भाजपा कार्यकर्ताको बहिस्कारबीच दीपिकाको ‘छपाक’ प्रदर्शन, मध्यप्रदेश र छत्तिसगढमा ‘ट्याक्स फ्री’

एजेन्सी– करिब १४ वर्षअघि एसिड आक्रमणको शिकार बनेकी लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित बलिउड चलचित्र ‘छपाक’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

चलचित्र भारतमा करिब दुई हजार स्क्रीनमा रिलिज भएकाे छ। मेघना गुलजारको निर्देशनमा बनेको यो चलचित्रमा दीपिका पादुकोणले लक्ष्मीको भूमिका निर्वाह गरेकी छन्।

चलचित्रकाे रिलिजअघि दीपिका मुम्बईस्थित सिद्धिविनायक मन्दिरमा पुगेर चलचित्रको सफलताको लागि प्रार्थना गरेकी थिइन्।

दीपिका केही दिनअघि दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) पुगेर नकापधारीहरुको आक्रमणमा परि घाइेत भएका विद्यार्थीहरुको समर्थन गरेपछि यतिबेला उक्त घटना भारतभर बहसको विषय बनेको छ।

बलिउड अभिनेत्री दीपिका पादुकोण मंगलबार राति जेएनयू गएकी थिइन्। उनी आइतबार राति विश्वविद्यालयका विद्यार्थीमाथि नकाबधारीले गरेको आक्रमणको विरोध र प्रभावित भएका विद्यार्थीसँग भेट्न तथा विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउन जेएनयू पुगेकी थिइन्।

आइतबार राति भाजपा समर्जित विद्यार्थी संगठनका नकाबधारीले विश्वविद्यालयमा प्रवेश गरेर विद्यार्थी तथा शिक्षकमाथि आक्रमण गरेका थिए। सो घटनाको दिल्लीसहित भारतका विभिन्न स्थान र विभिन्न क्षेत्रका व्यक्तिले विरोध गर्दै सामाजिक सञ्जालमा घटनाको निन्दा गरेका थिए।

सोही क्रममा दीपिका जेएनयू गएर आक्रमणबाट प्रभावित भएका विद्यार्थीसँग भेटेकी थिइन्। तर उनी जेएनयू गए लगत्तै भाजपा कार्यकर्ताले सामाजिक सञ्जालमा ‘बोइकट छपाक’ ह्यासट्याग सुरु गरेका थिए।

दीपिका मंगलबार बेलुका सवा सात बजेतिर जेएनयू पुगेकी थिइन्। उनी केहीबेर त्यहाँ जम्मा भएका व्यक्तिहरुको बिचमा रहिन्। उनले विद्यार्थी युनियनका अध्यक्ष आईशी घोषसँग भेट गरिन् । घोषमाथि आइतबार राति आक्रमण भएको थियो।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता कार्यकर्ताहरुले दीपिका जेएनयू गएकाे विषयलाई विवादित बनाएका छन्। उनीहरुले सामजिक सञ्जालमा दीपिकाको चलचित्र ‘छपाक’ बहिस्कार गर्न आह्वान गरेका छन्।

भाजपा कार्यकर्ताले ‘छपाक’ बहिस्कार गर्न आह्वान गरेपनि दीपिकाको समर्थनमा समेत सामाजिक सञ्जालमा आवाजहरु उठिरहेका छन्।

यसैबीच मध्यप्रदेश र छत्तिसगढमा कांग्रेस सरकारले ‘छपाक’लाई ‘ट्याक्स फ्रि’ गरेका छन्। यस्तै उत्तर प्रदेशमा पूर्वमुख्यमन्त्री अखिलेश यादवका कार्यकर्ताले ‘छपाक’ हेर्नका लागि पूरा हल नै बुक गरेका छन् भने पञ्जाबमा समेत एसिड सभाईभरहरुलाई चलचित्र देखाउने व्यवस्था गरिएको बताइएको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको कतै विरोधमा पोष्टर जलाईको छ भने कतै समर्थकहरुले पोष्टर लहराएका छन्। ‘छपाक’ यतिबेला राजनीतिको चेपुवामा समेत परेको छ। भाजपा कार्यकर्ताले पोष्टर जलाइरहँदा कांग्रेस कार्यकर्ताहरुले भने छपाकको समर्थन गरेका छन्।

यस्तै बलिउड अभिनेता कार्तिक आर्यनले समेत जेएनयू विवादमा आफ्नो विचार व्यक्त गर्दै दीपिकाको समर्थन गरेका छन्।

उनले बलिउड हंगामालाई दिएको अन्तवार्तामा भनेका छन्, ‘दीपिकाले जे गरेकी छन्, त्यसको म सम्मान गर्छु। म आशा गर्छु की धेरै नागरिकहरु यस मुद्दामा एक ठाउँमा उभिने छन्। यसबारेमा कुरा गर्नु जरुरी छ। यहाँ जे भइरहेकाे छ, यो हाम्रो देश होइन। यस्ता कुरा यहाँ हुनु हुँदैन।’

नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोधमा यतिबेला भारतभर विरोध प्रदर्शन भइरहेको छ।

यसैबीच नकाबधारीहरुको समूहले जेएनयुमा प्रवेश गरी सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोध गरिरहेका विद्यार्थीहरुमाथि आक्रमण गरेको थियो।

पुस २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू