प्रदेश १ को पनि नामकरणको चर्चा चर्कियो, विपक्षीहरु पर्ख र हेरको स्थितिमा

विराटनगर– प्रदेश नं ३ को नाम र स्थायी राजधानीको विषयमा बहस चलिरहँदा प्रदेश नं १ मा पनि नामको बहस चर्किन थालेको छ।

प्रदेश नं ३ को सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलले प्रदेशको ‘नाम बागमती र स्थायी राजधानी हेटौंडा’ प्रदेश संसदमा प्रस्ताव गर्ने शुक्रबार निर्णय गरेको छ।

प्रदेश ३ को नामकरण तथा राजधानीका विषयमा करिब सहमति बनेपछि प्रदेश १ को नामको विषयमा कुनै दलहरु पर्ख र हेरको रणनीतिमा उभिएका छन् भने कुनै दलहरुले उक्त विषयलाई चर्चामा ल्याएका छन्। यद्यपि प्रदेश १ को राजधानी विराटनगर रहने भनी यसअघि नै टुंगो लागिसकेको छ।

सत्तारुढ नेकपाका नेता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नामका विषयमा छलफल चल्दै आएको बताए।

नामाङ्कनका बारेमा बाहिर छलफल गरेर विवाद सृजना गर्ने विषय नभएको बताउँदै मन्त्री कार्कीले भने, ‘पार्टी नेतृत्व, पदाधिकारी, प्रदेश कमिटी लगायतमा अनौपचारिक छलफल भइरहेको छ। यसक्रममा प्रतिपक्षी नेपाली कांग्रेस लगायतसँग पनि छलफल बढाइरहेका छौँ।’

पार्टीको माथिल्लो तहबाट नाम प्रस्ताव हुँदा पनि त्यसमा छलफल र सहमति गरेर मात्र अघि बढ्ने बताएका आन्तरिक मामिला मन्त्री कार्कीले माघबाट सुरु हुने हिउँदे अधिवेशनमा प्रदेशको नामाङ्कनको विषय टुंग्याउने जानकारी दिए।

उनले भने, ‘यसमा सहमतिबाटै अघि बढ्ने प्रयास जारी रहेको छ।’

हाल प्रदेश एकको नामका लागि किराँत, कोशी, सगरमाथा, विराट, लिम्बूवान, मेचे, कञ्चनजंघा लगायतको नाम छलफलका लागि आएको मन्त्री कार्कीको भनाइ छ।

प्रदेश १ मा नेकपाको बहुमतसहित ९३ सांसदको उपस्थिति रहेको छ। जसमा प्रदेश संसदबाट नाम पारित गर्नका लागि नेकपासँग बहुमत रहेको छ।

नेकपासँग दुई तिहाई बहुमतका लागि ६७ सांसद रहेका छन्। सोही मत सदनमा एकपक्ष रुपमा आए नामाङ्कन टुंगिनेछ।

प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पर्ख र हेरको अवस्थामा रहेको छ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्की संसद खुलेपछि नामका विषयमा सत्तापक्षले कस्तो रणनीति खेल्छ त्यही अनुसार आफूहरु अघि बढने बताउँछन्।

सत्तापक्षले आउँदो अधिवेशनमा नाम ल्याउने भन्दै गरेको बुझेका प्रमुख सचेतक कार्कीले भने, ‘हामीसँग यस विषयमा छलफल भएको छैन। छलफल प्रदेश सभा वा सचिवालयमा ल्याउने हो त्यो पर्खिरहेका छौँ।’

नेकपाले प्रदेश ३ मा सचिवालयबाट नाम प्रकाशित गरेर ल्याउने ट्रेण्ड बनाएको बताएका कार्कीले भने, ‘हामी यही छलफल गरेर सहमतिबाट नाम अघि बढ्ने आशामा रहेका छौँ। प्रदेश १ सरकारले राणा प्रवृत्तिको दास प्रथा छोडे या नछोडेको भन्ने कुरा नामाङ्कनका क्रममा थाहा हुनेछ।’

नेपाल समाजवादी पार्टी प्रदेश एकका संसदीय दलका नेता जयराम यादव भने ६७ मत नै एक रुपताका साथ नामाङ्कनका लागि एकै स्थानमा उभिने सम्भावना कम रहेको बताउँछन्।

नेकपाभित्र पनि पूर्व माओवादी, एमालेको मिश्रण रहेकोले ६७ मत नै निर्वाचन भएको खण्डमा खस्छ भन्नेमा फरक बुझाई राखेका यादवले भने, ‘सत्तापक्षको कुरा एउटा होला, तर समाजवादी पहिचानसहितको नामको पक्ष रहन्छ। त्यस बाहेकको नाम अघि बढे मान्य हुने छैन।’

समाजवादी पार्टी प्रदेश सरकारको गतिविधि र रणनीतिको पर्खाइमा रहेको उनले बताए। नाम जसरी प्रस्ताव हुन्छ त्यसपछि अघि बढ्ने उनको भनाइ छ।

पुस २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्