हाइकु

पृथ्वीबाटओझेल एउटा पुस्ता !

हाइकु

पृथ्वी नचिन्दै
पृथ्वीबाट ओझेल
एउटा पुस्ता !

घुस लिनेले
चिन्नु परेन पृथ्वी
घुस दिनेले ।

सम्झिरहेछु
बिस वर्षे त्यो राजा!
गर्विलो आँट !

कालु पाँडे कि ?
बिराज बखेती हँ !
जन्ताकै मर्जी ।

युद्ध जितेर
कुमारी ढोग्ने पृथ्वी
सिक्नै जानेनौँ !

टुक्राटुक्रामा
टुक्र्याउदै जाँदा त
टुक्रो भएँ म !

खल्ती खोलेर
खल्तीमात्र भरियो
शकुनी–छाँट

शालीक तोड्दै
मालिक रिझाउने
शासकहरू !

देख्ने र भोग्ने
बरू दुष्ट नै ढोग्ने
शासितहरू !

दलालहरू
दल दलमा घुस्दै
देश पो डुब्दै !

जोड्ने खोज्दैछु
मन, माटो, मानिस
पृथ्वी–पथमा !

(पौडेलले यी हाइकुहरु २९८ औँ पृथ्वी जयन्तीको सन्दर्भ पारेर लेखेका हुन् ।)

पुस २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्