दिलीपले ज्यान मार्ने धम्की वेवास्ता गर्दै आएका थिए

जनकपुरधाम– शुक्रबार बिहान धनुषामा टिपरले किचेर हत्या गरिएका दिलिप कुमार महतोका आफन्तले क्रसर उद्योगीको मिलेमतोमा दिलिपकाे हत्या भएको आरोप लगाएका छन्।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर घर भएका २४ वर्षिय दिलिपले गाउँ नजिकै रहेको खोलामा भइरहेको अवैध उत्खनन् विरुद्ध आवाज उठाउँदै आएका थिए।

सोहीक्रममा उनको क्रसर उद्योग सञ्चालकसँग विवाद हुने गरेको बताइएको छ।

दिलिपका भाई रजनिश कुमार महतो (सानी आमाको छोरा) का अनुसार दिलिपले केही वर्षअघिदेखि नै आफ्नो गाउँको नजिकै रहेको औरही खोलामा भइरहेको उत्खननको विरोध गर्दै आएका थिए।

नदीको छेउमै आफ्नो गाउँ रहेकोले नदीको उत्खननबाट आफ्नो गाउँमा रहेको उब्जाउ भूमिलाई खोलाको बाढीले कटान गर्ने र गाउँमा पानी छिर्ने भन्दै दिलिप निरन्तर यसको विरोधमा रहेको रजनिशले बताए।

दिलिपले निरन्तर उत्खननको विरोध गर्न थालेपछि पटक–पटक ठेकेदारहरुसँग विवाद भएको रजनिशले बताए। केही महिना पहिला पनि क्रसर सञ्चालक विपिन महतोसँग उनको विवाद भएको थियो।

उनलाई विभिन्न प्रलोभन तथा धम्कीहरु पनि आउने गरेको तर दिलिपले भने त्यस्ता प्रलोभन र धम्कीलाई वेवास्ता गर्दै आएको परिवारका सदस्यहरुको भनाई छ।

यहीक्रममा शुक्रबार पनि अवैध रुपमा भइरहेको उत्खनन् रोक्न दिलिप बिहान करिब ४ बजेको साथी रोशन यादवसँग घरमा कुनै जानकारी नदिइ नदीमा पुगेका थिए।

नदीसम्म पुगेका उनको शुक्रबार बिहान टिपरले किचेर हत्या गरेको थियो। हत्यापछि स्थानियले प्रशासन र स्थानीय सरकारविरुद्ध आक्रोश पोखेका छन्। स्थानीयहरुले पूर्व–पश्चिम राज्यमार्गमा टायर जलाएर केहीबेर वरुद्ध गरेका थिए। प्रहरीले विरोधमा उत्रिएका स्थानीयमाथि अश्रु ग्याँस प्रयाेग गरेर सडक खुलाएको थियो।

दिलिपकी बहिनी लक्ष्मी कुमारी महतोले दाइले समाजमा रहेका वेथितिविरुद्ध आवाज उठाउँदै आएकाले क्रसर उद्योगीहरुले हत्या गरेको आराेप लगाइन्।

लक्ष्मीका अनुसार दिलिपका साथी रोशन यादवको फोन आयो। लगत्तै बिहान करिब ४ बजे दिलीप घरमा कसैलाई नभनी निस्किएका थिए। घरबाट निस्केको करिब १५ मिनेट नबित्दै उनको हत्या भएको खबर प्राप्त भएको उनले बताइन्।

दाईको हत्या भएको खबर सुन्ने बित्तिकै आफू खोलातर्फ गएको लक्ष्मीले बताइन्। उनले भनिन्, ‘दाईलाई पहिला हत्या गरेर मात्र टिपरले किचिएको छ।’

लक्ष्मीका अनुसार क्रसर उद्योगी विपिन महतो, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलेमतोमा हत्या गरिएकाे हाे।

‘विपिनले पहिला पनि बुवालाई भनेका थिए छोरालाई सम्हाल नत्र उसलाई मारिदिन्छु’, लक्ष्मीले भनिन्, ‘विपिन अहिले भागेको छ। क्रसरमा जाँदा त्यहाँ छैन। आफ्नो घरमा पनि छैन।’

दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खनन् विरुद्ध आवाज उठाउँदै आएका कान्छी आमा (मौसी)का छोरा रजनीश कुमार महतोले भने, ‘दाईसँगै गएका रोशन नभागेको भए उनको पनि हत्या भइसकको हुन्थ्यो।’

रजनीशले भने, ‘दाइलाई पहिलेदेखि नै धम्की आइरहेको थियाे– कि आफ्नो काम बन्द गर नत्र ढालिदिन्छु।’

दिलीपका साथी रोशनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ भने टिपर चालक पनि प्रहरीको नियन्त्रणमा छन्।

पुस २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्