भैँसेपाटी बैठकमा आफ्नो विकल्प खोजेपछि नारायणकाजीसँग जंगिए ओली

फाइल तस्बिर

काठमाडौँ- सत्ताधारी नेकपाभित्रैबाट आफूलाई एक्लाउने र प्रधानमन्त्री पदबाट विस्तापित गर्ने चलखेलप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई कठोरताकासाथ सामना गर्ने रणनीति अख्यितार गरेका छन्।

बुधबार भैँसीपाटीस्थित नेता बामदेव गौतमको निवासमा नेकापका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन शीर्ष र प्रभावशाली नेताहरुबीच ओलीलाई चुनौति दिने निर्णय भएको २४ घण्टा नबित्दै ओलीले त्यो बैठकमा सहभागि नारायणकाजी श्रेष्ठलाई बालुवाटार बोलाई बैठकको समग्र विवरण माग गरेका छन्।

स्रोतका अनुसार जवाफमा श्रेष्ठले बाहिर आएको हल्ला साँचो नभएको र बैठकमा समसामयीक विषयमा छलफल भएको भन्दै ओलीको आक्रोश मत्थर पार्ने कोशिस गरेका थिए।

तर आफूले विधान अनुसार  काम गरिरहेका बेला गुटबन्दी गरी आफूलाई एक्लाउन गरिएको यो प्रयास पछाडिको नियत के हो भन्दै ओलीले श्रेष्ठलाई सोधेको थिए।

बिहीबार साँझ पख करिव दुई घण्टा भएको उक्त भेटपछि श्रेष्ठले गौतम निवासमा भएको बैठकमा सहभागि नेताहरुलाई प्रधानमन्त्री ओलीको आक्रोश र ओलीले त्यसलाई खुलेर सामना गर्ने अठोट लिएकोबारे जानकारी दिएको बुझिएको छ ।

स्रोतका अनुसार ओलीले गौतम निवासमा भएका बैठकमा आफ्ना हरेक जसो निर्णयबारे आलोचना गर्दै आएका नेता भीम रावललाई सहभागी गराएकोमा पनि आपत्ती जनाएका थिए।

त्योसँगै ओलीले राष्ट्रियसभामा संविधानले तोके अनुसार कसलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने या नगर्ने अधिकार पार्टी नेताहरुले खोस्ने प्रयास गरेको भन्दै आपत्ती जनाएका छन्।

राष्ट्रीय सभाका सदस्य अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे पदावधि समाप्त भएपछि उनको ठाउँमा राष्ट्रपतिले गौतमलाई  मनोनयन गर्नु पर्ने नेताहरुको अडानपछि ओलीले आपत्ती जनाएका हुन्।

संविधानमा संशोधन गरि राष्ट्रीयसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउनु पर्ने सर्त राख्दै आएका गौतमलाई राष्ट्रियसभामा मनोनित सदस्यका रुपमा लैजाने प्रयासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावल एक ठाउँमा आउनुलाई ओलीको विकल्पका रुपमा गौतमलाई अगाडि सारिएको सन्देशका रुपमा हेरिएको छ।

अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौताको अनुमोदन नगर्न र सभामुखमा प्रधामन्त्री ओलीले अघि सारेका सुभास नेम्वाङको विरोधसँगै ओलीको विकल्पका रुपमा गौतमलाई सार्ने प्रयास भएपछि पहिलो पल्ट ओलीले आफ्नो आक्रोश नेता श्रेष्ठमार्फत पोखेका हुन्।

ओलीले प्रश्न तेर्साएका थिए,‘ तपाईहरुले मलाई एक्लै पार्न खोजको हो ? ल के गर्नुहुन्छ हेरौँ त ? मैले राम्रो काम गर्दा गर्दै चेपुवामा पार्ने ?’

पुस २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू