युक्रेनी विमान आफूले खसालेको इरानले स्वीकार गर्‍यो

युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले बताएको छ । इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

तर सो आक्रमण नियतबस नरहेको इरानी सेनाको भनाई छ । शनिबार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी विमान दुर्घटनामा परेको उल्लेख गरिएको छ ।

इरानी राष्ट्रपति हसन रुहानीले ट्वीट गरेर घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन्।

यसअघि इरानले आफ्ना कारण विमान नखसेको दाबी गर्दै आएको थियो । यस्तै इरानमा १७६ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको कारणबारे अहिले नै निष्कर्षमा पुग्न सक्ने अवस्था नरहेको युक्रेनले पनि बताएको थियो ।

युक्रेनको विमान गएको बुधबार इरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै १७६ जनाको मृत्यु भएको थियो ।

सोही बिहान इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको थियो । पश्चिमा राष्ट्रले इरानले प्रहार गरेको रकेटकै कारण विमान दुर्घटनामा परेको बलियो प्रमाण रहेको बताएका थिए ।

लडाकु विमान ठानेर इरानले युक्रेनी विमानमाथि आक्रमण गरेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले बताएका थिए । यस्तै विमानमा प्रोजेक्टाइल ठोक्किएको देखिएको दाबीसहित भिडियो फुटेज पनि सार्वजनिक भएको छ ।

पुस २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्