युवालाई समेटेर अघि बढ्छौ-मन्त्री बराल

नेपालगञ्‍ज- ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले हरेक तहको नीति निर्माण र कार्यक्रममा युवालाई समेटेर जानु पर्ने बताएका छन्।

नेपालगञ्जमा शुरु भएको दुई दिने प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मन्त्री बरालले भने, ‘युवा भनेका देशका कर्णधार हुन्। हरेक तहले उनीहरुलाई समेटेर रोजगारमूखी कार्यक्रम ल्याउनु पर्छ।’

मन्त्री बरालले प्रदेश सरकारले युवालाई उद्यमी बनाउने योजना ल्याउने तयारी रहेको जानकारी दिए । उनले मुख्यमन्त्रीसँग युवा भन्ने कार्यक्रम निकट भविष्यमा शुरु गर्ने बताए।

‘युवाको क्षमता विकास गरेर जादैछौं । युवालाई उद्यममा जोड्छौं। तीन वर्षमा १५ हजार युवालाई तालिम र रोजगारी दिने रणनीति बनाएका छौं, मन्त्री बरालले भने, तालिम लिने बित्तिकै रोजगार दिलाउँछौं।’

मन्त्री बरालले युवाले पनि म केही नयाँ गर्छु भन्ने सोच बनाउन जरुरी रहेको बताए। यो प्रदेशको एसइइमा गणित र विज्ञानमा विद्यार्थी कमजोर रहेकाले त्यसको सुधारका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए। उनले प्रदेश सरकारले टेक्निकल शिक्षामा जोड गरिरहेको बताए।

नेपालका स्कूलहरु सिकाई केन्द्र भन्दा पनि तालिम केन्द्रको रुपमा विकास हुँदै गएकोमा मन्त्री बरालले चिन्ता गरे।

प्रदेश सांसद कृष्णा केसी, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर वली, गैसस, बाँकेका अध्यक्ष नमस्कार शाहलगायतले विकासको आधार युवा भएकाले उनीहरुलाई साथमा लिएर हिड्न जरुरी रहेको बताए।दुई दिने सम्मेलनमा विभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्दैछन्।

पुस २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्