सन्दर्भ : पृथ्वीनारायण शाहको २९८ औँ जयन्ती

‘ज्यान मारेर आएकालाई सलाम गर्नु पर्ने दिन आउँदा दुःख लाग्छ’

‘ज्यान मारेर आएकालाई सलाम गर्नु पर्ने दिन आउँदा दुःख लाग्छ’

काठमाडौँ– दुई दिनपछि पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औँ जयन्ती आउँदै गर्दा उनले नेपाल एकीकरणमा पुर्‍याएको योगदान र उनको सैन्य कौशलबारे चर्चा सुरु भएको छ।

पृथ्वीनारायण शाहको उपदेशलाई गम्भीर भएर लागू गर्ने हो भने नेपालीको पहिचान जोगिने र नेपाल विकास, सुशासनयुक्त र भ्रष्टाचारमुक्त मुलुक बन्ने निष्कर्ष विज्ञहरुले निकालेका छन्, राजधानीमा आयोजित अन्तर्क्रियामा।

यसैबीच लेखक, साहित्यकार र भूगोलविद् रामकुमार पाँडेले पृथ्वीपथलाई बेवास्ता गर्दा मुलुकमा हाल अपराध, अराजकता तथा भ्रष्टाचार बढेको र शासकहरु सामन्ती सोचबाट अघि बढेको गुनासो गरेका छन्।

देशसञ्चारसँगको अन्तवार्तामा पाँडेले पृथ्वीपथलाई व्यवहारिक बनाउन नसक्दा जघन्य अपराध र हिंसामा संलग्न भएकाहरुलाई नेपालीले सलाम ठोकेर बस्नु पर्ने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।

पृथ्वीनारायण शाहले नेपालको एकतालाई भरपूर जोड दिए पनि अहिलेका शासक र राजनीतिक दलले त्यसविपरीत काम गरिरहेको पाँडेको निष्कर्ष छ। उनीसँगको अन्तर्वार्ताको सम्पादित अशं यहाँ प्रस्तुत गरिएको छ।

‘राष्ट्रिय एकताका प्रतीकलाई भुल्दा अन्याय हुन्छ’

रामकुमार पाँडे।

नेपाल नदीहरुले घेरिएको टापु हो। पृथ्वीनारायण शाहले बढो मेहनत र विवेकसहित नेपाललाई एक बनाउनु भएको थियो। नेपाल एक हुनुमा उहाँले सफलता देख्नु भयो।

राष्ट्रिय एकताका प्रतीकलाई भुल्दा अन्याय हुन्छ। हालका नेताहरुले गहिरो सोच राखेका छैनन्। सानो देशलाई टुक्राटुक्रा गरेर विभाजित गरिदिए। भ्रष्टाचारलाई प्राथमिकता दिए। र, गरिब जनताको जीवनस्तर उकास्न सहयोग गरेनन्।

‘भ्रष्टाचारको चर्को विरोधी शासक हुनुपर्छ’

पृथ्वीनारायण शाह भ्रष्टाचार विरोधी थिए। यस्तो काममा उनी कहिल्यै लागेनन्। तर अहिले शासक या उच्चस्तरको हैसियत राख्नेहरुले नै घुसलाई बढावा दिएका छन्। पहिलेपहिले घुस भनेको के हो त्यसबारे कसैलाई जानकारी समेत हुँदैन थियो।

तर जनसम्पर्क हुने कार्यालयहरुमा कसले कसरी घुस खाएको छ, त्यो म आफैँ समेत भन्न सक्छु। सबैभन्दा माथिल्लो तहमै ठेकेदार पाल्ने र भ्रष्टाचार गर्ने काम भइरहेको छ। जनगुनासो सुन्ने कसैलाई फुर्सद छैन। भ्रष्टाचारको चर्को विरोधी शासक हुनुपर्छ।

‘आफ्नै उद्योगमा जोड नदिए बेचिन्छ मुलुक’

त्यो बेला पनि मानिसहरु विदेश जान्थे। पृथ्वीनारायण शाहले विदेशमा आर्जन गरेको सिप नेपालमा भित्र्याउन जोड दिनुहुन्थ्यो। यहाँ आफ्नै उद्योग कलकारखाना चल्नु पर्छ भन्ने मान्यता उहाँको थियो। आफ्नै उद्योगमा जोड नदिए बेचिन्छ मुलुक।

अहिले भएका सरकारी उद्योग पनि बन्द गराइएको छ। पृथ्वीनारायण शाहपछिका राजाहरुले खासगरी राजा महेन्द्रकै समयमा पनि नेपालमा सरकारी कर्मचारीलाई नेपालमै बनेका वस्तु प्रयोग गर्न उर्दी नै लगाइएको थियो। त्यो अभ्यास पनि सुरु भएको थियो।

नेपालका उद्योगहरु राम्रोसँग चलिसकेका थिए। हेटौँडा उद्योग, बाँसबारीको छालाजुत्ता कारखाना लगायत त्यसका उदाहरण हुन्। अहिले निजीकरणका नाममा ती सबै मास्ने काम भयो।

‘धर्म परिवर्तन गर्नेलाई कारबाही हुनुपर्छ’

