गर्दछन्।१३ प्रतिशतले बीचमा औषधी खान छोड्छन्।६३ प्रतिशतले क्षयरोगी बढिरहेको छ।दैनिक १८ देखि २२ जनाको मृत्यु भइरहेको छ।

केन्द्रका मेडिकल अफिसर डा. प्रमोद भट्टराई, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अंगद शाही, टिबी नेपालका हिक्मत खड्का, उढरापुरका वडाध्यक्ष देवेन्द्रमान श्रेष्ठ, परसपुरका कावा अध्यक्ष फिरोज बेहनाले नयाँ कार्यक्रमले बिरामीको समय, पैसाको बचत हुने विश्वास गरे।

पुस २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्