अदालतले सजाय सुनाएका व्यक्ति दुईपटक वैदेशिक राेजगारीमा जाँदा पनि प्रहरीले थाहा पाएन

मोरङ– सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका मोरङका एक व्यक्ति १३ वर्षपछि प्रहरी फन्दामा परेका छन्।

मोरङ कानेपोखरी गाँउपालिकाका सवारी चालक ३८ वर्षीय भोलाबहादुर धिमाललाई जिल्ला अदालत चितवनले सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाएकाे थियाे। अदालतले २०६३ कात्तिक २६ गते कैद फैसला गरेको थियो।

इलाका प्रहरी कार्यालय पथरीको टोलीले धिमाललाई १३ वर्षपछि शुक्रबार बिहान कानेपोखरीबाट काठमाडौं जाने क्रममा बा ५ ख ३६२८ नम्बरको माइक्रो चलाइरहेको अवस्थामा पक्राउ गरेको हो।

पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीका अनुसार कैद सजाय फैसला सुनाइएका धिमाललाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार धिमालले चलाएको बा १ ख ८९९४ नम्बर माइक्रो बस अनियन्त्रित हुँदा विपरीत दिशाबाट आएको ट्रकसँग चितवनको भण्डारामा २०६२ साल भदौ २५ गते दुर्घटना भएको थियो।

काठमाडौंदेखि काँकडभिट्टासम्म माइक्रोबस चलाउने क्रममा दुर्घटनामा हुँदा धिमाल गम्भीर घाइते भएका थिए भने माइक्रोबसमा सवार दुई जनाको मृत्यु भएको थियो। दुर्घटनामा खुट्टा भाँचिएसँगै शरीरका अन्यभागमा चोट लागेका धिमालले काठमाडौँमा एकवर्ष नियमित रुपमा उपचार गराएका थिए।

धिमाललाई प्रहरीले सो समयमा पक्रने सक्रियता देखाएन। धिमाल प्रहरी र अध्यागमन विभागको आँखा छल्दै २०६५ सालमा पहिलोपटक कामगर्ने सिलसिलामा साउदी अरब पुग्न सफल भए।

प्रहरीले धिमाललाई फरार प्रतिवादीको सूचीमा राखेर सवारी ज्यान मुद्दा चलाएपनि धिमाल साउदीमा तीनवर्ष बसेर २०६८ सालमा नेपाल फर्किए।

नेपाल फर्किएपछि सुरक्षानिकायबाट तर्किदै धिमालले करिब १ वर्ष बिताए। त्यसपछि धिमाल पुनः दोस्रोपटक वैदेशिक रोजगारीका क्रममा २०६९ सालमा कतार लागे। २०७१ सालमा कतारबाट फर्किएपछि धिमाल पछिल्लोसमय नेपालमा आफ्नै माइक्रोबस चलाउन थालेका थिए।

प्रहरीको फितलो निगरानी र अध्यागमन विभागको कमजोरीको फाईदा उठाउँदै धिमाल दुई पटक गरी पाँच वर्ष विदेशमा थिए।

शुक्रबार बिहान पक्राउ परेका धिमाललाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको थियो। पथरीका प्रहरी नायब उपरीक्षक गिरीले धिमाललाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए।

त्यसैगरि मोरङ अदालतका श्रेष्तेदार ईश्वरमणि ओझाले पक्राउ परेका धिमाल चितवन जिल्ला अदालतबाट दोषी करार भएपनि घर, ठेगाना र पक्राउ परेको जिल्ला एउटै भएका कारण कैद सजाय भुक्तानका लागि मोरङ कारागार पठाइएको बताउँछन्।

तत्कालिन समय नै अदालतले दोषी ठहर गर्दै कैद सजाय तोकेको अवस्थामा धिमाल दुई पटक विदेश पुगेको सन्दर्भ सम्बन्धित निकायको कमजोरी भएको हुनसक्ने ओझाको भनाइ छ।

त्यसैगरि प्रहरीका एक पूर्व एआईजीले विभाग र विमानस्थल प्रहरीको जाँचको क्रममा पासपोर्ट बोक्नेको विवरण अपराधीको रेकर्डसँग मिले नमिलेको सही रुपमा हेर्न नसक्दाको फाइदा उनले उठाएको बताउँछन्।

विमानस्थलमा सबै प्रक्रिया छलेर विदेश पुग्नु प्रहरी र अध्यागमनको कमजोरी भएको बताएका पूर्वएआइजीले भने, ‘प्रहरीले परिपत्र नगरेको र अपराधीको अभिलेख व्यवस्थित नगरेकै कारण दण्ड भुक्तान गर्नुपर्ने दोषीले लामो समय उन्मुक्ती पाएको देखिन्छ।’

पुस २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्