पृथ्वीनारायण शाहले नेपाल हिन्दु धर्मको उद्गम थलोको रुपमा मान्नुहुन्थ्यो। नेपालप्रति गहिरो अध्ययन भएका कारणले उहाँले त्यसो भन्नु भएको थियो।

हिमाली क्षेत्र नेपाल अत्यन्तै पवित्र स्थल हो। त्यो बेला शाहले विदेशीको मिलोमतोमा जबर्जस्ती धर्म परिवर्तन गराउन लागेको थाहा पाएपछि विरोध गर्नु भएको थियो। सनातन धर्म आफैँमा पूर्ण र उदार पनि छ।

यसले जीवनलाई सुखी बनाउन हरेक किसिमको दर्शन दिएको छ। त्यसको अध्ययन अहिलेका नेताहरुले गर्दैन्। अहिले विदेशीले विभिन्न लोभ देखाएर नेपालीको हिन्दु धर्म परिवर्तन गराएका छन्।

पैसामा धर्म लादिएको छ। आफ्नो संस्कार समेत छोड्ने चलन बढेको छ। धर्म परिवर्तन गर्नेलाई कारवाही हुनुपर्छ।

‘सबै नेता बन्ने होडबाजी छोड्नु पर्छ’

नेपालमा आफूलाई ठूला पार्टी भन्नेहरुले नेपालको राष्ट्रियता र यसको पहिचान जोगाउन लागेका छैनन्। उनीहरुका गुरु विदेशका दार्शनिक भए। नेपालको आफ्नो सोचाइ छैन। शाहलाई नचिन्ने पार्टी पनि छन्। त्यसका कारण पृथ्वीनारायण शाहको सालिक भत्किँदैन थियो त्यसरी।

अहिलेका राजनीतिक दलले नेपालका संस्कृति ध्वस्त बनाउने काम मात्रै गरेका छन्। इतिहास मेटेपछि शक्तिशाली हुन्छौँ भन्ने सोच छ। सिद्धान्त मिल्नेहरु एकै ठाउँमा हुनुपर्ने हो।

विडम्बना सबैलाई नेता मात्रै हुनुपरेको छ। १०/२० जना जम्मा गरेर नेता बन्ने प्रवृतिले नेपाल एकताको सिद्धान्त ओझेलमा परेको छ। राष्ट्रिय उद्देश्य एउटै हो भने राष्ट्रलाई शीरमा राख्नु पर्छ। एउटा परिषद् बनाएर राष्ट्रिय उद्देश्य पूरा गर्नतर्फ लाग्नु पर्‍यो। व्यक्तिभन्दा ठूलो राष्ट्रिय सोच हो।

‘दिव्य उपदेश पाठ्यक्रममा अनिवार्य राख्नुपर्छ’

पृथ्वीनारायण शाहको दिव्य उपदेश संरक्षण गर्दै यसलाई व्यवहारमा उतार्ने हो भने यसबारे विद्यालयमा पढाइनु पर्छ। नेपालीलाई नेपाली नै बनाउने हो भने यस्तो पाठ्यक्रम जरुरी छ।

विदेशी बनाउने हो भने कुनै अर्थ छैन। हरेक कार्यालयमा दिव्य उपदेशसहित शाहको तस्बिर राख्नुपर्छ। राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय दिवसको नाम दिनु पर्छ।

अरु राजनीतिक परिवर्तनका दिवसका कुनै अर्थ छैन। राष्ट्रिय दिवस तोकेर तीन दिन सम्म सरकारले विदा दिनु पर्छ। त्यो अवधिमा राष्ट्रियताबारे बहस र भावनाको विकास गर्नु पर्छ।

राष्ट्रियता जोगाउने दिनका रुपमा यो दिवस मनाउनुपर्छ। दिएको विदा पनि कटौती गर्ने कस्तो कुबुद्धि हो? दिव्य उपदेश पाठ्यक्रममा अनिवार्य राख्नुपर्छ।

‘ज्यान मारेर आएकालाई सलाम गर्नु पर्छ’

अहिलेको परिस्थिति हेर्दा बडो दुःख लाग्छ। मिठो भाषण गर्न अहिलेका नेताहरुलाई आउँछ। तर उनीहरुको पृष्ठभूमि के हो ? न उनीहरु ठूल्ठूला विद्वान हुन्, न उनीहरुले देशका लागि योगदान गरेका हुन्। न राम्रो अवसर पाए प्रधानमन्त्री बनेका हुन्।

ज्यान मारेर आएकालाई सलाम गर्नुपर्ने यो मुलुकमा पृथ्वीपथ ओझेलमा पर्नै नै भयो। मुर्दालाई लगाउनेभन्दा बढी माला अहिलेका नेताले गर्दनमा लगाउँछन्, किन लाज लाग्दैन उनीहरुलाई?

के काम गरेका छन् त्यसरी माला लगाउन? त्यस्ता व्यक्तिलाई हामीले सलाम गर्नुपर्ने भयो । मुटुमाथि ढुंगा राखी हाँस्नु परेको छ।

पूरा अन्तर्वार्ता हेर्नुहोस्:

पुस २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्